‘जनक शिक्षाले यसरी छाप्न सक्छ राहदानी र बैंक नोट’

१३ फाल्गुण २०८०

cover image

राजा महेन्द्र शाहले वि.सं. २०२८ सालमा ‘नयाँ शिक्षा’ लागु गरेपछि देशमा थप विद्यालयहरू खोल्ने काम तीव्र पारियो । विद्यालय त खोलियो, तर विद्यार्थीलाई पढाउने पाठ्यपुस्तक व्यवस्थापन गर्न नसके पञ्चायती राजाले लागू गरेको ‘नयाँ शिक्षा’ असफल हुन सक्थ्यो । त्यसैको निरन्तरतामा महेन्द्रका उत्तराधिकारी राजा वीरेन्द्र शाहले २०३५ असोज ८ गते जनक शिक्षा सामग्री केन्द्र स्थापना गराए ।

त्यसो त वि.सं. २०२८ मा राजा महेन्द्रकै पालामा ल्याइएको शिक्षा ऐन नै हालसम्म कार्यान्वयनमै छ । राजनीतिकमात्र होइन, शैक्षिक र आर्थिक कोणले पनि जनक शिक्षाको स्थापना नेपालको छापाखाना इतिहासमा महत्वपूर्ण कोशेढुंगा थियो । तर, बहुदल स्थापना भएपछि चरम राजनीतिकरण र अनियमितताले जनक शिक्षा सामग्री केन्द्र धराशायी बन्दै गयो । पछिल्लो केही वर्षदेखि भने जनक शिक्षा केही बौरिएको छ । आन्तरिक व्यवस्थापनमा गरिएको सुधारले समग्र संस्थानकै गति बढाइदिएको छ । यसको नेतृत्व प्रबन्ध सञ्चालक अनिलकुमार झाले गरिरहेका छन् । थप केही आकारको व्यवसाय पाए र सरकारले पहलकदमी लिएर राहदानी र पासपोर्टजस्ता सुरक्षण मुद्रणसमेत गर्न जनक शिक्षा तयार रहेको उनी बताउँछन् ।

सरकारी स्वामित्वको छापाखाना जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सञ्चालन अवस्था, आर्थिक पाटो र भावी योजनाबारे प्रबन्ध सञ्चालक झासँग गरिएको कुराकानीको सम्पादित अंशः

जनक शिक्षा सामग्री केन्द्रले पछिल्लो समय के कस्तो काम गरिरहेको छ ? संस्थान कुन अवस्थामा छ ?

प्रबन्धपत्र नियमावलीअनुसार हामीले कक्षा १ देखि १२ सम्मका पाठ्यपुस्तक उत्पादन र बिक्रीवितरण गर्छाैं । सामुदायिक विद्यालयका विद्यार्थीहरूको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने जिम्मेवारीमा हामी छौं ।  निजी विद्यालयका विद्यार्थीहरूका लागि पनि अंग्रेजी, नेपाली र सामाजिक विषयका पाठ्यपुस्तकहरू उपलब्ध गराउँछौं ।

पाठ्यपुस्तकको मूल्य समायोजनका लागि हामीले सम्बन्धित निकायलाई अनुरोध गरिरहेका छौं । तर, पाठ्यपुस्तक छपाइमा घाटा हुँदा पनि तीन वर्षदेखि मुनाफामा छौं । पहिले घाटामा रहेकाले सञ्चित नोक्सानीलाई घटाउने क्रम जारी छ ।

गत वर्ष हामीले पाठ्यपुस्तक उत्पादन बाहेक सेक्युरिटी प्रेसको रूपमा काम गर्ने लक्ष्यसाथ प्रबन्धपत्र संशोधन गरेका छौं । यसका लागि सरकारी प्रकृया पूरा भइसकेको छ । सुरक्षा ऐन आइसकेपनि नियमअनुसार हामीले सेक्युरिटी प्रेसको रूपमा काम गर्न पाऊँ भनी आवेदन दिन्छौं । 

२०६७ सालदेखि जनक शिक्षाले पाठ्यपुस्तक बाहेक कक्षा १०, ११ र १२ का विद्यार्थीहरूका लागि प्रश्नपत्र छपाइ पनि गर्दै आइरहेको छ । सीटीईभीटी र शिक्षक सेवा आयोगका प्रश्नपत्र र उत्तरपुस्तिका छपाईको काम पनि हामीले गर्दै आएका छौं । केही वर्षयता आन्तरिक राजस्व विभागका अन्तःशुल्क स्टीकर पनि छपाई गरिरहेका छौं । यही पुसदेखि हामीले हुलाक सेवा विभागका लागि टिकट छपाईको कार्यादेश पाएका छौं । भर्खरै भूमिसुधार मन्त्रालयसँग लालपूर्जा लगायत कागजात छपाईका लागि पनि सम्झौता गरेका छौं ।

तपाईंले उल्लेख गर्नुभएअनुसार केन्द्रले धेरै काम पाइरहेको देखिन्छ । तर अलिक अघिसम्म जनक शिक्षा घाटामा गयो भन्ने समाचार लेखिरहन्थ्यौं, अहिले आर्थिक अवस्था कस्तो छ ?

समग्रमा विगत तीन वर्षदेखि हामी मुनाफामा छौं । तीन वर्षको मुनाफा जोड्दा झण्डै ५१ करोड रुपैयाँ भएको देखिएको छ । 

पाठ्यपुस्तक छपाइमा हामीले नोक्सानी नै ब्यहोरिरहेका छौं । बाहिरी अन्य छपाइ गर्दा केही नाफा हुन्छ । गत दुई वर्षदेखि जसरी महँगी बढ्यो : त्यसले पाठ्यपुस्तकको प्रतिपृष्ठ छपाइमा १० पैसा नोक्सान परिरहेको छ । सालाखाला ३०० पेजको किताब छाप्दा प्रतिकिताब २५ देखि ३० रुपैयाँसम्म नोक्सान छ । 

त्यसैले पाठ्यपुस्तकको मूल्य समायोजनका लागि हामीले सम्बन्धित निकायलाई अनुरोध गरिरहेका छौं । तर, पाठ्यपुस्तक छपाइमा घाटा हुँदा पनि तीन वर्षदेखि मुनाफामा छौं । पहिले घाटामा रहेकाले सञ्चित नोक्सानीलाई घटाउने क्रम जारी छ । 

अहिलेसम्म सञ्चित नोक्सानी कति घट्यो ?

सञ्चित नोक्सानी करिब १ अर्ब ३० करोड रुपैयाँ हाराहारीमा छ । २०५७/५८ देखि २०७२/७३ सम्म झण्डै १४ वर्षजति पाठ्यपुस्तकको मूल्य नै समायोजना नहुँदा यति धेरै सञ्चित नोक्सानी भएको हो ।

१३/१४ वर्षमा महँगी बढ्यो । कर्मचारीको तलबभत्ता र कच्चापदार्थको मूल्य पनि बढ्यो । तर पुस्तकको मूल्य नै नबढ्दा नोक्सानी धेरै हुन गयो । 

पाठ्यपुस्तक तयार गर्दा कुन-कुन पाटोमा खर्च हुन्छ ?

मुख्यतः कागज नै हो । दुई वर्षअघि हामीले ८६ रुपैयाँ प्रतिकेजीका दरले कागज किनेका थियौं । गत वर्ष १७५ रुपैयाँ प्रतिकिलोका दरले खरिद गर्‍यौं । यो वर्ष औषतमा १४२ रुपैयाँ छ ।

कागजको मूल्य दुई अघि भन्दा गत वर्ष र यो वर्ष दोब्बर भएको छ । सबैभन्दा बढी खर्च कागजमै हुन्छ । इन्धनको मूल्यवृद्धिले पनि कागजको भाउ महँगो बनाइरहेका छ ।

जनक शिक्षा स्थापना हुँदाताका, पाठ्यपुस्तकको मूल्य समायोजन नहुँदा र पछिल्लो तीन वर्षदेखि नाफामा गएको अवस्थालाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ ?

२०६० सालभन्दा अघि जनक शिक्षाको अवस्था राम्रो थियो । किनकी त्यतिखेर भृकुटी कागज कारखाना थियो । सरकारकै पेपरमिल हुँदा पाठ्यपुस्तक प्रकाशन गर्न सहज थियो । सस्तो र सुलभ दरमा कच्चापदार्थ यहीँ पाइन्थ्यो । त्यतिखेर पुस्तकको मूल्य पनि ठीकै थियो । त्यतिखेर यो संस्था नाफामै थियो ।

२०६१/६२ पछि भृकुटी कागज कारखाना बन्द हुँदा पाठ्यपुस्तक छपाइकै लागि कागज अभाव भयो । सबै कच्चापदार्थ बाहिरबाट ल्याउनुपर्दा छपाइ महँगो भयो । अहिले पनि हामी यही महँगीसँगै जुधिरहेका छौं । 

गत वर्ष १ करोड ६० लाख थान पुस्तक बिक्री भएको थियो । पाठ्यपुस्तक छपाइ गर्दा हामीलाई वार्षिक १८ देखि २० करोड रुपैयाँसम्म घाटा भइरहेको छ ।

निजी क्षेत्रले प्रकाशन गर्ने पुस्तकहरूको मूल्य जथाभावी राख्ने गरेको पाइन्छ, नियन्त्रण भएको देखिँदैन । जनक शिक्षालाई मात्र बजार अनुकूल नहुनेगरी मूल्य निर्धारण गर्नुको कारण के हुन सक्छ ?

पहिलेका शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, मानवस्रोत विकास केन्द्र लगायतसँग यो मामिला जोडिन्छ । विकास केन्द्रको नेतृत्वमा मूल्य निर्धारण कमिटी छ । त्यो कमिटीमा हामीले मूल्य बढाइदिन भनेका छौं । आउँदो वर्षदेखि मूल्य बढाइदिने आश्वासन पाएका छौं । 

अहिलेकै अवस्थामा प्रतिपृष्ठ १० रुपैयाँ बढाउँदा ब्रेकएभनमा हुन्छौं । हामीले पूरै विश्लेषण गरेर पाठ्यपुस्तक छपाइको लागत विवरण दिएका छौं । हामीले पुस्तकमा तीन किसिमको छपाइ गरिरहेका छौं । त्यो दर पठाएका छौं । पारित गरेपछि पाठ्यपुस्तकको नयाँ मूल्य निर्धारण हुन्छ ।

जनक शिक्षाले काम पाइरहेको देखिन्छ, प्राप्त छपाइका काम गर्ने प्रबन्ध कसरी मिलाइएको छ ?

१३/१४ वर्षदेखि प्रेसको काम गर्दागर्दै हामी अभ्यस्त भइरहेका छौं । प्रिन्टिङ प्रेसबारे जानकार, इन्जिनियरिङ र मेन्टिनेन्सबारे जानकार साथीहरू हुनुहुन्छ । प्राविधिक रूपमा हामी सक्षम छौं । हाम्रा साथीहरूले इमानदारितापूर्वक नै काम गर्नुभएको छ । व्यवसाय बढ्नु र गुणस्तरीय सामान छपाइ गरी बिक्री बढाउन सकिएको छ । 

विदेशबाट विज्ञ बोलाएर हाम्रा कर्मचारी साथीहरूलाई तालिम दिन सकियो भने नेपालमै राहदानी (पासपोर्ट) र बैंक नोट छपाइसम्मका काम जनक शिक्षाबाटै गर्न सकिन्छ । 

हामीले पछिल्लो चार वर्षदेखि आन्तरिक राजस्व कार्यालयको अन्तःशुल्क छपाइको काम गर्‍यौं । थप सुधार गर्दै छपाइलाई निरन्तरता दिएका छौं । नयाँ मेसिनहरू ल्याउन सक्दा अझ गुणस्तरीय छपाइ गर्न सक्छौं । त्यसो गर्दा लागतप्रभावी पनि हुन्छ । हामीले आन्तरिक राजस्व विभागलाई यसतर्फ अनुरोध गरेका छौं । बढी व्यापार पाइने सुनिश्चितता भयो भने हामी अत्याधुनिक मेसिन खरिद गरेर थप गुणस्तरीय अन्तःशुल्क स्टीकर छाप्न सक्छौं । 

विदेशमा छपाइ गर्दा जसरी हाम्रो रकम बाहिरिन्थ्यो, त्यो अहिले रोकिएको छ । पुस्तक बाहेक बाहिरी छपाइका काम गर्न पाउँदा हामी खुशी छौं । साझेदारहरू पनि विश्वस्त हुनुहुन्छ । 

विदेशबाट विज्ञ बोलाएर हाम्रा कर्मचारी साथीहरूलाई तालिम दिन सकियो भने नेपालमै राहदानी (पासपोर्ट) र बैंक नोट छपाइसम्मका काम जनक शिक्षाबाटै गर्न सकिन्छ । 

राहदानी, बैंक नोट, राजस्व स्टीकरको छपाइ उच्च सुरक्षामा गर्नुपर्छ भनिन्छ, त्यो कसरी मिलाइएको छ ?

हामीले चार वर्षदेखि अन्तःशुल्क स्टीकरको छपाइ गरिरहेका छौं । सो छपाइमा नेपाली सेनाका तर्फबाट सुरक्षा दिइएको छ । मेजरको कमाण्डमा २७ जनाको टोली खटिएको छ ।

उहाँहरूको नियमित निगरानी र सुरक्षा घेरामा नै हामीले काम गरिरहेका छौं । प्रवेश गर्दा, खाना/खाजा खान जाँदा/आउँदा र काम सकेर जाने बेलामा नियमित चेकिङ हुन्छ । मोबाइल, कागज, कापी, कलम केही पनि लैजान पाइँदैन, बाहिर नै छाड्नुपर्छ । सीसीटीभी क्यामेराबाट पनि सेनाले निरन्तर निगरानी गर्छ । 

सेक्युरिटी घेराभित्रै छपाइको काम हुने हुनाले हालसम्म त्यस्तो अप्रिय घटना भएको छैन । हाम्रो पर्फमेन्स निकै राम्रो छ । अब हामी सेनाको सुरक्षा घेराभित्रै काम गर्न अभ्यस्त भइसकेका छौं । हामीले सुरक्षित ढंगले गुणस्तरीय छपाइ गरिरहेका छौं ।

आगामी दिनमा पासपोर्ट र बैंक नोटजस्ता सेक्युरिटी प्रेसका काम गर्न सक्छौं । अहिले काम गरिरहनुभएका साथीहरूलाई थप केही तालिम दिनासाथ सरकारले आवश्यक प्रबन्ध मिलाए हामी पासपोर्ट र पैसा छाप्न सक्छौं । तर, त्यस्ता छपाइका लागि अब गुणस्तरीय मेसिन नै ल्याउँदा राम्रो हुन्छ । डिजिटल र मोर्डन टाइपको मेसिन खरिद गरी केही साथीहरूलाई तालिम दिएपछि हामी काम गर्न सक्छौं । 

व्यवस्थित सुरक्षा संयन्त्र भएको देशमा सुरक्षण छपाइका लागि व्यवस्था मिलाउन गाह्रो छैन । सबैभन्दा सेना, शसस्त्र र नेपाल प्रहरीको तीनवटा घेरा बनाएर त्यसभित्र छपाइ गर्न सक्छौं । तीनवटै सुरक्षा निकायको घेराभित्र हाम्रै देशमा हामीले मुद्रा लगायत छपाइ गर्न सक्छौं । त्यसका लागि जनक शिक्षासँग पर्याप्त पूर्वाधार पनि छ । मेसिन/उपकरण खरिद गर्न सक्यौं भने सुरक्षा घेराभित्र सबैखाले छपाइका काम गर्न सकिन्छ ।

त्यस्तो छपाइका लागि मेसिनरी र प्राविधिक पक्ष पनि महत्वपूर्ण हुन्छ । त्यसको प्रबन्ध कसरी मिलाउन सकिन्छ ?

अन्तःशुल्क र हुलाक टिकट छपाइ कार्य हामीले पाठ्यपुस्तक छाप्ने मेसिनबाटै गरिरहेका छौं । क्यूआर कोड र डाइकटिङका लागि मेसिन किनेका छौं । यसका लागि हामीले साढे दुई करोड रुपैयाँ हाराहारी रकम मेसिनका लागि खर्च भएको छ ।

पाठ्यपुस्तक छाप्ने मेसिनबाटै अन्य छपाइ अस्थायी नै हो । अलिक धेरै व्यवसाय पायौं भने हामी नयाँ मेसिन खरिद गर्छाैं । केही वर्षमा ३/४ अर्ब रुपैयाँ बराबरको स्टीकरको काम पायौं भने बैंकबाट ऋण लिएर भए पनि मेसिन/उपकरण खरिद गर्न सक्छौं । मेसिनमा २५ करोड रुपैयाँजति खर्च गर्न पायौं भने बैंक नोट बाहेक धेरै काम गर्न सक्छौं ।

जनक शिक्षाले आफूले छाप्नुपर्ने पुस्तकको जिम्मा बेलाबखत बाहिरका निजी कम्पनीलाई सुम्पने गरेको छ । फेरि पनि त्यस्तो भयो भने त यहाँ पूर्वाधार गरिएको लगानीको औचित्य रहँदैन नि !

जनक शिक्षालाई कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइ गर्न रोकावट छैन । तर, २०६३/६४ पछि निजी क्षेत्र प्रवेश गराइयो । त्यसयता त्यो क्षेत्रले पनि केही पुस्तक छपाइ गरिरहेको छ । यो वर्ष नै १ देखि ४ कक्षासम्मको पुस्तक छपाइमा निजी क्षेत्रलाई पनि समावेश गराइएको छ ।

विगतमा हामीसँग पाठ्यपुस्तक प्रकाशन गर्न मेसिन पर्याप्त थिएन । अहिले त्यो समस्या हटेको छ । चालू पूँजी केही थप भयो भने हामीले कक्षा १ देखि १२ सम्मकै पाठ्यपुस्तक उत्पादन र बिक्रीवितरण गर्नसक्ने क्षमता राख्छौं । त्यो क्षमतामा हामी पुगिसकेका छौं ।

भिडियो :

 

Image

यही वैशाख ७ गते त्तराखण्ड राज्यमा भएको लोकसभा सदस्यको  निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ६ ...

Image

आज पाउण्ड स्टर्लिंग एकको खरिददर १६५ रुपैयाँ ७३ पैसा रहेको छ भने विक्रीदर १६६ रुपैयाँ ४७ पैसा रहेको छ...

Image

विभिन्न समयमा बन्द भएका र रुग्ण उद्योग सञ्चालन कसरी गर्न सकिन्छ भन्नेबारे छलफल गरी नीति ल्याइने उनले...

Image

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३९ हजार ३ सय रुपैयाँ रह...

Image

आज पाउण्ड स्टर्लिंग एकको खरिददर १६६ रुपैयाँ ३५ पैसा रहेको छ भने विक्रीदर १६७ रुपैयाँ १० पैसा रहेको छ...

Image

उनले भने, “बेवारिसे अवस्थामा भेटिएको उक्त सुनमा सिक्री तीन, सुनको बिस्कुट थान ६, त्रिभुज आकारको सुनज...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४