शीर्षकहरू

डाभोस फोरमका अध्यक्षले दिए पदबाट राजीनामा

डाभोस फोरमका अध्यक्षले दिए पदबाट राजीनामा

विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) का संस्थापक तथा कार्यकारी अध्यक्ष क्लाउस श्वाबले अब डाभोस फोरम छोड्ने भएका छन्। यसको प्रमुखका रुपमा ५० वर्ष भन्दा बढी आफ्नो भूमिका निर्वाह गरिसकेका उनले सो जिम्मेवारीबाट हट्ने घोषणा गरेका हुन्।

उनले कर्मचारीलाई पत्र पढाउँदै सन् २०२५ मा स्विट्जरल्याण्डको डाभोस स्थिति अल्पाइन रीसोर्ट सहरमा हुने वार्षिक भेलाको अर्को बैठक अघि कार्यकारी-अध्यक्षको भूमिकाबाट बिदा हुने उल्लेख गरेको समाचारहरूमा उल्लेख छ । उनको यो चाहना स्विस सरकारबाट अनुमोदन हुन भने बाँकी नै छ ।

फोरमका प्रवक्ताको एक कथन उद्धृत गर्दै सेमाफोरले लेखेको छ, " विश्व आर्थिक मञ्च सार्वजनिक-निजी सहयोगको लागि एक आमन्त्रित प्लेटफर्मबाट अग्रणी विश्वव्यापी संस्थामा रूपान्तरण भइरहेको छ।"

८६ वर्षीय श्वाबले आफ्नो उत्तराधिकारीको नाम भने सार्वजनिक गरेका छैनन् । तर गत वर्षदेखि समूहको कार्यकारी बोर्डले बोर्गे ब्रेन्डेको नेतृत्वमा पूर्ण कार्यकारी जिम्मेवारी रहने जनाएको थियो। नर्वेका पूर्व विदेशमन्त्री ५८ वर्षीय ब्रेन्डे २०१७ देखि त्यसको सभापतित्व गरिरहेका छन्।

सन् १९७१ मा श्वाबद्वारा स्थापित, डाभोस फोरम एक गैर-नाफामूलक संस्था हो र यसको वार्षिक भेला विश्वको सबैभन्दा ठूलो वार्षिक व्यापार र अर्थशास्त्र सम्बन्धी कार्यक्रम हो।

यस फोरमले परम्परागत रूपमा दर्जनौँ उच्च-स्तरीय विश्व नेताहरू र सीईओहरूलाई निमन्त्रणा गर्दछ। जसमा सन् २०२४ मा ५० भन्दा बढी राष्ट्र प्रमुखहरू भाग लिएका थिए।