शीर्षकहरू

कोही-कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो : रास्वपा

कोही-कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कान्तिपुर पब्लिकेसन प्रालिका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नु लोकतन्त्रको जित भएको बताएको छ । महामन्त्री मुकुल ढकालले विज्ञप्ति जारी गर्दै 'कानुन भन्दामाथि कोही हुँदैन । जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत हुनु भएको बताए ।

रास्वपा उदीयमान बहुलवादी लोकतान्त्रिक शक्ति भएको बताउँदै विज्ञप्तिमा नेपालको संविधानमा निर्दिष्ट गर स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रति आफूहरु कटिबद्ध भएको बताइएको छ ।

धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे छानबिन गर्न व्यवसायी कैलाश सिरोहिया पक्राउ पर्दा विरोध भएको प्रति पनि रास्वपाले आफ्नो धारणा सार्वजनिक गरेको छ । विज्ञप्तिमा भनिएको छ, 'कोही-कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ ।'

विगतमा लोकतन्त्र स्थापनाका लागि लडेकाहरूप्रति रास्वपाको सम्मान रहेको तर एक समयको योगदानको बहानामा केही व्यक्ति, दल र संस्था भ्रष्टाचार र गैर कानुनी मिलीभगतमा निरन्तर संलग्न भएको पाइएमा पनि कानुनी उन्मुक्ति हुने अनैतिक अपेक्षा अस्वीकार्य भएको रास्वपाले बताएको छ ।

यस्तै नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै नभएको पनि रास्वपाले बताएको छ । विज्ञप्तिमा भनिएको छ, 'अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन । यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ ।'