शीर्षकहरू

यो हो ब्लडप्रेसरका बिरामीले ध्यान दिनुपर्ने कुरा

यो हो ब्लडप्रेसरका बिरामीले ध्यान दिनुपर्ने कुरा

-डा. मिलन प्रकाश श्रेष्ठ  

बढ्दो आधुनिकीकरणसँगै संसारमा नयाँ नयाँ समस्या उत्पत्ति हुँदै गएका छन् । समयको गतिसँगै कुनै बेला आक्कलझुक्कल मात्र देखिने ब्लडप्रेसरको समस्या अहिले प्रशस्तै देखिन थालेका छन् । कतिपय २० देखि ३० वर्षका जवानहरूमा पनि यो समस्याको लागि नियमित औषधि खानुपर्ने अवस्था देखिएको छ ।

ब्लडप्रेसरको कारण मध्ये करिब २ देखि ३ प्रतिशतको मात्रै प्रस्ट थाहा भएको छ । बाँकी ९७ प्रतिशतको कारण पत्ता लागेको छैन । बदलिँदो जीवन शैलीसँगै मानिसहरू विलासी भएको महसुस हुन्छ । मीठो मीठो मात्र खानुपर्ने, मांसाहारी खानामै मात्र जोड दिने, रक्सी, सुर्ती जस्ता नशाको सेवन गर्नुपर्ने, ज्यादातर समय मानसिक तनावमा रहनुपर्ने बाध्यता, शारीरिक व्यायामको कमी आदिले पनि ब्लडप्रेसरको समस्या थपिँदै गएको छ । 

फलस्वरुप हृदय घात, प्यारालाइसिस (मस्तिष्क घात), मिर्गौलामा तथा आँखामा क्षति बढेको पाइन्छ । ब्लडप्रेसर सुन्दा सामान्य लागे पनि यसले गर्ने भयानक असरहरूबारे मानिसहरूमा पर्याप्त जानकारी नभएकोले होला, खासै महत्त्व दिएको पाइँदैन । जसले ब्लडप्रेसरले गर्ने दुर्घटना प्रत्यक्ष देखेका हुन्छन्, भोगेका हुन्छन्, उनीहरूले मात्रै ब्लडप्रेसर यस्तो रहेछ भनेर आत्मसात गरेका हुन्छन् । 

ब्लडप्रेसरको औषधि खायो भने यस्तो हुन्छ रे, जिन्दगीभरि खानुपर्छ रे, साइड इफेक्ट गर्छ रे भन्ने धेरै किसिमका भनाइहरू सुनिन्छन्, तर औषधी नखाई सधैँ हाइ ब्लडप्रेसर लिएर हिँड्दा के–के खतरा हुन्छ भन्ने धेरैले विचार गरेको देखिँदैन । 

ब्लड प्रेसर हाइ भएका बिरामीहरूलाई सबैलाई लक्षणहरू देखिनै पर्छ भन्ने छैन । कसैलाई १५० पुग्नासाथै टाउको दुख्ने, रिँगटा लाग्ने भएर आइपुग्छन् भने कोही कोहीमा माथिको (सिस्टोलिक) प्रेसर २२० पुग्दा पनि कुनै लक्षण नदेखिने हुन सक्छन् । 

बिरामीहरू अन्य कुनै कारणका लागि प्रेसर जाँच गर्दा हाई देखिएपछि डाक्टर कहाँ पुग्छन् । कतिपय अवस्थामा प्रेसर हाइ भएर पनि लक्षण नदेख्नु भनेको लक्षण देखिने प्रेसर भन्दा खतरनाक हुन सक्छन् । यस अर्थमा कि लक्षण नदेखिँदा आफूलाई सबै ठिकै छ, म स्वस्थ छु भन्ने पर्छ र कुनै बेला त्यही रक्तचापले ठूलै समस्या गराउन सक्छ ।

केही लक्षण नदेखिए पनि निरन्तर हाइ प्रेसरले शरीरका अङ्गहरूमा पुर्‍याउने क्षति पुर्याइनै रहेको हुन्छ । विशेषगरी मुटु, मृगौला, आँखा र मस्तिष्कहरूमा । यस्ता प्रेसर हाइ भएर पनि लक्षण नदेखिने बिरामीहरू नै एकै पटक हृदयाघात, मस्तिष्क घात भइसकेको अवस्थामा पनि आउने गरेको भेटिएको छ । त्यसैले आफ्नो ब्लडप्रेसर समय समयमा देखाइरहनु आवश्यक छ । साथै प्रेसर हाइ भएर लक्षण नदेखिए पनि भविष्यमा हुनसक्ने क्षतिबाट बच्न औषधि सेवन आवश्यक छ । 

ब्लडप्रेसर उच्चै रहिरहेमा औषधि शुरु गर्न धेरै ढिला गर्नु हुँदैन । खानामा नुन, चिल्लोको मात्रामा कमी गर्ने, दिनहुँ शारीरिक व्यायाम गर्ने, मानसिक तनावलाई कम गर्ने गर्दा प्रेसर कम हुन सक्छ । 

ब्लडप्रेसरको औषधिको मुख्य काम ब्लडप्रेसरलाई नियन्त्रणभित्र राख्नु हो । ब्लड प्रेसरलाई नियन्त्रणभित्र राखेर शरीरका अन्य अङ्गहरूमा क्षति पुग्नबाट यसले बचाइराखेको हुन्छ । नियमित औषधि सेवन गर्दै जाँदा र चिकित्सकको सल्लाह बमोजिम खानामा परहेज, नियमित व्यायाम आदि गर्दैगएमा कुनै समय ब्लडप्रेसर घट्दै पनि जान सक्छ । बारम्बार नाप्दा पनि आवश्यक भन्दा घट्दै गएको पाइएमा चिकित्सकको सल्लाह लिएर खाने औषधिको मात्रा कम वा औषधि नै बन्द पनि गर्न सकिन्छ । ब्लडप्रेसरको औषधि पनि स्वस्थ रहनै खाने हो ।

ब्लडप्रेसरका औषधिहरूको पनि आफ्नै किसिमका साइड इफेक्टहरु छन् । डाक्टरको सम्पर्कमा बसेर डाक्टरको सल्लाह अनुसार नियमित चेक जाँच गरिरहेमा साइड इफेक्टहरु हुन थालेमा तुरुन्तै पत्ता लाग्छ । औषधी शुरु गरेपछि कम्तीमा १५ दिनमा एकचोटि ब्लडप्रेसर नाप्ने बानी बसाल्नुपर्छ र डाक्टरसँग कम्तीमा ३ महिना र बढीमा ६ महिनामा एकचोटि भेट्ने गर्नै पर्छ ।

धूम्रपान गर्ने मानिसलाई हाइ ब्लडप्रेसर, आन्द्रा प्वाल पर्ने, फोक्सोको दम, फोक्सोको क्यान्सर, मुखको क्यान्सर हुने लगायत हृदयाघात हुने सम्भावना रहिरहन्छ । जाँड, रक्सी पिउँदा हामी मध्ये कति जनालाई एउटा सीमामा रहेर पिउने आदत हुन्छ ? रक्सी पिएपछि बेहोसै हुनेगरि पिउनुपर्ने, रक्सीसँग भुटेको तारेको, पिरो, नुनिलो स्न्याक्स नै चाहिने तथा ड्रिङ्स गर्दा चुरोट पिउनुको छुट्टै मजा हुने गरेको बिरामीहरू बताउँछन् । 

ब्लडप्रेसर नियन्त्रणको लागि चलाइने औषधि मानिसको शारीरिक बनावट, वजन, साथमा रहेको अरू समस्याहरू, खानपान, उसले गर्ने शारीरिक व्यायाम आदिमा भर पर्छ । त्यसैले कसैलाई एउटा औषधिको सानो डोजमात्र खाए पुग्छ भने कसैलाई दुई, तीन वटा त्यो पनि दिनको दुई पटक वा बढी पनि खानुपर्ने पनि हुनसक्छ । 

विशेषगरी घरमा एक्लै बस्ने, कम पढेलेखेका, नपढेका बिरामीहरूमा तथा ब्लडप्रेसरका साथै अन्य समस्याको पनि औषधि खाने बिरामीहरूमा यो समस्या देखिन्छ । मानिसको ब्लडप्रेसर मानिसले गर्ने शारीरिक व्यायाम, खाने खानेकुराहरू, निद्रा, तनाव आदि विभिन्न कुराहरूमा भर  पर्छ । तनावको बेला, निद्रा नपरेको बेला, भर्खरै शारीरिक व्यायाम गरेको बेला, परिश्रमको काम गरेको बेला केही क्षणको लागि ब्लडप्रेसर हाइ देखिन सक्छ ।

ब्लडप्रेसरको समस्या भएको बिरामीलाई डाक्टरले दैनिक खाने नुनको मात्रा कम गर्नु भनेका हुन्छन्, बन्द गर्नु होइन । नुन कम गर्ने भनेको नुन भएको धेरै किसिमको परिकारहरू नखाने भनेको हो । शरिरलाई चाहिने भनेको दैनिक ५ देखि ७ ग्राम अर्थात् दिनको एक चम्चा नुन हो । यो भन्दा बढी ब्लडप्रेसरको लागि ठिक होइन । केही मात्रामा नुन शारीरिक स्वस्थताको लागि पनि चाहिन्छ । त्यसैले नुन चटक्कै बन्द गर्नाले शरीरमा अन्य समस्या गराउन सक्छ, त्यसैले नुन चटक्कै बन्द गर्न कदापि हुँदैन ।

प्रेसरका बिरामी तथा प्रेसरको औषधि खाने बिरामीहरूले रगतमा सुगरको मात्रा, हेमोग्लोविनको मात्रा, मृर्गौला तथा पिसाबको जाँच तथा कोलेष्ट्रोलको जाँच कम्तीमा ३ बढीमा ६ महिनामा नियमित गरिरहनुपर्दछ । साथै इसीजी, इको जाँचहरू मुटुरोग विशेषज्ञको सल्लाहनुसार दोहोर्‍याउनुपर्छ । यसले प्रेसर नियन्त्रणभित्र रहे–नरहेको पत्ता लाग्छ । साथै कुनै साइड इफेक्ट भो कि पत्ता पनि लाग्छ ।

अन्त्यमा, ब्लडप्रेसरको नकारात्मक असरहरुबाट बच्न मानिस आफ्नो स्वास्थ्यको कुरामा अझ बढी सचेत हुनु जरुरी छ । साधरणतया उमेर ४० को  वरिपरि पुगेपछि यदि भविष्यमा स्वस्थ भएर बाँच्ने, लामो समय बाँच्ने हो भने विशेषगरी केही कुराहरू, दैनिक स्वस्थ खाना खाने, रक्सी चुरोट, सुर्ती तथा कुनै नशा सेवन नगर्ने, नियमित शारीरिक व्यायाम गर्ने तथा मानसिक तनावबाट टाढा रहने आदि कुराहरू पालना गर्नै पर्ने देखिन्छ । किनकि उमेरले ४० छोएपछि मानिसलाई धेरै रोगहरूले छुन थाल्छ ।

(श्रेष्ठ वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् । उनी हाल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन् ।)