शीर्षकहरू

बैंकिङ प्रणालीबाट फेरि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट फेरि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि  निक्षेप संकलन उपकरण बोलकबोलमार्फत् आज उक्त रकम बराबरको तरलता खिच्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंकहरुमा निक्षेप बढ्दै गए पनि कर्जा लगानी हुन सकेको छैन । कर्जा लगानी नहुँदा निक्षेप थुप्रिँदै गई अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन गर्न लागेको हो ।

१४ दिनका लागि बैंकिङ प्रणालीबाट उक्त तरलचा खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको जेठ २५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको आज मध्याह्न १२ बजे बोलकबोल हुने छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढी ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी रकम आह्वान गर्न सक्नेछन् ।

राष्ट्र बैंकले यसअघि जेठमा मात्रै १ खर्ब ५ अर्ब निक्षेप खिचिसकेको छ । राष्ट्र बैंकले  जेठ १ गते १० अर्ब, जेठ ३ गते ५० अर्ब, जेठ ४ गते ३५ अर्ब र जेठ ७ गते १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो ।