शीर्षकहरू

नेपाल सोलार फार्मको १२ करोडको आइपीओ आउँदै

नेपाल सोलार फार्मको १२ करोडको आइपीओ आउँदै

काठमाडौं । नेपाल सोलार फार्म लिमिटेडले रु. १२ करोड बराबरको प्रति शेयर अंकित मूल्य रु. १००।– दरको १२ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्नको निमित्त ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । मिति २०८१ जेष्ठ ७ गते सोमबारका दिन ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्टर्ड    (केन्द्रीय) कार्यालय नक्साल, काठमाण्डौंमा आयोजित एक विशेष कार्यक्रममा नेपाल सोलार फार्म लिमिटेडको तर्फबाट सञ्चालक जितेन्द्र भट्टराई र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । 

वि.सं. २०७४ सालमा प्रालिको रुपमा दर्ता भई वि.संं.२०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको नेपाल सोलार फार्म लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बाफल, काठमाण्डौंमा रहेको छ । 

अधिकृत पूँजी ३० करोड रुपैयाँ र जारी पूँजी २५ करोड रुपैयाँ रहेको यस कम्पनीको सोलार फार्मको आयोजना कास्की जिल्ला, रुपाकोट गाउँपालिकाको वडा नं.६, सिम्लेमा रहेको छ । 

कम्पनी अन्तर्गत निर्माण सम्पन्न भएको आयोजना सोम राधाकृष्ण सोलर फार्मबाट २०७९ कात्तिक १४ देखि ४ मेगावाट क्षमताको विद्युत शक्तिको व्यापारिक उत्पादन शुरु भई राष्ट्रिय प्रसारण लाइनमा जोडिईसकेको कम्पनीले जनाएको छ । भविष्यमा थप सौर्य उर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्य रहेको यस कम्पनीमा सोलार लगायत अन्य विभिन्न उर्जा तथा विकास निर्माण क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरुको लगानी रहेको छ ।