शीर्षकहरू

मोटर बीमाबाट ९ अर्ब २८ करोड शुल्क संकलन

मोटर बीमाबाट ९ अर्ब २८ करोड शुल्क संकलन

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमाबाट ९ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक हेर्दा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बीमा कम्पनीहरुले मोटर बीमाबापत ९ अर्ब २८ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । जसका लागि कम्पनीहरुले १३ लाख ८ हजार ७५१ वटा बीमालेख बिक्री गरेका थिए । 

नेपाल बीमा प्राधिकरणका अनुसार तेस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरुले सात वटै प्रदेशबाट ३० अर्ब १५ करोड ३० ला रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जसका लागि कम्पनीहरुले २२ लाख ६२ हजार ३२६ वटा बीमालेख बिक्री गरो थिए ।  

यस अवधिमा कम्पनीहरुले ३ लाख ७९ हजार ७८६ वटा सम्पत्ति बीमालेख बिक्री गरेका छन् । जसबाट ७ अर्ब ४२ करोड ७१ लाख शुल्क संकलन गरेका छन् । यस्तै, २ लाख ३१ हजार ५१२ वटा सामुन्द्रिक बीमा लेख बिक्री गरेर एक अर्ब ४७ करोड ४१ लाख शुल्क संकलन गरेका छन् । 

हवाई बीमा तर्फ भने एक सय वटा मात्रै बीमालेख बिक्री भएका छन् । जसबाट १ अर्ब ९७ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । यसका साथै इन्जि. तथा ठे .जो तर्फ २० हजार ८४४ वटा बीमालेख बिक्री गरेर ४ अर्ब ७५ करोड ११ लाख शुल्क संकलन भएको छ । 

प्राधिकरणका अनुसार १ लाख २१ हजार ८७८ वटा विविध बीमालेख बिक्री गरेर ३ अर्ब ३८ करोड ६५ लाख बीमाशुल्क संकलन भएको छ । कृषि तथा बाली बीमातर्फ १ लाख १३ हजार ६४५ वटा बीमालेख बिक्री गरेर १ अर्ब ६७ करोड ६२ लाख शुल्क संकलन भएको छ ।

तेस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरुले लघु बीमा तर्फ ८५ हजार ८१० वटा बीमालेखि बिक्री गरेका छन् । उक्त बीमालेख बिक्री गरेर बीमा कम्पनीहरुले १७ करोड २ लाख बीमाशुल्क संकलन गरेको प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।