शीर्षकहरू

जगदुल्लाको ऋण सम्झौता भयो, बनेन पुल

जगदुल्लाको ऋण सम्झौता भयो, बनेन पुल

काँक्रेविहार । जगदुल्ला जलविद्युत् आयोजनाले यही जेठ २ गते ऋण सम्झौता गरेको छ । आयोजनास्थल जानका लागि निर्माण हुनुपर्ने त्रिवेणीस्थित पुलको गति भने अझैँ बढ्न सकेको छैन । क्याराभान निर्माण सेवाले १५ करोड रुपैयाँमा पुलको ठेक्का लिएर आयोजनासँग स्म्झौता गरेको थियो ।

जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले जाजरकोट, डोल्पा र रुकुमको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा निर्माण गर्न लागेको पुल दुई वर्षदेखि अलपत्र पारेर ठेक्का बिक्री गरेको थियो ।

क्याराभान कन्ट्रक्सनले काम नै सुरु नगरी अर्को स्थानीय रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई ठेक्का बेचेपछि पुल निर्माण अन्योल बनेको हो । भेरी करिडोरको बीचमा रहेको उक्त पुल समयमा निर्माण नहुँदा तल्लो डोल्पाका साथै जुम्ला जोड्ने सडक निर्माणमा समेत समस्या भइरहेको छ ।

भेरी नदीमा एक सय मिटर लामो पक्की पुल तीन वर्षदेखि निर्माण नहुँदा स्थानीयका साथै उक्त सडक भएर यात्रा गर्नेलाई सास्ती हुँदै आएको छ । तीन जिल्लाको सङ्गमस्थल रहेको त्रिवेणीमा अहिले ठेक्का खरिद गरेको रेट्रो ट्रेक कन्ट्रक्सनलेसमेत काममा गति नदिएको स्थानीयवासीको आरोप छ ।

१५ करोड रुपैयाँमा उक्त पुल निर्माण गर्ने भन्दै कम्पनीले तीन वर्षअघि ठेक्का खोलेको थियो । क्याराभान कन्ट्रक्सनबाट १४ करोड १७ लाख रुपैयाँमा कामको जिम्मा लिएको रेट्रो ट्रेकले कहिले वर्खा र कहिले जग्गा विवादको कारण देखाउँदै काम ढिला गर्दा तोकिएको समयमा सम्पन्न हुन नसकेको स्थानीय पूर्ण बुढाले बताए ।

निर्माणको जिम्मा पाएका कन्ट्रक्सनले विभिन्न बहानामा पुल निर्माणमा ढिलासुस्ती गरेपछि १०६ मेघावाटको जगदुल्ला हाइड्रोपावर निर्माणमा बाधा पुग्ने देखिएको छ । हाइड्रोपावर कम्पनीले हजारौँ टन तौल भएका निर्माण सामग्री आयोजनास्थलसम्म लैजान भन्दै २०७७ साउनमा बोलपत्र आह्वान गरेको थियो ।

रेट्रो ट्रेकका प्रमुख बादल बुढाले पुलमा दुई वटा पिल्लर उठाउने काम भएको बताए । क्याराभानले बोलपत्र पाएको केही समयमै प्रमुख चन्द्र थकालीले तत्काल काम सुरु गर्ने भन्दै आयोजनाबाट पेस्की लिएको आयोजना कार्यालयले जनाएको छ । पुल समयमै नबन्दा आयोजनाको निर्माण प्रभावित भएको भन्दै डोल्पाका सरोकार भएका निकायले चिन्ता व्यक्त गरेका छन् । थकालीले आफूले जिम्मा लिएको काम सम्पन्न नगरी अरुलाई ठेक्का बिक्री गर्दा समस्या थप बढेको स्थानीय बताउँछन् ।

आयोजनाको ऋण सम्झौता भइसकेकाले काम गर्न पुनःबोलपत्र आह्वान गर्ने अवस्था आएको आयोजना कार्यालयले जनाएको पुगेको छ । आयोजनास्थल जानका लागि निर्माण हुन लागेको पुल ठेकेदारले पूरा नगर्दा आयोजना निर्माणमा समस्या उत्पन्न हुने सम्भावना बढेको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले बताए । आइतबार स्थलगत अनुगमन गरेका शाहीले कामको गति राम्रो नभएको बताए ।

तल्लुस्थित भेरी नदीमा बेलिब्रिज पुल निर्माण भए पनि सोही ठाउँमा पक्की पुल निर्माण भइसक्नुपर्नेमा अझैँ काम नभएको मन्त्री शाहीले बताए ।

त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर बेलिब्रिज पुल सञ्चालनमा आएको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको अनाहबीचको भेरी नदीमा बनेको उक्त पुल आइतबारदेखि सञ्चालनमा आएको हो ।

भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरकोअन्तर्गतको तल्नु बगर बेलिब्रिजको निर्माण सम्पन्न भएसँगै पुल सञ्चालनमा आएपछि सामाजिक विकासमन्त्री शाहीले बेलिब्रिज पुलमा यात्रासमते गरे ।

तीन वर्षअघि निर्माण सुरु भएकामा विविध कारणले ढिला हुँदै आएको थियो । सरोकार भएका पक्षको दबाबपछि पुल सम्पन्न भएको हो ।

पुल सञ्चालनमा आएसँगै डोल्पासम्म सिधा सडक सञ्जाल जोडिएको छ । मालबाहक गाडीहरू दुनैसम्म पुग्न थालिसकेका छन् । बर्खामा यातायात सञ्चालनमा ल्याउन भेरी करिडोर बीचमा पर्ने केही खोलाहरूमा ह्युम पाइप राख्न निर्देशन दिइएको सामाजिक विकासमन्त्री शाहीले जानकारी दिए । करिडोरले भारतको रुपैहिडिया–नेपालगञ्ज हुँदै डोल्पा चीनको सीमा क्षेत्र मोरिम्ला नाका जोड्ने भएकाले यस सडक राष्ट्रिय महत्वको सडक रहेको उनको भनाइ छ ।

उक्त पुल सञ्चालनमा आउनु सबैका लागि सुखद विषय भएको मन्त्री शाहीले बताए । तीन वर्षअघि सडक डिभिजन कार्यालय चौहरजहारीले उक्त बेलिब्रिज पुल निर्माणका लागि ठेक्का खुलाएको थियो ।

विसं २०७८ पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले तीन करोड ८१ लाख रुपैयाँमा पुल निर्माणको जिम्मा पाएको एक वर्षपछि मात्र काम सुरु गरेको थियो । विभिन्न कारणले पुल निर्माणमा ढिलासुस्ती भए पनि अहिले सञ्चालनमा आएको भेरी करिडोर कार्यालयका जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए । बाँकी खोलामा ह्युम पाइप राखेर डोल्पासम्म सिधा यातायात सञ्चालनमा ल्याउने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

भेरी करिडोर कार्यालयका अनुसार एक सय १८ किलोमिटर लम्बाइ रहेको जाजरकोट–डोल्पा सडक खण्डभित्रको ५६ किलोमिटर सडक खण्डमा अहिले काम भइरहेको छ । ६२ किलोमिटरमा कार्यालयले फराकिलो बनाउने काम सुरु गर्न थालेको जनाएको छ । जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने करोपगार्ड, खदाङ, त्रिपुराकोटको बेलिब्रिज पुल यसअघि नै निर्माण भइसकेको छ, भने रुपगार्ड खोलाको बेलिब्रिजको काम सुरु भइसकेको छ ।

रुपगार्डको बेलिब्रिज पुल निर्माण सम्पन्न भएपछि भेरी करिडोरअन्तर्गतका पाँचवटा मुख्य खोलाका पुल बन्नेछन् भने अझै सानातिना खोलामा गरेर आठवटा खोलामा पुल बन्न बाँकी छ । रासस