शीर्षकहरू

भारतको महाराष्ट्रमा आँधी, विज्ञापन बोर्डमुनि च्यापिएर १४ जनाको मृत्यु

भारतको महाराष्ट्रमा आँधी, विज्ञापन बोर्डमुनि च्यापिएर १४ जनाको मृत्यु

एजेन्सी । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी र वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ । करिब ७५ जना घाइते भएका छन् । 

आँधीबेहरी र वर्षाका कारण ठूलो विज्ञापन बोर्ड खस्दा उक्त घटना घटेको नागरिक एजेन्सीका अधिकारीले फोनमा पुष्टि गरेका छन् । उक्त घटना देशको आर्थिक राजधानी मुम्बईको घाटकोपर क्षेत्रमा भएको हो । सामाजिक सञ्जालमा साभार गरिएका श्रव्यदृश्य सामग्रीहरूमा हावाहुरीबाट बच्न ठूलो विज्ञापन बोेर्डको मुनि धेरै कार तथा अन्य सवारी साधनहरूमा मानिसहरु आश्रय लिएरहेका देखाइएको छ । 

इन्धन स्टेसनको छेउमा जडान गरिएको उक्त विज्ञापन बोर्ड तीव्र गतिको हावाहुरीका कारण क्षतिग्रस्त भइ खसेको थियो । पीडितहरू आँधी र वर्षाको बिचमा इन्धन स्टेसनमा शरण लिइरहेको अवस्थामा उक्त दुर्घटना हुदाँ ठूलो सङ्ख्यामा मानिसहरुको ज्यान गएको स्रोतले जनाएको छ ।  

स्थानीय प्रहरी र अग्नि नियन्त्रक विभागका कर्मचारीहरूले विज्ञापन बोर्डको मुनिबाट मानिसहरूको उद्धार गरी स्थानीय अस्पतालमा लगेका थिए । पछिल्लो रिपोर्टका अनुसार मुम्बई पुलिसले अवैध रूपमा जडान गरिएको विज्ञापन बोर्डको मालिकविरुद्ध आपराधिक मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ ।