प्रचण्ड शाक्य हाल नेपाल हस्तकला महासङ्घको अध्यक्षको रूपमा कार्यरत हुनुहुन्छ। आर्थिक न्युज डट कम सँगको विशेष अन्तर्वार्तामा उहाँले नेपाली हस्तकला उद्योगको विद्यमान चुनौती तथा सम्भाव्यताबारे आफ्नो धारणा राख्नुभएको छ। प्रस्तुत छ यसै अन्तर्वार्ताको संक्षिप्त अंश :
१ . नेपाल हस्तकला महासङ्घ संक्षिप्त रुपमा कहिले स्थापना भयो र यसको प्रमुख उद्देश्यहरू के हुन् ?
उ . २०२९ साल मंसिर २८ गते अहिले नेपाल हस्तकला महासंघ स्थापनाकालको ५२ वर्षमा प्रवेश गरेका छौँ। यसको चार प्रमुख उदेश्य रहेको छ। पहिलो , राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा नेपाली हस्तकला उत्पादनलाई प्रचार र प्रवर्द्धन गर्नु । दोश्रो , नवीन सोच र सीपको प्रयोग गरी हस्तकलाको समग्र गुणस्तरमा सुधार गर्दै स्थानीय र अन्तर्राष्ट्रिय बजारको माग प्रभावकारी धनग परिपूर्ति गर्नु। तेश्रो ,नेपाली युवा पुस्तालाई परम्परागत हस्तकला उद्योगमा आकर्षित गरी देशको कला संस्कृतिलाई जोगाउनु। चौथो , नेपाल सरकारलाई हस्तकला क्षेत्रको चौतर्फी विकास र विस्तारको लागि उपयुक्त नीति र कार्यक्रम तर्जुमा गर्ने दिशामा सक्रिय सहयोग गर्नु। यी लक्ष्य प्राप्ति तर्फ हामी निरन्तर प्रयासरत छौ।
२ . नेपाली हस्तकला उद्ध्योगको वार्षिक कारोबार कति रहको छ ?
यस उद्ध्योगको वार्षिक कारोबार २४ अर्ब रुपैंयाको हाराहारीमा छ। यसमध्ये १२ अर्ब रुपैंया स्रोत वैदेशिक निर्यात हो। अहिले, अमेरिका युरोप र एशियाका विभिन्न देश गरी ८० वटा मुलुकमा ४२ प्रकारका नेपाली हस्तकलाका सामग्रीहरू सामग्री जाने गर्छ । बढी जाने भनेको अमेरिका, बेलायत, जापान, कोरिया, चीन, भारतलगायतका मुलुकहरु हुन्। कुल निर्यात हुने हस्तकलाका वस्तुहरुमा फेल्टका उत्पादनहरुको अंश अन्य भन्दा अधिक पाइन्छ। अन्य नियातजन्य वस्तुहरुमा पश्मीना, धातुका सामान,काठका सामान, पत्थर, छाला, बेतबाँस, थांका आदि रहेका छन्।
यसैगरी , यस्ता वस्तुहरुको आन्तरिक खपत पनि १२ अर्ब रुपैंया मूल्य बराबर छ। सामाजिक संस्कार अनुसार जन्मदेखि मृत्युसम्म हस्तकलाजन्य सामग्रीकै प्रयोग हुने भएकोले स्वदेशमा यसको माग बढेको हो। पछिल्लो समय व्यापार व्यवसायमा पनि नेपाली कला-संस्कृति झल्काउने सजावट गर्ने संस्कृतिको विकासले पनि यस्ता सामग्रीको आन्तरिक बजार फस्टाएको पाइन्छ।
३ . विशेषत : हस्तकलाको समाग्रीको निर्यात प्रवर्धनको लागि केही पहल भएको छ?
हामीले निर्यात प्रवर्धनको लागि हस्तकला ग्राम स्थापना गर्नको लागि पहल र पैरवी गर्दै आईरहेका थियौ। यसै सन्दर्भमा गत आश्विनमा बागमती प्रदेश सभाले हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्यो। विधेयक पारित भएसँगै बागमती प्रदेशका ११९ पालिकामा हस्तकला ग्राम स्थापना गरी सञ्चालन गर्ने बाटो खुलेको छ । कुल निर्यातजन्य हस्तकलाको समाग्रीको उत्पादनमा बागमती प्रदेशको योगदान ८०% रहेको छ। त्यसैले , यँहा हस्तकला ग्राम स्थापना पश्चात नेपालो हस्तकलाको समाग्रीको कुल निर्यात तिन गुणाले बढ्ने हामीले अपेक्षा गरेका छौ। यसो गर्नु मुख्य कारण पारित विधेयकमा यस्ता समाग्रीको गुणस्तर मापदण्ड, प्याकेजिंग, ब्रानडिंग, र बजारीकरण जस्ता महत्त्वपूर्ण पक्ष समेटिनु हो।
बागमतीमा पाइलट परियोजनाको रुपमा हस्तकला ग्राम स्थापना गरेपछि अन्य ६ वटा प्रदेशमा पनि यस्ता ग्राम विस्तार गर्ने हाम्रो योजना छ। यस्तो योजनाले स्वदेशी पुँजी, स्थानीय सीप तथा कला र स्रोतको अधिकतम परिचालन गराइ नेपाली हस्तकलाका वस्तुहरूको पहिचानलाई विश्व बजारमा स्थापित गर्न सक्छ।
४ . निर्यात व्यापारमा के-कस्ता चुनौतीहरु रहेका छन?
नेपाली हस्तकला व्यवसायीहरुलाई युरोपियन मुलुकहरुमा विशेष गरी प्राकृतिक रेशाद्वारा निर्मित उत्पादन निर्यात गर्दा गुणस्तर सम्बन्धि प्रमाणपत्र आवश्यक पर्दछ। तर, नेपाल सरकारसँग यो प्रदान गर्ने कुनै संयन्त्र छैन। यो कारणले व्यवसायीहरुले दश लाख सम्म रुपैंया तिरेर गरी प्रमाणपत्र प्राप्त गर्न भारत गई महिनौ बिताउनुपर्ने वाध्यता छ। यसले उनीहरुको पैसा र समयको अनावश्यक खर्च भइरहेको छ।
५ . यो समस्या निराकरण कसरी हुन्छ ?
यसको समाधानको लागि नेपालमै गुणस्तर परीक्षण गरी प्रमाणपत्र वितरण गरिनुपर्छ। यसको लागि सार्क विकास कोष मार्फत राजधानीको त्रिपुरेश्वरमा हस्तकला विकास केन्द्रको स्थापना गर्ने कार्य भइरहेको छ।
६ . नेपाली हस्तकला समाग्री गुणस्तरबारे के भन्नुहुन्छ ?
बेलायतकी स्वर्गीय महारानी एलिजाबेथले नेपालको पश्मिनाबाट आकर्षित भई यसलाई पहिरन्थिन्। त्यसैगरी, अझ पनि जापानको १० हजारको नोट हाम्रै देशको हाते कागजबाट बनेको हो। यसले नेपाली हस्तकलाका सामानहरू उच्च गुणस्तरयुक्त रहेको तथ्यलाई पुष्टि गर्दछ। यसको पछाडि उच्चकोटिका कच्चा पदार्थ र अतुल्य शिल्पकारिता जस्ता कारणहरू रहेका छन्।
७ .महासंघले हस्तकला प्रवर्धनको लागि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय मेल/ प्रदर्शनी गरिरहेको पाइन्छ। यसबारे प्रकाश पारिदिनहुन्छ ?
हामीले हरेक वर्षको एउटा ठूलो अन्तर्राष्ट्रिय मेला र १०/१२ वटा राष्ट्रिय प्रदर्शनी आयोजना गरिरहेका छौ। चीन, अष्ट्रेलिया र अमेरिका जस्ता मुलुकहरूमा आयोजना हुने अन्तर्राष्ट्रिय स्तरका मेलाहरूमा पनि हामीले सहभागिता जनाइरहेका छौं ।
८ . तपाईको विचारमा नेपाल सरकारले हस्तकला उद्ध्योगको अभिवृद्धिको निमित्त कस्तो कदम चाल्नुपर्छ ?
यसलाई दुर्भाग्य भन्नुपर्छ कि नेपाल सरकार अहिलेसम्म हस्तकला जस्ता प्रचुर सम्भाव्यता बोकेका उद्ध्योगको सामाजिक/आर्थिक सम्भाव्यतालाई पहिल्याउन सकेको छैन। यस्तो प्रतीत हुन्छ हाम्रा नेता तथा मन्त्रीहरू मात्र नेपाली युवालाई विदेशमा बेची देश चलाउन उद्दत छन्। वास्तवमा हस्तकला उद्ध्योगलाई फष्ट्याउन मद्दत मिल्ने खालको प्रभावकारी नीति/नियम /कार्यक्रमको तड्कारो अभाव छ। यसको ज्वलन्त उदाहरण हो साना तथा मझौला उद्योगलाई तोकिएको कर ठूला उद्ध्योगको तुलनामा ३ गुणा बढी हुनु। ( यो तथ्यलाई सम्युक्त राष्ट्र विकास कार्यक्रमको प्रतिवेदनमा पनि उल्लेख गरिएको छ । वास्तवमा हामी जस्ता हस्तकला व्यवसायीहरूले हाल चाहिने संख्या भन्दा बढी ४३ वटा शीर्षकहरूमा कर तिरिरहेका छौं। यस्तो अव्यवहारिक र अदूरदर्शी कर व्यवस्थाले नेपाली हस्तकला समाग्रीको स्वदेशी र विदेशी बजारमा प्रतिस्पर्धात्मक क्षमतामा क्षयीकरण गरिरहेको छ।
जबसम्म साना तथा मझौला उद्योगलाई राज्यले प्रोत्साहनको सट्टा दुरुत्साहन गरिन्छ , तबसम्म राष्ट्रको सही अर्थमा आर्थिक / सामाजिक रूपान्तरण सम्भव छैन। यो तथ्यलाई गम्भीरतापूर्वक चिन्तन मनन गरेर सरकारले तुरुन्त यस्तो उद्योग-मैत्री नीति कार्यक्रमको तर्जुमा गर्नुपर्छ।
९ . हस्तकला उद्ध्योगले कसरी साँच्चै राष्ट्रको सामाजिक/आर्थिक रुपान्तरणमा एक प्रभावकारी उत्प्रेरकको भूमिका खेल्न सक्छ ?
यस उद्योगले अहिले ११ लाख व्यक्तिहरुलाई प्रत्यक्ष/ अप्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ। नेपालको कुल वार्षिक निर्यातमा हस्तकलाको योगदान १० प्रतिशत छ। देशको कुल ग्राहस्थ उत्पादनमा पनि यसको योगदान निरन्तर बढ्दो छ।
मैले अघि उल्लेख गरे झैँ उद्योग-मैत्री नीति/ कार्यक्रम तर्जुमा भएमा हस्तकलालाई राष्ट्रको सामाजिक/आर्थिक रुपान्तरणमा एक प्रभावकारी उत्प्रेरकको स्थापित गर्न सकिन्छ।
१० . हाल महासङ्घ के/कस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ?
हामीले अहिले विभिन्न खालका कार्यक्रम सञ्चालन गरिरहेका छौ । उदाहरणको लागि देशभर छरिएर रहेका साना, मझौला तथा ठूला हस्तकला व्यवसायीरुको सही तथ्यांक तयार पार्न क्राफ्ट म्यापिङ सम्बन्धि कार्य भइरहेको छ।
ललितपुर पहिले नै विश्वको ३५ औ कला नगरी घोषित भइसकेको सन्दर्भमा भविष्यमा देशका अन्य सहरहरू जस्तै जस्तै भक्तपुर र जनकपुरलाई पनि यस्तो अन्तर्राष्ट्रियस्तरको शानदार मान्यता प्रदान गराउन पनि हामी लागिरहेका छौं।
त्यस्तै, संघको प्रतिनिधित्व गर्दै म अहिले हस्तकला सम्बन्धी एकछुट्टै विश्वविद्यालयको निर्माणको लागि पहल गरिरहेको छु। यी सबै कार्यक्रम समग्रमा नेपाली हस्तकला उद्ध्योगको श्रीवृद्धि तर्फ लक्षित छन्।