शीर्षकहरू

१५औँ दक्षिण एसिया आर्थिक सम्मेलन २०२४ सम्पन्न

१५औँ दक्षिण एसिया आर्थिक सम्मेलन २०२४ सम्पन्न

काठमाडौँ । गत बुधबारदेखि काठमाडौँमा सुरु भएको १५औँ दक्षिण एसिया आर्थिक सम्मेलन २०२४ सम्पन्न भएको छ। दक्षिण एसियाली मुलुकहरूका साथै अन्य क्षेत्रका प्रख्यात अर्थशास्त्री, नीतिनिर्माता, र नागरिक समाजका अगुवाहरू सहभागी उक्त सम्मेलनमा ‘दक्षिण एसियामा समतामूलक हरित रूपान्तरणको उजागर’ विषयमा केन्द्रित भएर नीतिगत छलफलहरू भएका छन्।

सम्मेलनको समापन सत्रमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनजन्य जोखिमका कारण दक्षिण एसियामा असमानता र क्षति बढ्दै गएको औँल्याउनुभयो। उहाँले हरित अर्थतन्त्रमार्फत ऊर्जा र स्रोतको कार्यदक्षता सुधार गरी आर्थिक रूपान्तरणलाई गति दिनुपर्नेमा जोड दिनुभयो। गभर्नर अधिकारीले साना तथा मझौला उद्यमहरूको हरित रूपान्तरण र ठूला हरित पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने बताउँदै, नेपालको सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन लक्ष्य प्राप्तिका लागि ठूलो मात्रामा स्रोतसाधन आवश्यक हुने धारणा राख्नुभयो। उहाँले नेपालको जलविद्युत् क्षेत्रमा भएका उपलब्धिहरू र ‘ग्रीन ट्याक्सोनोमी’ लागू गरिसकेको पनि चर्चा गर्नुभयो।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियाको तीव्र आर्थिक विकासलाई क्षेत्रीय सहकार्यद्वारा थप प्रवर्द्धन गरी साझा चुनौतीहरूको समाधान गर्न सकिने बताउनुभयो। पाकिस्तानका सस्टेनेबल डेभलपमेन्ट पोलिसी इन्स्टिच्युटका कार्यकारी निर्देशक अविद कुयम सुलेरीले सम्मेलनलाई नीतिगत छलफलको महत्वपूर्ण मञ्चका रूपमा चित्रण गर्नुभयो।

बङ्गलादेशको सेन्टर फर पोलिसी डायलगका अध्यक्ष डा. रेहमान सोभानले क्षेत्रीय आर्थिक संयोजन कमजोर हुनुका मुख्य कारणहरूमा दक्षिण एसियाली मुलुकहरूले मूल्य शृङ्खला विस्तारमा प्रभावकारी रूपमा काम गर्न नसकेको औँल्याउनुभयो। हरित मूल्य शृङ्खला विकासका लागि नेतृत्व गर्ने संस्थाको अभावले समस्या उत्पन्न भएको उहाँको भनाइ थियो।

साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड एन्भायरोमेन्ट (सावती) का अध्यक्ष डा. रत्नाकर अधिकारीले हरित रूपान्तरणमा क्षेत्रीय सहकार्य र बहुआयमिक प्रभावका लागि पहल आवश्यक रहेको बताउनुभयो। सावतीका चेयर इमिरेटस डा. पोषराज पाण्डेले दक्षिण एसियाको सम्भावना उजागर गर्न सहयोगी नीतिहरू, प्रोत्साहन, साझेदारी अनुसन्धान र विकासमा जोड दिनुपर्नेमा जोड दिनुभयो।

सम्मेलनमा १६ सत्र सञ्चालन भए। सहभागीहरूले जलवायु परिवर्तनका जोखिम, हरित वित्तको अभाव, औद्योगिक र व्यापार नीतिसँग जलवायु प्रतिकार्यको सामञ्जस्यता, र भूराजनीतिक द्वन्द्वहरूबारे छलफल गरे।

दोस्रो पूर्ण सत्रमा जलवायु कार्यको युगमा व्यापार र औद्योगिक नीतिबारे चर्चा भयो। हरित औद्योगिकरणद्वारा समृद्धि हासिल गर्न सहयोगी र प्रभावकारी नीतिहरू आवश्यक रहेको धारणा व्यक्त गरियो।

तेस्रो पूर्ण सत्रमा दलित, महिला, आदिवासी लगायत सबैका लागि समतामूलक हरित वित्तको आवश्यकता औँल्याइएको थियो। सहभागीहरूले हरित वित्तको उपलब्धता सीमित रहेको र यो अझै पनि विकसित देशहरूका आश्वासनमा मात्र निर्भर रहेको उल्लेख गरे।

ऊर्जासम्बन्धी सत्रमा जीवाश्म इन्धनमा निर्भरता घटाउँदै हरित ऊर्जाको विस्तारका लागि राजनीतिक, वित्तीय, र पूर्वाधार अवरोध हटाउनुपर्ने कुरा उठाइएको थियो।

साना तथा मझौला उद्यमहरूले अनौपचारिकता, स्रोतको सीमित पहुँच, र तयारीको अभावका कारण चुनौती झेलिरहेको उल्लेख भयो। यस्ता उद्यमहरूको औपचारिकरण, स्थायित्व, र विपद् व्यवस्थापनमा एकीकृत रणनीतिहरूले योगदान पुर्‍याउने निष्कर्ष निकालियो।

सन् २००८ देखि सुरू गरिएको दक्षिण एसिया आर्थिक सम्मेलनले क्षेत्रीय विकासका चुनौतीहरूको समाधानका लागि बहस र छलफलको मञ्च प्रदान गर्दै आएको छ। यो सम्मेलन प्रत्येक वर्ष दक्षिण एसियाली देशमा पालैपालो आयोजना हुन्छ।

यसपटकको सम्मेलन सावती (नेपाल), सेन्टर फर पोलिसी डायलग (बङ्गलादेश), रिसर्च एन्ड इन्फरमेसन सिस्टम फर डेभलपिङ कन्ट्रिज (भारत), सस्टेनेबल डेभलपमेन्ट पोलिसी इन्स्टिच्युट (पाकिस्तान), र इन्स्टिच्युट अफ पोलिसी डायलग (श्रीलङ्का) ले संयुक्त रूपमा आयोजना गरेका थिए।