शीर्षकहरू

काठमाडौं–तराई फास्ट ट्र्याक पूरा नभई चोभार बन्दरगाह पूर्ण क्षमतामा आउँदैन : गजुरेल [अन्तर्वार्ता]

काठमाडौं–तराई फास्ट ट्र्याक पूरा नभई चोभार बन्दरगाह पूर्ण क्षमतामा आउँदैन : गजुरेल [अन्तर्वार्ता]

व्यावसायिक गतिविधिलाई प्रोत्साहन गर्न भन्दै संघीय राजधानी काठमाडौंको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहले सेवा आरम्भ गरेको साढे दुई वर्ष पुगेको छ । यतिका समय बितिसक्दा पनि चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । काठमाडौं–तराई फास्ट ट्रयाक पूरा नभएसम्म बन्दरगाह पूर्ण क्षमतामा चल्ने सम्भावना न्यून रहेको सम्बन्धित अधिकारीहरुको भनाइ छ । बन्दरगाह सञ्चालनकै विषयमा नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलसँग गरिएको कुराकानी :

यतिबेला चोभार सुख्खा बन्दरगाहले के-के सेवा दिइरहेको छ ? 
चोभार सुख्खा बन्दरगाहले व्यापार सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्छ । चोभारमा कसैले पनि व्यापारसम्बन्धि गाडी सुरक्षित पार्किङ गर्छु भन्यो भने पार्किङको सुविधा दिन्छौं । ट्रेडसँग सम्बन्धित सामानहरु गोदाममा सुरक्षित राख्छु भन्नेहरुका लागि गोदामको सुविधा दिन्छौ । कसैले प्रशोधन, प्याकेजिङ, लेबलिङ गर्छु भन्यो भने पनि त्यो सुविधा उपलब्ध गराउँछौं । 

बन्दरगाह सञ्चालनको अवस्था के छ ? 
अहिले नेपालभर आठवटा बन्दरगाह सञ्चालनमा छन् । त्यसमध्ये चोभार सुख्खा बन्दरगाह पनि एक हो । बन्दरगाहबाट वार्षिक डेढ करोड रुपैयाँ कमाइरहेका छौं । अहिले सबैभन्दा धेरै कमाउने बन्दरगाह वीरगन्ज हो भने सबैभन्दा कम कमाइरहेको चोभार सुख्खा बन्दरगाहले हो । चोभारको आम्दानीको परिकल्पना काठमाडौं–तराई द्रूतमार्गसँग गरिएको थियो । तर  काठमाडौं–तराई दु्रतमार्ग निर्माण हुन नसक्दा बन्दरगाहको आम्दानी कम भएको हो । तथापि चोभार अहिले कमाउन सक्ने स्थितिमा पुगेको छ र राज्यलाई कमाएर दिनसक्नु नै सफलता हो । 

सुख्खा बन्दरगाहको अवस्था नै सफलता हो? आयात निर्यातको अवस्था कस्तो छ  ? 
हिजोआज प्रतिदिन जाँचपासको लागि चोभार सुख्खा बन्दरगाहमा दुईवटा कन्टेनर आउँछन् । निर्यात चाहिँ बन्दरगाह सुरु भएदेखि जम्मा ६ वटा कन्टेनर पठाएका छौं । बन्दरगाहलाई अलिक भिन्न तरिकारले सञ्चालन व्यवस्थापन गरिरहेका छौ । अरु सातवटा भन्सार जाँचपासको मात्रै काम भइरहेको छ भने बन्दरगाहमा भन्सार जाँचपाससँगै लजिस्टिक हबको कन्सेप्टमा चलाइरहेका छौं । यसमा दुई थरीको विजनेस छ । एउटा भनेको भन्सार जाँचपास र अर्को भनेको व्यापार–टे«ड सम्बन्धिको क्रियाकलापको लागि आधा भाग छुट्याएका छौं । आजको दिनमा भन्सार जाँचपासको लागि एकदमै कम सवारी साधन तथा कन्टेनर आएको अवस्था छ भने लजिस्टिक हबमा एकदमै राम्रो व्यापार भइरहेको छ । दुईटा गोदाम अपुग भएकाले अर्को एउटा गोदाम थपिसकेको छौ । साना अरु दुईटा गोदामहरु थप निर्माण गरिसकेका छौं । त्यहाँ अत्याधिक माग छ । जसले बन्दरगाहलाई चलायमान बनाउन सकेका छौं । 

लजिस्टिक हबको अवधारणा र उद्देश्य चाहिँ कस्तो हो ?
लजिस्टिक हब विश्व बजारमा प्रख्यात छ । त्यसलाई हामीले पनि चोभारबाट सुरुवात गरेका हौं । यो सफल पनि भयो । अहिले चोभारको मुख्य व्यापार भनेको लजिस्टिक हब नै हो । चीन र भारतको नाकाबाट आएका विद्युतिय सवारी साधनहरुको व्यवस्थापन भइरहेको छ । जसका कारण गोदाममा सामनहरु भरीभराउ भएको छ । त्यसैगरी यहाँ कसैले प्रोसेसिङ, प्याकेजिङ, लेबलिङ गर्छु भन्यो भने त्यो सुविधा पनि दिइरहेका छौं । यस्तो सुविधा लजिस्टिक हबकै अवधारणा र उद्देश्य अनुरुप हो । सहज रुपमा व्यापारलाई सहजीकरण गरेर बन्दरगाहलाई चलायमान बनाइरहेका छौं । राज्यलाई कमाउने ठाउँमा पुर्‍याइरहेका छौं । 

आम्दानीको अवस्था कस्तो छ ? 
पाँच वर्षका लागि निजी क्षेत्रलाई न्यूनतम तीन करोड रुपैयाँ छ । हामीले दिएको थ्रेसहोल्ड बराबरको गाडीहरु नआउँदा पनि निजी क्षेत्रले पाँच वर्षसम्मका लागि वार्षिक तीन करोड रुपैयाँ दिनुहुन्छ । र तोकेको थे्रसहोल्ड कटेको खण्डमा रेभिन्यू बाँडफाँट हुन्छ । ६० प्रतिशत निजी क्षेत्रको हुन्छ भने ४० प्रतिशत सरकारको हुन्छ । तर अहिले ट्राफिक फ्लो धेरै छ । पाँच वर्षमा आठदेखि दश करोड रुपैयाँ चोभार सुख्खा बन्दरगाहबाट आम्दानी गर्न सक्छौं । त्यसमा हाम्रो एक रुपैयाँ पनि खर्च हुँदैन । 

निजी क्षेत्रलाई सञ्चालनको सञ्चालनको जिम्मेवारी दिइसकेपछिको अवस्था के छ ? 
अहिले आठवटै सुख्खा बन्दरगाह निजी क्षेत्रलाई चलाउन दिइएको छ । नियमावली अनुसार पनि प्रतिस्पर्धात्मक प्रणालीबाट छनोट गरेर सुख्खा बन्दरगाहहरु सञ्चालन व्यवस्थापन गर्ने गरिएको छ । कन्ट्रयाक्ट म्यानेजमेन्ट तथा नियमावलीसँग काम गर्ने भनेर प्रष्ट रुपमा भनिएको छ । यूरोपियन देशहरुसँगै, भारतलयागतका बाह्य देशको अभ्यास हेर्ने हो भनेपनि सुख्खा बन्दरगाहहरु निजी क्षेत्रहरुमार्फत पीपीमार्फत सञ्चालन, व्यवस्थापन भइरहेको छ । यो सफल पनि भइरहेको छ । निजी क्षेत्रको संलग्नताले सेवास्तर पनि वृद्धि भएको छ । नेपाल सरकारलाई प्राप्त हुने राजस्व पनि बढिरहेको छ । 

चोभार सुख्खा बन्दरगाहकै कुरा गर्ने हो भने पनि राज्यबाट नेपाल ईन्टरमोडल यातायात विकास समितिमार्फत दुई वर्ष चलायौं । त्यतिबेला एकदमै कम बिजनेस थियो । मासिक १६ लाख रुपैयाँमा घाटामा थियौं । आज निजी क्षेत्र आइसकेपछि निजी क्षेत्रको विज्ञताले गर्दा यहाँको व्यवसाय वृद्धि भएको छ । बन्दरगाह सञ्चालनको अवस्थामा रहनुको प्रमुख कारण आजको दिनमा निजी क्षेत्रबाट सञ्चालनमा रहनु नै हो । यदी सरकारमार्फत नै सुख्खा बन्दरगाह सञ्चालन भएको थियो भने आजको जस्तो चलायमान हुने थिएन । 

सरकारमार्फत सञ्चालन भएको भए बन्दरगाह चलायमान हुने थिएन भन्नुभयो । यसका कारणहरु के हुन् ?     
सरकारको निर्णय गर्ने प्रक्रिया एकदमै लामो छ । निजी क्षेत्र नाफाको लागि जति दौडधुप गरिरहेको हुन्छ त्यतिको दौडधुप सरकारका कर्मचारीले गर्दैनन् । यो कुरा हामीले प्रष्ट बोल्नु पर्छ । लुकाउनु हुँदैन । निजी क्षेत्रले तुरुन्त निर्णय गर्छ । कसैलाई छुट नै दिनुपर्ने हो भने पनि तुरुन्त नै दिन्छ । राज्यको निर्णय प्रक्रिया यस्तो छैन् । राज्यले छुट दिनुपर्यो भने भएका प्रक्रिया पूरा गर्दागर्दै आउने बिजनेस अन्तै डाइभर्ट भइसक्छ । 

त्यसोभए चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन हुनमा के ले रोकिरहेको छ ?
चोभार सुख्खा बन्दरगाहलाई दुई भागमा छुट्याएका छौं । आधा भागमा भन्सारका जाँचपासका काम गर्छौ भने आधा भागमा लजिस्टिक हबको काम गर्छाैं । लजिस्टिक हबमा व्यापार सम्बन्धि सबै काम गरिन्छ । लजिस्टिक हबलाई ठाँउ अपुग नै भइसकेको अवस्था छ । तर, फेरि भन्सारमा सवारी आगमन अझ कम नै छ । त्यसको कारण भनेको फास्ट ट्रयाक नबनेर हो । अहिलेसम्म भारतको नाकाबाट मात्रै भन्सार जाँचपास गरेर आयात गरिने गरिएको थियो तर अर्थ मन्त्रालयको भन्सार विभागमार्फत चीनको तातोपानी र रसुवा नाकाबाट पनि सिधै चोभार सुख्खा बन्दरगाहमा सामान ल्याउछु भन्नेहरुलाई पनि त्यो सुविधा लागु भइसकेको छ । यसले गर्दा भन्सारतर्फ पनि ट्राफिक बढ्छ भन्ने अनुमान छ । बन्दरगाहमा भन्सार जाँचपास गराउने सुविधा छ । 

भारतकै नाकाबाट आउने सामानहरु चोभारसम्म किन आइपुग्दैनन् ? 
चोभार व्यवसायीहरुका लागि विकल्प हो । चोभार सुख्खा बन्दरगाह अनिवार्य छिर्नु पर्दैन । किनभने मानिसहरुका लागि वीरगंज सुख्खा बन्दरगाह, विराटनगर सुख्खा बन्दरगाह, भैरहवा सुख्खा बन्दरगाह ठिक हुन्छ भने उहाँहरुले त्यहीँबाट गर्नुहुन्छ । त्यहाँ असहज हुन्छ भने चोभार आउनुहुन्छ । त्यसैले चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँचपास भएन भनेर ठूलो ईस्यू बनाउन जरुरी छैन । भन्सार जाँचपास जहाँ भएन भने आइपुग्ने भनेको सरकारसँगै नै हो । 

चोभार सुख्खा बन्दरगाहको सम्पूर्ण पूर्वाधारहरुको प्रयोग भइरहेको छ त ? 
छन् । अहिले कन्टेनर, ट्रक तथा कार गरेर छ सयभन्दा बढी चोभार सुख्खा बन्दरगाहमा छन् । पाँचवटा गोदाममा तीनवटा पुर्ण रुपमा भरिएका छन् । दुईवटा आशिंक रुपले भरिएका छन् । अब यसलाई नचलेको भन्न मिल्छ त ? भोलिको दिनमा फास्ट ट्रयाक सम्पन्न भइसक्दा बन्दरगाहको क्षमताले भ्याउँदैन । अहिले त्यसको तयारीतिर लागेका छौं।

यो कुरा मैंले मन्त्रालयमा मन्त्रीज्यू, सचिवज्यूसँग छलफल गरिसकेको छु । यहाँ हिमाल सिमेन्टको सातसय रोपनी जग्गा छ । त्यसमा तीन सय रोपनी जग्गा चोभार सुख्खा बन्दरगाहलाई नयाँ संरचना बनाउनका लागि एलोकेट गरिदिन पर्यो भनेर प्रस्ताव राखिसकेको छु । यसमा मन्त्रीज्यूहरु सकरात्मक नै हुनुहुन्छ । बन्दरगाहको सात सय रोपनी जग्गामा प्रर्दशनी स्थल बन्दैछ । त्यो प्रर्दशनी स्थलका लाग जतिबेला जग्गा छुट्याइन्छ त्यतिबेला नै बन्दरगाहका लागि पनि जग्गा छुट्याइन्छ ।