शीर्षकहरू

सहकारी ठगीमा मेरो संलग्नता छैन भन्ने पुष्टि भयो : रवि लामिछाने

सहकारी ठगीमा मेरो संलग्नता छैन भन्ने पुष्टि भयो : रवि लामिछाने
फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको पुष्टि भएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यस्तो दाबी गरेका हुन् ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको पूरै प्रतिवेदन पढ्न नपाए पनि आफू संलग्न नभएको भने पुष्टि भएको उनले बताए । उनले भने, 'पूरै रिपोर्ट पढ्न पाएको छैन तर, के पुष्टि भयो भने सहकारी ठगीमा मेरो संलग्नता छैन । यो पुष्टि भयो ।'

उनले सहकारी रकम अपचलन भएका सबैलाई न्याय दिने बताउँदै आफू सरकारमा हुँदा सोही प्रयास गरेको पनि बताए ।

गत जेठ १५ गते सरकारले नेकपा एमालेका सांसद सूर्यबहादुर थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेकोमा उक्त समितिले आज प्रतिनिधिसभामा छानबिन प्रतिवेदन पेस गरेको छ । यद्यपि, उक्त प्रतिवेदन सार्वजनिक भने गरिएको छैन ।