शीर्षकहरू

असोजको पहिलो सातादेखि अग्रिम बस टिकट खोल्ने तयारी

असोजको पहिलो सातादेखि अग्रिम बस टिकट खोल्ने तयारी
गत वर्षको दशैंमा टिकट काट्न बसपार्क पुगेका सर्वसाधरण

काठमाडौं । दशैं, तिहार र छठलगायत चाडपर्व नेपालीको महत्त्वपूर्ण उत्सव हुन् । विशेषगरि यी महत्त्वपूर्ण चाड भएकाले देश तथा विदेशदेखि सहर, सदरमुकामदेखि गाउँबेसी पुग्नेको लर्को लाग्छ । आफन्त र मान्यजनबाट टिका तथा आशीर्वाद थाप्न लामो यात्रा तय गरेर गन्तव्य पुग्ने गरिन्छ ।  

दशैंमा आवतजावत गर्ने महत्त्वपूर्ण माध्यम भनेको सडक यातायात नै हो । दशैं आउन तीन साता बाँकी रहँदा काठमाडौं उपत्यकाबाट घर फर्किनेहरू तरखरमा छन् । उनीहरूका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम बस टिकट बुकिङ खोल्ने तयारी थालेको छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले असोजको पहिलो सातादेखि दशैंका लागि अग्रिम बस टिकट बुकिङ खुल्ने जानकारी दिए । उनले भने, ‘दशैंमा घर जानेहरूको चाप धेरै नै हुन्छ । विशेषगरि दशैंमा काठमाडौंबाट बाहिर जानेहरूको चाप अत्यधिक हुने गर्छ । त्यसैले हामीले असोजको पहिलो सातादेखि अग्रिम बस टिकट बुकिङ खोल्ने तयारी थालेका छौँ ।’  

सडकको अवस्था खराब रहेकोले यस वर्ष यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउन जोखिम रहेको छ । यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सडक मर्मत सम्भारका लागि तिनै तहका निकायहरू लाग्नु पर्ने माग गरे । उनले आर्थिक न्युजसँग भने, ‘अहिले पानी परिरहेको छ । कतिपय ठाउँमा सडकको अवस्था निकै बिजोग छ । दशैं अगाडी संघ, प्रदेश र स्थानीय तहहरू सडक मर्मत सम्भारमा लाग्नु पर्छ ।’

यस्तो कार्यका लागि सरकारले हालसम्म कुनै तयारी नगरेको समेत उनले गुनासो गरे । ‘दशैं आउन अब धेरै दिन बाँकी छैन । काठमाडौं उपत्यका लगायतका मुख्य सहरहरूबाट गाउँ फर्किने विस्तारै बढ्न थालेका छन् । तर, सरकारले न अहिलेसम्म सडकको काम थालेको छ न त व्यवसायीसँग छलफल नै गरेको छ’, वरिष्ठ उपाध्यक्ष सिटौलाले भने ।