शीर्षकहरू

‘नेवाः संस्कृति देशको सांस्कृतिक वैभव हो’

‘नेवाः संस्कृति देशको सांस्कृतिक वैभव हो’

ललितपुर  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः संस्कृति देशको सांस्कृतिक वैभव भएको बताएका छन । ज्यापु समाज यलको ३१ औँ वार्षिकोत्सव तथा ११ औँ साधारणसभाका अवसरमा आज मङ्गलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नेवाः संस्कृतिकै कारण मुलुक सांस्कृतिक रूपमा वैभवशाली बनेको बताए ।

प्रधानमन्त्री ओलीले नेवार समुदायका  खानाका अनेकौँ परिकार, मन्दिरका टुँडाल, काष्ठकला, संस्कृति र सभ्यताका परिचायक भएका  बताउँदै संस्कृति र सभ्यता बिग्रिएमा सयौँ वर्षमा पनि बनाउन नसकिने उल्लेख गरे ।

 “राजनीतिक र आर्थिक स्थिति बिग्रिएमा केही वर्षमा बनाउन सकिन्छ । संस्कृति र सभ्यता बिग्रिएमा फेरि त्यसलाई पुरानै स्वरुपमा बनाउन सकिँदैन ।” प्रधानमन्त्रीले भने, “हाम्रो संस्कृति र सभ्यता अमर रहोस् भनेर ज्येष्ठ नागरिकहरुले कामना गरिरहेका छन । संस्कृति र सभ्यतालाई युवा पुस्तामा पुस्तान्तरण गर्दै जानु हामी सबैको दायित्व हो । ”

प्रधानमन्त्री ओलीले १०५ वर्षीया मनमाया महर्जनले कला–संस्कृतिको संरक्षणमा मार्ग निर्देश गर्नुभएकामा आभार प्रकट गर्दै उनको दीर्घायुको कामना गरे । साथै उहाँले समाजका विविध  क्षेत्रमा योगदान गरेका व्यक्ति तथा माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई सम्मान गरेका थिए । 

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मुलुकको कला, संस्कृतिको संरक्षणमा अहं भूमिका निर्वाह गरेको बताए । बागमती प्रदेशसभा सदस्य मधुसुदन पौडेलले ज्यापू समाज र संस्कृति नेपाली सभ्यताको धरोहर भएको बताए । 

महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले ज्यापू समाजले आफ्नो परम्परा,  भाषा, कला, संस्कृति संरक्षणमा उल्लेखनीय सहयोग पु¥याएको भन्दै समाजको सहयोगका कारण रातोमच्छिन्द्रनाथको रथयात्रा व्यवस्थित हुने गरेको बताए । 

ज्यापू महागुथिका कार्यवाहक अध्यक्ष ज्ञानेन्द्र महर्जनले यो समाजले आगामी दिनमा आफ्नो समुदायका अधिकार स्थापित गर्नेतर्फ लाग्नुपर्ने बताए । त्यस अवसरमा प्रथम महिला राधिका शाक्य पनि उपस्थिति थियो ।