शीर्षकहरू

नेपाल पूर्वाधारको पाँचौ सम्मेलन सम्पन्न

नेपाल पूर्वाधारको पाँचौ सम्मेलन सम्पन्न

काठमाडौं । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजना तथा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय (वाईसीएनसी) को सहआयोजनामा आयोजित नेपाल पूर्वाधार सम्मेलन सफलताका साथ सम्पन्न भएको छ । 

पाँचौ संस्करणको नेपाल पूर्वाधार सम्मेलनको समापन समारोहमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको समग्र आर्थिक विकासका लागि भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको बताए । उनले नेपाल सरकारले केही समय अगाडि आयोजना गरेको लगानी सम्मेलनका बेला केही कानुनहरुमा सुधार गरी लगानीका लागि उपयुक्त वातावरण बनाएको उल्लेख गर्दै पूर्वाधार सम्मेलनमा आएका सुझाव पूर्वाधार विकासका लागि महत्वपूर्ण हुने बताए ।

 सम्मेलनमा आएका सुझावहरुलाई नेपाल सरकारले ग्रहण गरी सोही अनुरुप सुधार गर्ने विश्वास समेत उहाँले व्यक्त गरे । नेपाल उद्योग परिसंघले समग्र आर्थिक विकासका लागि रचनात्मक भूमिका खेल्दै आएको उल्लेख गर्नुहुँदै उनले पूर्वाधार सम्मेलन समेत त्यसैको निरन्तरताको रुपमा लिएको बताए । 

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले सम्मेलनमा दिगो पूर्वाधार अभ्यासहरूदेखि नवीन वित्तिय मोडेलसहित पूर्वाधार विकासमा प्रादेशिक र स्थानीय सरकारको भूमिकासम्मका विषयहरुमा गहन रुपमा छलफल भएको बताए। नेपालको दिगो विकासलाई अघि बढाउन रणनीतिक लगानीको महत्वका विषयमा आएका सुझावहरु नेपाल सरकारलाई उपलब्ध गराउने उहाँले जानकारी गराए ।

 सम्मेलनमा पूर्वाधार विकासका मोडलहरु, नेपालमा लागू गर्न सकिने व्यावहारिक पक्षहरुको पहिचान तथा हाम्रा पूर्वाधार परियोजनाहरू आर्थिक रूपमा मात्र नभई सामाजिक र वातावरणीय रूपमा पनि दिगो छन् भनी सुनिश्चित गर्न चाल्नुपर्ने कदमहरूबारे स्पष्टता रुपमा सुझावहरु आएको उहाँले बताए ।

समापन समारोहमा नेपाल उद्योग परिसंघका प्रेसिडेन्ट एम्रेटस् विनोद चौधरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मालगायतले पूर्वाधार सम्मेलनले पूर्वाधार विकासका लागि नेपालले ध्यान दिनुपर्ने विषयहरुमा विदेशी एवं स्वदेशी विज्ञहरुबाट महत्वपूर्ण सुझाव आएको बताए । सचिव शर्माले यस सम्मेलनमा आएका सुझावहरुलाई सरकारले ग्रहण गर्दै कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।  पाँचौ संस्करणको नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४ को टाइटल स्पोन्सर बीवाईडी र कोटाइटल स्पोन्सर शिवम् सिमेन्ट रहेको छ ।