शीर्षकहरू

पूर्वाधार क्षेत्रमा महिलाको सहभागिता न्यून

पूर्वाधार क्षेत्रमा महिलाको सहभागिता न्यून

काठमाडौं । पूर्वाधार क्षेत्रमा महिलाको सहभागिता ज्यादै न्यून भएको सरोकारवालालाई बताएका छन् । नेपाल उद्योग परिसंघ (सिएनआई) ले काठमाडौंमा आयोजना गरेको नेपाल पूर्वाधार समिट २०२४ मा ‘पूर्वाधारको क्षेत्रमा महिलाको लागि अवसरको सृजना’ विषयक अन्तक्रिर्या कार्यक्रमलाई बोल्दै सहभागीहरूले यस्तो बताएका हुन्  । 

छलफलमा बोल्दै भारत स्थित जामिया मिल्लिया इस्लामिया कलेजकी प्रोफेसर डक्टर मिनि थोमसले प्राविधिक क्षेत्रमा महिलाको सहभागिता संख्या ज्यादै न्यून रहेको बताइन् । अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को तथ्यांक अनुसार विश्वमा महिलाको जनसंख्या ४९.७ प्रतिशत रहेको उनले बताइन् । यसमा १८ देखि ६५ वर्ष उमेर समूहका महिलाहरू पर्छन् । त्यस्तै, विश्वमा नै सबै क्षेत्रमा महिलाको उपस्थित ४७ प्रतिशत रहेको आइएलओको तथ्यांकले देखाउने उनले बताइन् । ‘तर, विश्वभरी उर्जा क्षेत्रमा महिलाको उपस्थिति २२ प्रतिशत मात्रै भएको आइएलओको तथ्यांकले नै भन्छ । ३२ प्रतिशत सम्भावित उर्जा क्षेत्रमा महिलाको सहभागिता छ,’ उनले भनिन् । आइएलओको तथ्यांकले महिला  जनसंख्या र सहभागिताको स्पष्ट पार्छ । 

साउथ एशियन मुलुकमा भने उर्जा इन्डिष्ट्रिजमा कम्तीमा ७ देखि बढीमा २४ प्रतिशतसम्म महिला सहभागिता रहेको पनि  उनले बताइन् । तर, प्राविधिक पदमा भने ०.४ देखि १० प्रतिशत महिला छन् । जुनियर तहमा ७० प्रतिशतसम्म महिला छन् भने सिनियर तहमा १ प्रतिशत भन्दा कम महिला सहभागी रहेको तथ्यांकले देखाउने उनले बताइन् । 

जबकी पछिल्लो समयमा भारतमा उच्च शिक्षामा ५१ प्रतिशत छात्राको सहभागिता छ भने ५०.९ प्रतिशतले स्नातक तह तहको अध्ययन पुरा गरेका छन् । तर, प्राविधिक क्षेत्रमा महिला उपस्थित कम छ । यसले बाँकी महिला कहाँ गए भन्ने प्रश्न उब्जाउने उनले बताइन् । 
त्यस्तै, युएसएड उर्जा नेपाल कार्यक्रमकी अब्जेभटिभ लिड उषा खतिवडाले प्राविधिक क्षेत्रमा महिलाको सहभागिता कम हुनुमा मुख्य गरी तीन वटा कारण भएको बताइन् । ‘उचित शिक्षा र तालिम, सरकारी नीतिको अभाव र महिलासँग कुशल जनसम्पर्क नहुनु हो । जसका कारण हरेक क्षेत्रमा महिलाको उपस्थिति कम छ,’ उनले भनिन् ।

पूर्वाधार क्षेत्र पूर्ण रुपमा प्राविधिक हुन्छ । त्यसैले यसको लागि उचित शिक्षा र तालिमको आवश्यकता पर्छ । तर, नेपाल जस्तो मुलुकमा छोरीलाई यस्तो खालको शिक्षा दिने परिवारको संख्या कम भएको उनले बताइन् । त्यस्तै सरकारी नीतिमा नै महिला प्राथमिकतामा पर्दैनन् । यसको मुख्य कारण भनेको नेतृत्व तहमा महिलाको उपस्थित कम हुनु हो । त्यस्तै, महिलाहरू पुरुषहरू जस्तो जनसम्पर्क निर्माण गर्न नसक्ने पनि उनले बताइन्  । ‘हाम्रो घर परिवारमा महिलालाई जनसम्पर्क व्यवस्थापन गर्न नै सिकाईदैन । त्यसैले पनि महिला पछाडि परेका छन्,’ उनले भनिन् ।  यसका साथै नेपालमा महिला र पुरुष बीच पारिश्रमिकमा विभेद भएको पनि उनले बताइन् । 

त्यस्तै, नेपाल स्थित अष्टेलियन दूतावासकी विकास प्रमुख कविता कस्यनाथनले पूर्वाधार क्षेत्रमा महिलाको उपस्थित अझै बढी हुनुपर्ने बताइन् । जति पनि पूर्वाधार निर्माण भएको छ त्यसमा पुरुषको योजना अनुसार बनाइएको छ । तर, महिला र पुरुष फरक हुन् ।

महिलाको आवश्यकता अनुसार पूर्वाधारको विषयमा पुरुषले परिकल्पना गर्न सक्दैनन् । उनीहरुले आफूलाई नै सहज हुने खालका पूर्वाधार बनाउँछन् ।  महिलाको आवश्यकता अनुसार पूर्वाधार बनाउनका लागि महिलाको नै उपस्थिति हुनुपर्ने उनले धारण राखिन् । 
तसर्थ अष्टेलियन सरकारले पूर्वाधार क्षेत्रमा योगदान गर्नका लागि नेपाल लगायतका क्षेत्रमा काम गरि रहेको उनले बताइन् । ‘हामीले दक्ष र सिपयुक्त जनशक्ति निर्माणका लागि काम गरि रहेका छौ,’ उनले भनिन् । 

सिएनआईका उपाध्यक्ष निर्वाण चौधरीले भने पछिल्लो दशक नेपालको पूर्वाधार क्षेत्रमा धेरै परिवर्तन भएको बताए । महिलाहरू पनि सशक्त हुँदै आएको उनले बताए । ‘महिलालाई सशक्त बनाउन धेरै काम भै सकेको छ । विभिन्न गैरसरकारी संस्थाहरूले पनि यसमा काम गरेका छन्,’ उनले भने । अब भने कार्यान्वयनको गर्नुपर्ने बेला छ । यसका लागी सरकार, निजी क्षेत्र र गैरसरकारी क्षेत्रहरू बीचको सहकार्यमा महिलाको लागि अवसरका सृजना गर्न सकिने उनले बताए  ।