शीर्षकहरू

कार्यालय नै रित्तो पारेर पूर्वाधार विकास कार्यालय उदयपुरका कर्मचारी भ्रमणमा

कार्यालय नै रित्तो पारेर पूर्वाधार विकास कार्यालय उदयपुरका कर्मचारी भ्रमणमा

उदयपुर । पूर्वाधार विकास कार्यालय उदयपुरका कर्मचारी कार्यालय नै रित्तो पारेर भ्रमणमा गएको खुलेको छ । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय उदयपुरका कर्मचारी भारतको गोवा भ्रमणमा गएको पाइएको हो ।

भ्रमणमा निस्किएका कर्मचारीहरूमा मनोजकुमार ठाकुर, रिपुमर्दन खड्का, नवराज गिरी, ईश्वर पुरी, किरण विष्ट, प्रजन गौतम, विवेकानन्द झा, यादव प्रसाद वाग्ले र मनोज दनुवार रहेका छन् । 

कार्यालयमा कर्मचारी नभेटिएपछि सेवाग्राहीहरूले मुख्यमन्त्री गुहारेका छन् । ‘पूर्वाधार विकास कार्यालय उदयपुरका कर्मचारीहरू मिति २०८१/०५/२६ गतेदेखि २०८१/०६/०५ गतेसम्मको लागि एकैचोटी कार्यालय छाडी भारतेको गोवा शहर घुम्न जानुभएकोले हामी सेवाग्राहीहरू मार्कामा परेका छौँ’, कोशी प्रदेशका मुख्यसचिवमार्फत मुख्यमन्त्री हिक्मत कार्कीलाई गराएको ध्यानाकर्षणमा सेवाग्राहीहरूले उल्लेख गरेका छन् ।  

भ्रमणमा गएका कर्मचारी नआउन्जेलसम्मका लागि वैकल्पिक व्यवस्था मिलाइ सेवा दिन समेत उनीहरूले माग गरेका छन् । कार्यालय प्रमुख ललित कुमार चौधरी विराटनगर गएका बेला ती कर्मचारीहरूले बिदा स्वीकृत नगरी उनको टेबलमा निवेदन राखेको पाइएको छ । उक्त निवेदनमा उनीहरूले अति आवश्यक काम, बिरामी बिदा भन्दै लेखेको पाइएकोले यसबारे छानविन गरि कारबाही गर्न समेत सेवाग्राहीहरूले माग गरेका छन् ।