शीर्षकहरू

दशैंका लागि १५ सय खसीबोका खरिद गर्दै खाद्य कम्पनी, गत वर्षभन्दा आधा कम

दशैंका लागि १५ सय खसीबोका खरिद गर्दै खाद्य कम्पनी, गत वर्षभन्दा आधा कम

काठमाडौं । दशैं भन्ने वित्तिकै धेरै मानिसहरूले चर्चा गर्ने पहिलो विषय हो, मासु । हुनत दशैंका धार्मिक, सांस्कृतिक महत्त्व बेग्लै छन् । तर, व्यवहारिकरुपमा भने टिका लगाउने र मासु खाने कुराले नै चर्चा पाउने गर्छ ।

त्यसैले दशैंको पूर्वसन्ध्यामा मासुको आपूर्तिबारेको चर्चा स्वाभाविक हुन्छ । नेपालमा यस्ता चाडपर्व लक्षित खाद्य वस्तुहरूको आपूर्ति र व्यवस्था मिलाउने एउटा सरकारी निकाय पनि छ । त्यो हो, खाद्य व्यवस्था तथा व्यापार कम्पनी । यो कम्पनीले काठमाडौं उपत्यकामा दशैंलाई लक्षित गरेर एक हजार पाँच सय गोटा खसीबोका ल्याउने तयारी गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले हरेक वर्ष सर्वसुलभ रूपमा खसीबोका बिक्री गर्दै आएको कम्पनीले यस वर्ष पनि दशैंका लागि खसीबोका ल्याउने तयारी गरेको जानकारी दिइन् । उनले भनिन्, ‘यस वर्षको दशैंका लागि हामीले एक हजार पाँच सय गोटा खसीबोका ल्याउने तयारी थालेका छौँ ।’ साथै तीन सय च्याङ्ग्रा ल्याउने समेत खाद्यले तयारी गरेको छ ।  

गत वर्ष च्याङ्ग्रा बिक्री नभएर हैरानी भएको खाद्यले यस वर्ष भने खसीबोका र च्याङ्ग्राको परिमाण घटाएको छ । ‘गत वर्ष ल्याइएकामध्ये केही बिकेनन् । त्यसैले यस वर्ष परिमाण घटाउन लागेको हो’, उनले आर्थिक न्युजसंग भनिन् ।  

कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिदका लागि ४ करोड रुपैयाँ बजेट छुटाइएको सूचना अधिकारी न्यौपानेले जानकारी दिइन् ।         

उनका अनुसार कम्पनीले हेटौँडा, लहान, वीरगञ्ज, मुस्ताङ, दाङ, तुलसीपुर र नेपालगञ्ज लगायतका स्थानबाट खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । यसका साथै उपलब्धताका आधारमा कुन ठाउँबाट कति किनेर ल्याउने भन्ने विषयमा गृहकार्य भइरहेको छ ।