शीर्षकहरू

कामपाभित्र आधारभूत तहका ५२ शिक्षकको पदस्थापन, २२ जना शिक्षकको दरबन्दी अझै खाली

कामपाभित्र आधारभूत तहका ५२ शिक्षकको पदस्थापन, २२ जना शिक्षकको दरबन्दी अझै खाली

काठमाडौं । आइतबार महानगरका बिभिन्न बिद्यालयमा ५२ जना आधारभूत तहका शिक्षकहरुको पदस्थापन भएको छ । 
शिक्षा तथा मानव श्रोत बिकास केन्द्र, शिक्षा बिकास तथा समन्वय इकाइबाट शिफारिस भइ आएका प्राथमिक शिक्षक तृतीय श्रेणीमा नियुक्त शिक्षकहरुलाई महानगरको शिक्षा समितिको आजकै निर्णयबमोजिम पदस्थापन गरिएको हो ।

यसरी पदस्थापन हुनेहरूमा ३९ जना महिला र १३ जना पुरुष रहेका छन् । उनिहरूलाई आजै महानगरका प्रमुखको उपस्थितिमा शिक्षा अधिकारी निर्मला के. सी. ले पद तथा गोपनीयताको शपथ गराइन । 

उक्त अवसरमा बोल्दै महानगर प्रमुख बिद्यासुन्दर शाक्यले भने ‘प्रतिस्पर्धाबाट उत्कृष्ट भएका शिक्षकहरुले आफ्नो योग्यताबाट अब्बल बिद्यार्थी उत्पादन गर्नु पर्छ । तपाईँहरुमध्ये अधिकांशले स्नातकोत्तर गर्नुभएको छ । तपाईहरु शैक्षिक रुपमा सबल हुनुहुन्छ । अब तपाईले पढाएका बिद्यार्थीले उत्कृष्ट नतिजा ल्याउनुपर्छ । मानव बिकासको सूचकमा शिक्षा नै पहिलो हो । यो सूचकमा काम गर्ने जिम्मेवारी पाउनुभएको छ, इमान्दार भएर भूमिका निर्वाह गर्नुहोला । 

उनले थप्दै महानगरले सबै बिद्यालयको रङ्रोगन गर्दै गरेको, बिद्यालय परिसरमा फलफुलका बिरुवा रोप्ने, हिलो र धुलोमुक्त खेल मैदान बनाउने जस्ता पूर्वाधारको काम निकट भविश्यमै गर्ने तयारी भएको र शिक्षकहरु शैक्षिक गुणस्तर सुधार गर्नमा लाग्न अनुरोध गरे । 

महानगरमा बिषयगत  ३० वटा आधारभूत र ६१ वटा माध्यमिक बिद्यालय छन् । यीमध्ये माध्यमिक तहमा ४२०, निम्न माध्यमिक तहमा ४८६ र आधारभूत तहमा ८८८ शिक्षक दरबन्दी रहेको छ । 

यीमध्ये गएको साउन २९ गते माध्यमिक तहका २० जना शिक्षकको र कार्तिक २४ गते १ जना पुरुषसहित २६ जना निम्न माध्यमिक तहका शिक्षकको र आज ५२ जना आधारभूत तहका शिक्षकको पदस्थापन गरिएको हो । यो पदस्थापन गएको १ बर्ष अघिको मागका आधारमा भएको हो । 

त्यसपछि पनि अवकार प्राप्त गर्ने, राजीनामा दिने शिक्षक भएकाले आधारभूत तहमा नै करीब २२ जना शिक्षक दरबन्दी खाली छ ।