शीर्षकहरू

स्वास्थ्य बीमाको सुविधा थैली परिमार्जन, अब १२९० खालका औषधी पाइने

स्वास्थ्य बीमाको सुविधा थैली परिमार्जन, अब १२९० खालका औषधी पाइने

काठमाडौँ  । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने ‘सुविधा थैली’ को सेवा सुविधा परिमार्जित गरेको छ । विज्ञहरूको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवा सुविधाको नयाँ दर कायम गरिएको बोर्डले जानकारी दिएको छ ।   

बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लका अनुसार सुविधाको नयाँ थैली आगामी साउन १ गतेदेखि लागू गरिनेछ । उनले लामो समयदेखि एउटै दरमा उपलब्ध सेवा सुविधालाई समयानुकूल परिमार्जन गरिएको बताए ।

यसअघि आंशिक रुपमा परिमार्जन गरिए पनि यस पटक भने सबै सेवा सुविधाको दर परिमार्जन गरिएको हो । नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमाअन्तर्गत एक हजार दुई सय ९० प्रकारका औषधि रहेका छन् । 

अस्पताल टिकट ५० रुपैयाँ तोकिएको छ । शय्याको प्रतिदिन दुई सय ५० रुपैंया  राखिएको छ । यसअघि साधारण शय्याको दुई सय रुपैयाँ मात्र थियो । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि तीन हजार पाँच सय रुपैयाँ बराबरको योगदानका आधारमा  एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । 

यस्तै थप प्रतिसदस्य सात सय रुपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा दुई लाख रुपैयाँसम्म तोकिएको छ ।

बीमा कार्यक्रममा कूल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार छ सय ७६ जना र कूल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना (२६ दशमलव ५४ प्रतिशत) रहेको छ ।