शीर्षकहरू

लोघेकर दामोदरकुण्डका सबै घरपरिवारलाई विद्युतीय चुल्हो

लोघेकर दामोदरकुण्डका सबै घरपरिवारलाई विद्युतीय चुल्हो

म्याग्दी । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका सबै घरपरिवारलाई विद्युतीय चुल्हो वितरण गरिएको छ । दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले चुल्हो वितरण गरेका हुन् । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले पाँचवटै वडाका चार सय ५४ घरपरिवारलाई निःशुल्क एक–एक थान विद्युतीय चुल्हो वितरण गरिएको जानकारी दिए । 

“उजाड मरुभूमि भएको उपल्लो मुस्ताङको भूगोलमा खाना पकाउन र न्यानोका लागि दाउरा बाल्दा रुख बिरुवा मासिएर वातावरणमा असर पुगेको छ”, उनले भने, “दाउराको विकल्पमा विद्युतीय चुल्होको प्रयोग बढाएर वातावरणका लागि प्रयास गरेका हौं।”

विद्युतीय चुल्होको प्रयोगबाट कार्बन उत्र्सजन न्यूनीकरण र खाना पकाउने ग्यासको आयात तथा खपत घटाउन सकिने अध्यक्ष विष्टले बताए । विद्युतीय चुल्हो खरिदका लागि चालु आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले रु नौ लाख र गाउँपालिकाले रु आठ लाख विनियोजन गरेका थिए । 

जनप्रतिनिधि र एक्यापका प्रतिनिधिहरू यसै हप्ता सबै वडामा पुगेर चुल्हो वितरण गरेका हुन् । ध्येगाउँका पासाङ गुरुङले विद्युतीय चुल्हो भएपछि स्थानीयको दैनिकी सहज बनेको बताए । गुइँठा, दाउरा खोज्नुपर्ने र महँगो रकम खर्चेर ग्यासको सिलिण्डर किन्नुपर्ने समस्या हटेको उनले बताए ।