शीर्षकहरू

‘हिमाल आरोहणले विदेशी मुद्रा आयआर्जनमा सहयोग पुगेको छ’

‘हिमाल आरोहणले विदेशी मुद्रा आयआर्जनमा सहयोग पुगेको छ’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री हितबहादुर तामाङले हिमाल आरोहणले विदेशी मुद्रा आयआर्जनमा सहयोग पुगेको बताए । पर्वतारोहण सञ्चालक संघ नेपालले वसन्त ऋतुमा हिमाल आरोहणका लागि गएका आरोहीलाई ‘बाटो खोल्ने तथा डोरी टाँग्ने आरोही’को सम्मानका लागि शुक्रबार यहाँ आयोजित कार्यक्रममा उनले नेपालको अर्थतन्त्रको माध्यम हिमाल आरोहणसमेत भएको बताए ।

“आफ्नो जीवन जोखिममा राखेर वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से तथा शरद् ऋतुमा मनास्लु, अमादब्लम एवम् हिमलुङ हिमालमा डोरी टाँग्ने तथा बाटो खोल्ने काम गरेर आरोहीलाई सहजता प्रदान गर्नेप्रति सम्मान व्यक्त गर्दछु,” मन्त्री तामाङले भने ।

मन्त्री तामाङले चोयु हिमाल नेपालमा भए पनि उत्तर चीनतर्फबाट मात्र चढ्ने गरेकामा यस वर्षदेखि नेपालबाटै चढ्ने वातावरण मिलाएको भन्दै आरोहीलाई धन्यवाद दिए । वर्तमान ऐन, कानुन, नीतिनियममा रहेर पर्वतारोहण सञ्चालनमा सङ्घ लाग्नुपर्ने उनले बताए ।

“साहसिक पर्यटनको माध्यम हिमाल आरोहण हो, यसमा हिमाली क्षेत्र र शेर्पा जातिको विशेष योगदान रहँदै आएको छ, यसमा राज्यले गौरव गर्दछ,” मन्त्री तामाङले भने । आन्तरिक तथा बाह्य आरोहीलाई सुरक्षित आरोहण गराउने कामलाई सरकारले सहयोग गर्ने उनको भनाइ छ ।

मन्त्री तामाङले जलवायु परिवर्तनका कारण हिमाल पग्लने तथा हिमताल पग्लने समस्याले हिमाल आरोहणमा चुनौती थपिँदै गएको बर्ताए । उनले सरोकारवाला निकायसँग छलफल गरेर पर्यटन ऐनलाई चाँडो ल्याउन सरकार लागिरहेको उल्लेख गरे ।

पर्वतारोहण सञ्चालक सङ्घका अध्यक्ष डम्बर पराजुलीले हिमालमा बाटो खोल्ने तथा डोरी टाँग्ने कार्यलाई दीर्घकालसम्म सङ्घलाई सञ्चालन गर्न अनुमति दिन सरकारलाई आग्रह गरे । उनले नेपालको पर्वतीय पर्यटनको आरोहण अभियानलाई सुरक्षित एवम् भरपर्दो बनाई विश्वसनीयतापूर्वक सञ्चालन गर्न डोरी टाँग्ने कार्यसम्बन्धी एक कार्यविधि बनाई लागू गर्नुपर्ने बताए ।

अध्यक्ष पराजुलीले  हिमालमा फोहोरमैला व्यवस्थापनका लागि आरोहीबाट रकम सङ्कलन गरी फोहोरमैला व्यवस्थापन कोष खडा गर्नुपर्ने, नेपाल सरकारलाई तिर्ने हिमाल दस्तुरमा कहीँ भ्याट लाग्ने र कहीँ नलाग्ने मनोमानीलाई स्पष्ट धारणा बनाउन आग्रह गरे । उहाँले हवाई टिकटमा लगाएको भ्याटसमेत हटाउन मन्त्री तामाङको ध्यानाकर्षण गराए ।

सन् २०२४ को वसन्त ऋतुमा पर्वतारोहण गतिविधि सञ्चालनबापत राज्यकोषमा रु ६८ करोडभन्दा बढी राजस्व सङ्कलन भएको अध्यक्ष पराजुलीले बताए । सोही अवसरमा वसन्त ऋतुमा हिमाल आरोहणका लागि गएका आरोहीलाई बाटो खोल्ने तथा डोरी टाँग्ने आरोहीलाई सम्मान गरिएको थियो ।