शीर्षकहरू

सेबोन अध्यक्ष छनोट प्रक्रिया रद्द

सेबोन अध्यक्ष छनोट प्रक्रिया रद्द

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष छनोट प्रक्रिया रद्द भएको छ ।

सेबोनको अध्यक्ष नियुक्ति गर्ने प्रायोजनाका निमित्त नाम सिफारिस गर्न बनेको समितिले शुक्रबार एक सूचना जारी गर्दै अध्यक्ष छनोट प्रक्रिया रद्द गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

आज बसेको समितिको बैठकले २०८० फागुन १६ गते सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनोटसम्बन्धी सम्पूर्ण प्रक्रियाहरू रद्द गरेको हो ।

धितोपत्र बोर्डको नेतृत्व गएको पुस २० गतेदेखि रिक्त छ । बोर्ड अध्यक्ष नियुक्तिका लागि माघ ३ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीन बहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिले कार्यविधि बनाएरै काम अघि बढाएको थियो । फागुन १६ गतेदेखि ३० गतेसम्म आवेदन माग गर्दा १९ जनाको आवेदन संकलन गरेको सिफारिस समितिले ती मध्येबाट योग्य पाँच जनाको नाम सर्टलिस्ट गरेको थियो ।

गत असार २ गते सेबोनको अध्यक्षका लागि सर्टलिस्टमा परेका उम्मेदवारको अन्तर्वार्ता भएको थियो । उक्त अन्तर्वार्तामा सर्टलिस्टमा परेका पाँचमध्ये तीन जना अनुपस्थित भएका थिए ।

उक्त अन्तरवार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै सहभागी भएका थिए भने अन्य तीन जना डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्की भने अन्तरवार्ताका लागि गएनन् । अघिल्लो बुधबार पुन: समितिले अघिल्लोपटक अनुपस्थित उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । उक्त बैठकमा पनि उनीहरु अनुपस्थित भएका थिए ।

त्यसपछि समितिले उक्त विषयमा महान्यायाधिवक्ताको राय माग गरेको थियो । महान्यायधिवक्ताको कार्यालयले योग्यता पुगेका कम्तिमा तीन व्यक्ति वा नेपाल धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम योग्यता पुगेका तीनभन्दा बढी संख्यामा समितिले सिफारिस गर्नसक्ने सुझाव दिएको थियो ।

अब अर्थले धितोपत्र बोर्ड अध्यक्षका लागि सुरुदेखि प्रक्रिया चाल्नेछ । उक्त प्रक्रियाका क्रममा यही सिफारिस समितिलाई पुन: जिम्मेवारी दिने वा नयाँ समिति गठन गर्नेबारे निर्णय गर्नेछ ।