शीर्षकहरू

‘दासढुङ्गा हत्याकण्डको प्रतिवेदन माधव नेपालले सार्वजनिक गरेनन्, अहिले त्यो प्रतिवेदन नै छैन’

‘दासढुङ्गा हत्याकण्डको प्रतिवेदन माधव नेपालले सार्वजनिक गरेनन्, अहिले त्यो प्रतिवेदन नै छैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दासढुङ्गा हत्याकाण्डको प्रतिवेदन तत्कालीन नेकपा एमालेका महासचिव माधवकुमार नेपाल (पछि एमाले अध्यक्ष हुँदै अहिले नेकपा एसका अध्यक्ष)ले सार्वजनिक नगरेको आरोप लगाएका छन् ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराम आश्रितको मृत्यु हुनेगरी चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनाको कारणबारे आफूहरुले गरेको छानबिनको प्रतिवेदन नेपालले सार्वजनिक नै नगरेको उनले बताएका छन् । भण्डारीको ७३औँ जन्मजयन्तीको अवसरमा राससलाई दिएको अन्तर्वार्तामा उनले उक्त आरोप लगाएका हुन् ।

उनले भनेका छन्– जब सत्ता र शक्ति बाधक हुन्छ, कुनै कुनै सत्य प्रकट हुनबाट रोकिन्छ । नेपालमा दुई ठूला घटना मदन–आश्रितको हत्या र दरबार हत्याकाण्डका दोषी अझै पत्ता लागेका छैनन् ।

दरबार हत्याकाण्डमा पनि तत्कालीन युवराज दीपेन्द्रको देवयानी भन्ने युवतीसँग प्रेम थियो र त्यो प्रेम सफल हुन मातापिता अर्थात् तत्कालीन राजा र रानीले दिएका थिएनन्, त्यसकारणले उनले परिवारै सखाप पारे भन्ने खालको कथा घटना भएकै राति विश्वव्यापी बनाइयो । मानौँ कि त्यही प्रेम कहानीका कारण सारा दरबार दीपेन्द्रले नै सखाप पारे । हामीलाई अथवा कुनै नेपाली नागरिकलाई ती पात्रका बारेमा पहिला केही थाहा पनि थिएन ।

अकस्मात् ती पात्र खडा गरियो र यसैसँग त्यो हत्याकाण्डलाई जोडियो । यसरी जोडियो कि हामीलाई केही थाहा नभएको कुरा एकैपटक विश्वव्यापी बनाइयो । यो स्पष्टै बुझ्न सकिन्छ कि यथार्थलाई छोप्नका लागि शक्तिमा रहेकाहरुले त्यो कथा बाहिर ल्याएका थिए । यसको रहस्य पनि खुल्छ कुनै दिन ।

दासढुङ्गा दुर्घटना पनि त्यस्तै रहस्यकै गर्भमा छ भन्ने लाग्छ । तत्कालीन सरकारले दुर्घटना हो भन्यो, छानबिन आयोगसमेत गठन गर्न मानेन । छानबिनको माग राखी आन्दोलन गर्ने क्रममा कम्तीमा २२ जनाको ज्यान नै गयो । हामीले तत्कालै छानबिन आयोगको माग गर्यौँ । अहिले कस्ताकस्ता कुरामा पनि छानबिन आयोग या समिति गठन गर्ने गरिएको छ, यहाँहरुले पनि देख्नुभएकै छ । तर त्यस्तो घटनामा छानबिनका लागि समिति गठन भएन । दासढुङ्गा घटनामा गाडी नदीमा पुग्छ, नेताहरु डुब्छन् तर चालक सकुसल बाँचेको हुन्छ । पछि त्यही चालक चितवन पुगेर आत्मसमर्पण गरेको हुन्छ ।

यस प्रसङ्गमा विभिन्न विद्रोहका घटनामा जोडिएका नेपाली कांग्रेसका उमेश गिरीले पनि अहिले उक्त दासढुङ्गा घटनामा सम्बन्धमा अभिव्यक्ति दिएका छन्, त्यसलाई पनि हेर्नुपर्ने र मनन् गर्नुपर्ने अवस्था छ । 

हामीले अनेक बाधा र व्यवधानका बीच पार्टीका तर्फबाट मेरो नेतृत्वमा छानबिन समितिको प्रतिवेदन तयार गरेर पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपाललाई दिएका पनि थियौँ । त्यो प्रतिवेदन उहाँले सार्वजनिक नै गर्नुभएन । पछि मैले नै त्यो प्रतिवेदनको सार सार्वजनिक गरेको थिएँ । पार्टीले त्यसबेला प्रतिवेदन सार्वजनिक गरेन र अहिले त्यो प्रतिवेदन उपलब्ध पनि छैन । 

कतिपय यस्ता घटना–दुर्घटनाका सत्यतथ्य सार्वजनिक हुन समय लाग्छ । सत्यहरुलाई शक्तिले लुकाउँछन् नै । तर त्यो प्रयत्न सधैँ सफल हुँदैन । समयक्रममा सत्य त बाहिर आइहाल्छ नै । समय लाग्छ, दासढुङ्गा हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ । मदन–आश्रितको हत्यारा पत्ता लाग्छ ।