शीर्षकहरू

अन्तरदेशी डिजिटल भुक्तानीमा फड्को : अब भारत र भुटानमा क्यूआरबाट भुक्तानी गर्न सकिने

अन्तरदेशी डिजिटल भुक्तानीमा फड्को : अब भारत र भुटानमा क्यूआरबाट भुक्तानी गर्न सकिने

 काठमाडौं । अब भारतमा कार्यरत नेपालीले नेपालको कुनै पनि वालेटमा रेमिट्यान्स बापतको पैसा पठाउन सक्ने भएका छन् । भारतको बैंक तथा वित्तिय संस्थामा उनीहरुले खोलेको खाताको इ–बैंकिङ, क्यूआर कोड, मोवाइल बैंकिङ जस्ता विद्युतीय माध्यमबाट नेपालका वालेटहरुमा पनि पैसा पठाउन सक्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको हो । 

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन बिभागले बिहीबार एकीकृत परिपत्र संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि राष्ट्र बैंकले भारतमा रहेका नेपाली कामदारलाई डिजीटल माध्यमबाट नेपालमा रेमिट्यान्स पठाउन मिल्ने व्यवस्था गरेको थियो । त्यसमा अहिले थप सुविधा ल्याइएको हो । 

पहिला भारतबाट नेपालमा विप्रेषण भित्र्याउन नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकले ‘इन्डो–नेपाल रेमिट्यान्स फ्यासिलीटी स्कीम’ सञ्चालन गरेका थिए । त्यसै अन्तरगत भारतमा रहेका नेपाली कामदारले नेपालमा रेमिट्यान्स पठाउने गरेका थिए । सोही क्रममा राष्ट्र बैंकले गत चैतमा भारतमा रहेको नेपाली कामदारलाई डिजीटल माध्यमबाट पनि रेमिट्यान्स पठाउन मिल्ने सुविधा दिएको थियो । त्यसमा नेपालीले भारतका बैंक तथा वित्तिय संस्थामा खोलेको बैंक खातासँग आवद्ध इ–बैंकिङ, अन्तर बैंक भुक्तानी, मोवाइल बैंकिङ, क्यूआर कोड लगायतको माध्यमबाट नेपालको बाणिज्य र राष्ट्रिय स्तरको विकास बैंकमा भएको कुनै पनि व्यक्तिगत खातामा रेमिट्यान्स अर्थात् आफ्नो पारिश्रमिक बापतको पैसा पठाउन सक्ने व्यवस्था गरिएको थियो । 

अहिले आएर राष्ट्र बैंकले उक्त रेमिट्यान्सलाई राष्ट्रिय भुक्तानी स्वीच पुर्ण रुपमा सञ्चालनमा नआएसम्म रिटेल पेमेन्ट स्वीच मार्फत भित्र्याउन बैंक तथा वित्तिय सस्थाहरुलाई निर्देशन दिएको छ । साथै, भारतमा रहेको नेपालीले नेपालका वालेट खातामा पनि यस्तो रेमिट्यान्स पठाउन सकिने व्यवस्था राष्ट्र बैंकल गरिदिएको छ । हाल नेपालमा इसेवा, खल्ती, आईएमई पे, नेपाल पे जस्ता २७ वटा वालेट कम्पनी छन् । त्यसमा आम सर्वसाधारणले खालेको खातामा भारतमा कार्यरत नेपालीले रेमिट्यान्स जम्मा गर्न सक्नेछन् । यसमा कारोबारको सिमा भने भारत सरकारले नै तोकेअनुसार हुनेछ । भारतबाट आउने पैसामा नेपालले कुनै सिमा तोक्न मिल्ने अधिकार छैन । नेपालका सेवा प्रदायकले अन्तरदेशी भुक्तानीका लागि आवश्यक प्रणाली विकास गरेर रकम प्राप्त गर्न मिल्ने बनाए पुग्नेछ । 

यस्तै, विदेशी विनिमयको कारोबार गर्न इजाजत नलिएका वित्तिय सस्थाको खातामा पनि यस्तो रेमिट्यान्स पठाउन सकिने छ । नेपालमा वित्तिय संस्था तर्फ सबै बाणिज्य बैंक  र केही राष्ट्रिय स्तरका विकास बैंकले मात्रै विदेशी विनिमयको कारोबार गर्ने अनुमति लिएका छन् । त्यस बाहेकका बैंक तथा वित्तिय संस्थाले पनि यस्तो रेमिट्यान्स भित्र्याउन सक्नेछन् । तर, यस्तो वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायक (वालेट कम्पनी) ले नेपाली सेटलमेन्ट बैंकमार्फत नेपाली रुपैयाँमा मात्र रकम प्राप्त गर्न सक्ने परिपत्रमा उल्लेख छ ।

यस्तै, नेपाली व्यवसायीहरुले भारतमा वस्तु तथा सेवा बिक्री गरेबापत पाउने रकम पनि अनलाइनबाटै प्राप्त गर्न मिल्ने व्यवस्था पनि गरिएको छ । नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको खातामा त्यस्तो रकम प्राप्त गर्न सकिनेछ । भारतीय रुपैयाँमा जारी भएको भुक्तानीका उपकरणबाट क्यूआर कोड लगायतका माध्यमबाट रकम प्राप्त गर्न सकिने परिपत्रमा उल्लेख छ । राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रुपमा सञ्चालनमा नआएसम्म यस्तो कारोबार पनि रिटेल पेमेन्ट स्वीचबाटै गराउनुपर्ने बताइएको छ । 

यस्तै, यस्तो रकम वालेट खातामा पनि प्राप्त गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरिदिएको छ । विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र नलिएका वित्तीय संस्थामा भएको खातामा पनि यस्तो रकम प्राप्त गर्न सकिने छ । तर, यस्तो वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकले नेपाली सेटलमेन्ट बैंकबाट भारतीय रुपैयाँ प्राप्त नगरी नेपाली रुपैयाँ मात्र प्राप्त गर्न सक्नेछन् । यस्तो कारोबारमा हुने जोखिम र त्यसको न्यूनीकरणका उपायहरु सम्बन्धित बैंक–वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकले नै गर्नुपर्ने बताइएको छ । 

नेपाली व्यवसायीहरुले भारत बाहेकका मुलुकमा वस्तु तथा सेवा बिक्री गरे गर्दा पनि अनलाइन मार्फत नै रकम प्राप्त गर्न मिल्ने व्यवस्था पनि गरिएको छ । परिवत्र्य विदेशी मुद्रामा यस्तो कारोबार हुनेछ । नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरको विकास बैंकमा खोलिएको खातामा त्यस्तो रकम प्राप्त गर्न सकिने छ । 

विदेशमा जारी भएको भुक्तानीका उपकरणबाट क्यूआर कोड लगायतका विद्युतीय माध्यम त्यस्तो रकम स्वीकार गर्न सकिने बताइएको छ । राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रुपमा सञ्चालनमा नआएसम्म यो पनि रिटेल पेमेन्ट स्वीचबाटै सञ्चालन गर्नुपर्ने बताइएको छ । 

परिपत्रि अनुसार वालेटमा पनि यस्तो रकम प्राप्त गर्न सकिने छ । साथै, विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र नलिएका बैंकको खातामा पनि यस्तो रकम प्राप्त गर्न सकिने छ । तर, यस्तो वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकले नेपाली सेटलमेन्ट बैंकमार्फत परिवर्त्य विदेशी मुद्रा प्राप्त नगरी नेपाली रुपैयाँ मात्र प्राप्त गर्न सक्ने परिपत्रमा उल्लेख छ । यस्तो कारोबारमा हुने जोखिम  र त्यसको व्यवस्थापनको जिम्मेवारी पनि सम्बन्धीत बैंक तथा वित्तिय संस्थाकै हुनेछ । 

यस्तै, अब नेपालीले नेपालकै खाताबाट भारत र बंगलादेशमा समेत डिजीटल माध्यमबाट भुक्तानी गर्न सक्ने पनि भएका छन् । भारतीय मुद्रा सटही सुविधा अन्तरगत यस्तो सुविधा दिइएको छ । नेपालका वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको बैंक खातामा आवद्ध क्यूआर कोडेको माध्यमबाट भारत र भुटानमा भुक्तानी गर्न सकिने छ । यसमा मासिक एक लाख भारुको सिमा तोकिएको छ  । अस्पताल, होटल र औषधी पसलमा भुक्तानी गर्दा शुल्क लाग्ने छैन ।

अब बैंक तथा वित्तिय संस्था र भुक्तानी सेवा प्रदायकले आवश्यक पूर्वाधार बनाएर यस्तो सुविधा दिन सक्नेछन् । साथै, विदेशी सेवा प्रदायकहरुसँग पनि यसबारे आवश्यक सम्झौता गर्नुपर्नेछ । त्यसपछि राष्ट्र बैंकबाट थप स्वीकृत लिएर यस्तो कारोबार गर्न सकिने बताइएको छ । यसले नेपाललाई अन्तरदेशीय डिजीटल भुक्तानीमा नयाँ उचाईमा पुर्याउने राष्ट्र बैंकको विश्वास छ ।