शीर्षकहरू

व्यापारीलाई राजस्व अनुसन्धानको निर्देशन– रातको समयमा बिल नकाट्नू

व्यापारीलाई राजस्व अनुसन्धानको निर्देशन– रातको समयमा बिल नकाट्नू

भैरहवा । राजस्व अनुसन्धान विभागले व्यापारीहरुलाई रातको समयमा बिल काटेर व्यापार नगर्न निर्देशन गरेको छ । विभागले बिहीबार भैरहवामा आयोजना गरेको राजस्व चुहावटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने  महानिर्देशक चक्रबहादुर बुढाले यस्तो निर्देशन गरेका हुन् ।

व्यापारीहरुले दिनभर व्यापार गर्ने र राजस्व छली गर्नेगरी राति नक्कली बिल काटेर मिलान गर्ने गरेको देखिएपछि उनले यस्तो निर्देशन दिएका हुन् ।महानिर्देशक बुढाले चोरी तस्करीले गर्दा राजस्व चुहावट भएको बताए ।

महानिर्देशक बुढा र राजस्व सचिव डा कृष्णहरि पुस्करसहितको टोलीले निजी क्षेत्रका करसँग सम्बन्धित समस्यालाई समाधान गर्न रुपन्देही, कपिलवस्तु र नवलपरासीका सरोकारवालासँग अन्तर्क्रिया गरेका थिए ।

अन्तर्क्रियामा रुपन्देहीमा खुला सिमानाकाका कारण चोरी तस्करी भएको व्यापारीहरुले बताएका थिए । राज्यले कर असुली गर्न सक्रिय हुने र व्यवसायलाई समस्या परेका विषयमा सहजीकरण गर्न नखोज्दा व्यवसाय गर्न कठिन भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । उनले भन्सारमा लाग्ने करको दर नघटाएसम्म तस्करी नरोकिने बताउँदै उपभोक्ता जता सस्तो भयो त्यतै लाग्ने बताए ।

उद्योगी व्यवसायीले राज्यले उपेक्षा गरेको बताइरहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. पुस्करले निजी क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरुले रातिको समयमा किन बिल काट्ने ? भन्दै व्यवसायीमाथि नै प्रश्न गरे ।

सचिव पुस्करले राजस्वको क्षेत्रमा सुधार हुँदै गएको बताउँदै कुन व्यापारीले सही काम गर्छ कुन व्यापारीले गलत गर्छ भन्ने भन्ने परीक्षण गर्न व्यापारी नै लाग्नुपर्ने बताए ।

खुला सिमानाका कारण चोरी तस्करी नियन्त्रण गर्न कठिन भएको सुरक्षा निकायले उठाएको प्रश्नमा सचिव पुष्करले दक्षिण एसियाको कुरा गर्दै खुला सिमाना देशको सुन्दरता रहेको जवाफ दिए ।

राजस्व अनुसन्धान कार्यालय बुटलका प्रमुख पशुपतिबाबु पुरीको अध्यक्षतामा भएको कार्यक्रममा राजस्व प्रशासन, प्रहरी प्रशासन, कर प्रशासन, भन्सार प्रशासन, स्थानीय प्रशासन र निजी क्षेत्रका संघ संस्थाहरुको प्रतिनिधित्व रहेको थियो ।