शीर्षकहरू

काठमाडौंवासीलाई बर्खाभरि मेलम्चीको सट्टा सुन्दरीजलको पानी

काठमाडौंवासीलाई बर्खाभरि मेलम्चीको सट्टा सुन्दरीजलको पानी

काठमाडौं । गएको सोमबारदेखि मेलम्ची खानेपानी आयोजना बन्द गरिएको छ । काठमाडौंमा मेलम्चीको पानी वितरण बन्द भएसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले त्यसको विकल्प खोजेको छ ।

केयूकेएलले शिवपुरी डाँडामा रहेको धाप ड्यामको पानी बर्खाअवधिभर काठमाडौंवासीलाई वितरण गर्ने तयारी गरेको हो । केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले मेलम्ची खानेपानी पथान्तरण बन्द भएसँगै सुन्दरीजल धापबाट बर्खाभरिका लागि पानी ल्याउने तयारी गरेको जानकारी दिए ।

यसका लागि सुन्दरीजलको धाप ड्यामसँग सम्झौता पनि भइसकेको उनले बताए । मेलम्चीको पानीजसरी सुन्दरीजलको पानी २४सै घण्टा दिन नसकिए पनि तत्काल केही समयतालिका बनाएर पानी वितरण गरिने जानकारी उनले दिए ।

केयूकेएलले धाप ड्यामबाट दैनिक तीनदेखि चार करोड लिटर र सुन्दरीजलभन्दा माथि रहेको बागमतीबाट दुई करोड लिटरसम्म पानी ल्याउने तयारी गरेको छ । यसरी दैनिक पाँचदेखि छ करोडल लिटरसम्म पानी काठमाडौंवासीलाई वितरण गर्ने योजना केयूकेएलको छ ।

तर काठमाडौं उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग भएकाले  पूर्ण अभाव परिपूर्ति भने हुने छैन । बर्खामा पानीको स्रोतको अभाव नहुने भएकाले जमिनमुनिको पानीलाई पनि वैकल्पिप स्रोतका रुपमा प्रयोग गर्न सकिने प्रवक्ता राईको भनाइ छ ।