शीर्षकहरू

पाकिस्तानमा चरम गर्मी, ६ दिनमा ५६८ जनाको मृत्यु

पाकिस्तानमा चरम गर्मी, ६ दिनमा ५६८ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा चरम गर्मीका कारण जनजीवन प्रभावित भएको छ ।बीबीसी न्यूजका अनुसार पछिल्लो ६ दिनमा पाकिस्तानमा ५६८ जनाको मृत्यु भएको छ । जसमध्ये मंगलबार मात्रै १ सय ४१ जनाको ज्यान गएको थियो । 

प्रतिवेदन अनुसार पछिल्लो ३ दिनमा तापक्रममा गिरावट भने आएको छ । तर, हावामा अत्यधिक आद्रताका कारण आर्द्रता निरन्तर बढिरहेको छ । जसरण ४० डिग्रीको तापक्रम पनि ४९ डिग्री जस्तो लाग्छ। विगत ४ दिनमा कराचीको सिभिल अस्पतालमा २६७ जनालाई गर्मीका कारण बिरामी भएकाहरुलाई भर्ना गरिएको छ ।

पाकिस्तानी गैरसरकारी संस्था ईधी फाउन्डेसनका प्रमुख फैसलले कराचीमा आफूहरूले ४ वटा शवगृह सञ्चालन गरिरहेको तर शव राख्नको लागि मुर्दाघरमा ठाउँ नै नरहेको बताए । यहाँ दैनिक ३०–३५ शव आउने गरेका छन् । डन न्यूजका अनुसार आपतकालीन सेवाका कर्मचारीहरूले कराचीको सडकमा अहिलेसम्म ३० जनाको शव फेला पारेका छन् ।

मृत्यु हुनेमा अधिकांश ५० वर्षभन्दा माथिका छन् । गर्मीका कारण बिरामी भएर अस्पताल पुग्ने मानिसमा धेरैजसो बान्ता, पखाला र उच्च ज्वरो आउने गरेको छ । ज्यान गुमाउनेमा अधिकांश कामका लागि दिनभर बाहिर बस्नेहरू पनि पर्छन् ।

प्रशासनले मानिसहरूलाई धेरै पानी पिउन र हल्का लुगा लगाउन सल्लाह दिएको छ । गत महिना कराँचीको तापक्रम ५२ डिग्री सेल्सियसमा रेकर्ड गरिएको थियो । जुन पाकिस्तानमा यस वर्षको अहिलेसम्मकै सबैभन्दा तातो दिन हो ।

गत महिना एसियाभरि अधिकतम तापक्रममा वृद्धि भएको अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको टोलीले जनाएको छ । यसको सबैभन्दा ठूलो कारण जलवायु परिवर्तन हो ।