शीर्षकहरू

लघुबीमा कम्पनीलाई व्यवसाय विस्तार गर्न चुनौती

लघुबीमा कम्पनीलाई व्यवसाय विस्तार गर्न चुनौती

काठमाडौं । ठूला जीवन बीमा कम्पनीहरुले पनि ठुलो संख्या र रकममा लघुबीमाको कारोबार गरेको देखिएको छ । नेपालमा पछिल्लो एक वर्षदेखि तीन जीवन लघुबीमा कम्पनी सञ्चालनमा छन् । यसरी लघुबीमा कम्पनी नै सञ्चालन हुदाँ पनि ठुला जीवन बीमा कम्पनीहरुले पनि उच्च मात्रामा लघुबीमाको कारोबार गर्दै आएका छन् । 

नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आर्थिक बर्ष २०८०/८१ को जेठ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । यद्यपि, उनीहरुलाई लघुबीमाको कारोबार गर्न कुनै रोक भने छैन । तर, यसले लघुबीमा कम्पनीहरुलाई भने चुनौती थपेको विज्ञहरु बताउँछन् ।

हाल नेपालमा १४ वटा ठूला जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा १२ कम्पनीले  लघुबीमाको कारोबार गरेका छन् । समीक्षा अवधिमा १२ वटा ठूला जीवन बीमा कम्पनीले लघुबीमाबाट दुई अर्ब ३४ करोड ८५ लाख २२ हजार रुपैयाँ बीमाशुल्क उठाएका छन् । समीक्षा अधवीमा उनीहरुको पहिलो लघुबीमा व्यवसाय (प्रथम लघुबीमा शुल्क) मात्रै २ अर्ब २३ करोड ६२ लाख रुपैयाँ छ । ठूला बीमा कम्पनीहरुमा लघुबीमाको ३६ लाख २९ हजार २२० वटा  पोलिसी सक्रिय देखिएको छ । 

पोलिसी संख्याको आधारमा ठुला बीमा कम्पनीहरुमा लघुबीमाको हिस्सा झण्डै २६ प्रतिशत छ । जेठ मसान्तसम्म ठूला बीमा कम्पनीहरुमा १ करोड ४० लाख १२ हजार ३०२ वटा जीवन बीमा पोलिसी सक्रिय छ । त्यसमा लघुबीमा पोलिसीको संख्या ३६ लाख २९ हजार २२० वटा देखिएको हो । जुन कुल सक्रिय पोलिसीको २५.९० प्रतिशत हो । 

कुल बीमाशुल्कमा भने लघुबीमाको हिस्सा १.७५ प्रतिशत मात्रै छ । समीक्षा अवधिमा ठूला बीमा कम्पनीको कुल बीमाशुल्क संकलन १ खर्ब ३३ अर्ब ६२ करोड ५८ लाख रुपैयाँ छ । त्यसमा लघुबीमा शुल्क (२ अर्ब ३४ करोड ८५ लाख २२ हजार रुपैयाँ) को हिस्सा १.७५ प्रतिशत मात्रै छ । 

ठूला कम्पनीको नयाँ व्यवसायमा भने लघुबीमाको हिस्सा ८.११ प्रतिशत रहेको छ । समिक्षा अवधिमा ठूला बीमा कम्पनीले २७ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय (प्रथम बीमाशुल्क संकलन) गरेका छन् । त्यसमा लघुबीमा मार्फत दुई अर्ब २३ करोड ६२ लाख रुपैयाँ उठेको छ, जुन  कुल नयाँ व्यवसायको ८.११ प्रतिशत हो । यसले लघुबीमा कम्पनीहरु सञ्चालनमा आएपछि ठूला बीमा कम्पनीहरुले लघुबीमा व्यवसायलाई थप प्राथमिकतामा राखेका छन् । यसले लघुबीमा कम्पनीहरुलाई व्यवसाय विस्तार गर्न चुनौती थपेको छ । 

समीक्षा अवधिमा नेशनल लाइफ इन्स्योरेन्सले मात्रै १० लाख १९ हजार ८०८ वटा लघुबीमा पोलिसी बिक्री गरेको छ । त्यसबाट कम्पनीले १ अर्ब ५ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

यसैगरी सिटीजन्सले मात्रै ९ लाख २८ हजार ७०६ वटा लघुबीमा पोलिसी बिक्री गरेर ४१ करोड ४९ लाख ७२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।  यस्तै, सानिमा रिलायन्स लाइफले ७ लाख ६३ हजार ६६४ वटा लघुबीमा पोलिसी बिक्री गरेर २८ करोड ५८ लाख ५८ हजार रुपैयाँ पोलिसी बिक्री गरेको छ । 

यसैगरी सूर्यज्योतिले ४ लाख २८ हजार ६६३ पोलिसी बिक्री गरेर २५ करोड ८ लाख ३ हजार रुपैयाँ, प्रभु महालक्ष्मीले ८४ हजार ५२१ पोलिसी बिक्री गरेर १६ करोड १७ लाख २ हजार रुपैयाँ, मेट लाइफले २ लाख ६४ हजार ६७० वटा पोलिसी बिक्री गरेर १३ करोड २८ लाख ८२ हजार रुपैयाँ र सन नेपालले ९६ हजार ५२९ वटा पोलिसी बिक्री गरेर १ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

यस्तै, रिलायवल नेपाल लाइफले ३ हजार ३२० पोलिसी बिक्री गरेर ९८ लाख ९२ हजार रुपैयाँ, नेपाल लाइफले ३३ हजार ५५ वटा पोलिसी बिक्री गरेर ८७ लाख २ हजार रुपैयाँ, एसियन लाइफले २ हजार ५५६ वटा पोलिसी बिक्री गरेर ४१ लाख १३ हजार रुपैयाँ, एलआईसी नेपालले २ हजार ५९१ पोलिसी बिक्री गरेर १० लाख ५९ हजार र हिमालयन लाइफले १३७ वटा पोलिसी बिक्री गरेर ४३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

तर, लघुबीमा मात्रै गर्ने गरि स्थापना भएका लघुबीमा कम्पनीको भने यो भन्दा पनि कम कारोबार देखिएको छ । समीक्षा अवधिमा तीन लघुबीमा कम्पनीले १३  करोड २३ लाख ९९ हजार रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेका छन् । त्यसमा प्रथम लघुबीमा शुल्क भने १३ करोड २७ लाख २१ हजार रुपैयाँ रहेको छ । हालसम्म उनीहरुले ७७ हजार ३२० वटा पोलिसी बिक्री गरेका छन् । लघुबीमा कम्पनीको यो तथ्यांक ठूला जीवन बीमा कम्पनीमा भएको लघुबीमा कारोबारको भन्दा कम हो । 

यो तथ्यांकले लघुबीमा कम्पनीहरुले व्यवसाय विस्तार गर्न नसकेको देखिएको पनि छ । साथै, ठूला बीमा कम्पनीले पनि लघुबीमा कारोबार गर्दा साना (लघुबीमा) कम्पनीलाई व्यवसाय विस्तार गर्न चुनौती भएको तथ्यांकले देखाएको छ । 

समीक्षा अवधिमा गार्डियन माइक्रो लाइफले २० हजार ८८९ वटा पोलिसी बिक्री गरेर ३ करोड २९ लाख ३४ हजार रुपैयाँ बीमाशुल्क संलकन गरेको छ । यसैगरि क्रेष्ट माईक्रो लाइफले भने ४९ हजार ३१ वटा पोलिसी बिक्री गरेर ७ अर्ब ८७ करोड ७५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । साथै, लिवर्टी माईक्रो लाइफ इन्स्योरेन्सले ७ हजार ४०० वटा पोलिसी बिक्री गरेर २ करोड १० लाख ९० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

समीक्षा अवधिमा ठूला र साना जीवन बीमा कम्पनीको कुल बीमाशुल्क संकलन भने १ खर्ब ३३ अर्ब ७५ करोड ८६ लाख रुपैयाँ रहेको छ । त्यसमा २७ अर्ब ७० करोड ५ लाख रुपैयाँ नयाँ बीमाशुल्क रहेको छ । हालसम्म जीवन बीमा कम्पनीमा रहेको कुल सक्रिय जीवन बीमा पोलिसी १ करोड ४० लाख ८९ लाख ६२२ रहेको छ ।