शीर्षकहरू

अरुणभ्याली हाइड्रोको अवितरित हकप्रद शेयर बाँडफाँट

अरुणभ्याली हाइड्रोको अवितरित हकप्रद शेयर बाँडफाँट

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लिलामीमा विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले १९ लाख ९२ हजार १३४ कित्ता अवितरित हकप्रद शेयर वैशाख १० गतेदेखि २४ गतेसम्म लिलामीमा विक्री गरेको हो । 

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र वैशाख २७ गते खोली जेठ १ गते कम्पनीको सञ्चालक समितिको बैठकले बाँडफाँट गरेको हो । शेयर वाँडफाँटको अन्तिम मूल्य प्रतिशेयर १४३ रूपैयाँ ५० पैसा कायम भएको छ । 

उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । यो बाँडफाँटमा नपरेको शेयर वापतको रकम जेठ ३ गतेदेखि फिर्ता भुक्तानी गरिने जानकारी कम्पनीले दिएको छ । लिलामीमा ल्याउने भएको छ । कम्पनीले फागुन १७ गतेदेखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरी चैत २७ गते बाँडफाँट गरेको थियो । 

कम्पनीले १ बराबर १ को अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर विक्री खुला गरेकोमा १९ लाख ९२ हजार १३४ कित्ता भने वितरण हुन नसकेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रूपैयाँ रहेको छ ।

लिलामी प्रक्रियाबाट सम्पूर्ण कित्ता हकप्रद शेयर विक्री तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ कायम भएको छ । यस कम्पनीले ९ दशमलव ९४ मेगावाट क्षमताको काबेली बी–१ क्यास्केड जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ साल चैत १२ गतेदेखि व्यवसायिक उत्पादन गर्दै आएको छ ।