शीर्षकहरू

एनसेल प्रकरणमा चौधरीको चासो : ‘सर्पले देखायो सर्पकै खुट्टा’ !

एनसेल प्रकरणमा चौधरीको चासो : ‘सर्पले देखायो सर्पकै खुट्टा’ !

काठमाडौँ । नेपालीमा एउटा भनाई छ - सर्पको खुट्टा सर्पले मात्रै देख्छ । सरकारले एनसेलको सेयर खरिद बिक्री विवादबारे छानबिन गर्न टंकमणि शर्माको संयोजकत्वमा गठन गरेको समितिले यो परम्परागत भनाइलाई आधार बनाएर काम गर्ने हो भने सबै तथ्य सहजै खुल्ने देखिएको छ ।

कर छलीकर्ताहरूको स्वर्ग मानिने केही क्यारेबियन टापु राष्ट्रहरूमा कम्पनी दर्ता गरी कारोबार गरेको प्रमाणित भएका एक व्यक्तिले नै यो प्रकरणमा को को सामेल छन् भन्ने जानकारी रहेको खुलासा गरेपछि छानबिन सहज बन्ने देखिएको हो ।

खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था ‘आइसीआईजे’ले केही वर्ष अघि गरेको अध्ययन रिपोर्टमा कालोधन थुपार्नेहरूको सूचीमा नाम उल्लेख भएका फोर्ब्स लिस्टेड नेपालका एकमात्र डलर अर्बपति परिवारका सदस्यले यस्तो समितिलाई सहजता थपेका हुन् ।

भारतले सीजीका कम्पनीमा छापा हानिरहँदा विनोद चौधरीबारे प्याण्डोरा लिक्सको त्यो खुलासा

सांसद तथा अर्बपति विनोद चौधरीका छोरा निर्वाण चौधरीले ‘एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन्, जसले १० वर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन्’ भनेर यो प्रकरणका खेलाडीबारे आफूलाई जानकारी रहेको संकेत दिएका हुन् ।

उनले एनसेल काण्डले गर्दा ‘नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र सङ्गठनलाई चिन्न पाएको’ सामाजिक सञ्जाल ट्विटर (अहिले एक्स) मा लेखेका हुन् । उनको यस्तो खुलासाको आधार भनेको उनीहरू स्वयम्‌ले विगतमा गरेका यस्तै कामको अलावा नेपालको टेलिकम व्यापारमा गर्न नपाएको लुटको खेतीको कुण्ठा समेत रहेको बुझ्न सकिन्छ ।

कालोधनको स्वर्गमा शेयर किनबेच भएको एनसेलद्वारा स्वीकार

यो प्रकरणमा अध्ययन र छानबिन गर्न सरकारले समिति गठन गर्ने बित्तिकै आएको उनको यस्तो ‘खुच्चिङ भाव’को ट्विटले चौधरी समूहको एनसेलसँग रहेको व्यावसायिक टकरावको समेत खुलासा गरेको छ । उनले लेखेका छन्, ‘सीजी टेलिकमले उपभोक्तालाई भ्वाइस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्वीकृति दिइएन भन्ने कुराको अब पटाक्षेप हुँदैछ । हेर्दै जाऔँ, अरू के के देख्न पाइने हो ।’

उनले एनसेल खरिद-बिक्रीमा टेलिकम व्यवसायका माफिया र नेपाली राजनीतिक नेतृत्व तथा कर्मचारीतन्त्र क-कसको संलग्नता रहेको छ र त्यसको अन्तर्यमा के थियो भन्ने संकेत गर्दै अगाडी लेखेका छन्, ‘एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन्, जसले १० वर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् । आज जे भएको छ : यही गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन् ।’

सरकारले यस विषयमा चलेका कदमलाई समेत उनले सिनेमाको संज्ञा दिएका छन् । उनी लेख्छन्, ‘देशमा अहिले ‘त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ ।’