शीर्षकहरू

कालोधनको स्वर्गमा शेयर किनबेच भएको एनसेलद्वारा स्वीकार

कालोधनको स्वर्गमा शेयर किनबेच भएको एनसेलद्वारा स्वीकार

काठमाडौं । नेपालको दूरसञ्‍चार व्यवसाय कम्पनी एनसेलको शेयर अकुत सम्पत्ति लुकाउने स्वर्ग अर्थात्‌ ‘ट्याक्स हेभन’ मुलुकमा भएको यसका लगानीकर्ताले स्वीकार गरेका छन्‌ ।

आजियाटाको ८० प्रतिशत शेयर किनेको भनिएको स्पेक्ट्रलाइट यूके लिमिटेडका नेपाली मूलका शेयरधनी सतिशलाल आचार्यले नै एक विज्ञप्ति जारी गरी सेन्ट किट्समा रहेको कम्पनी रेनोल्ड होल्डिङ्सको शेयर आफूले खरिद गरेको स्वीकारेका हुन्‌ ।

कर छलीमा निकै अघिदेखि बदनाम एनसेलले पछिल्लो शेयर कारोबार पेचिलो बन्दै गएपछि कम्पनीको छवि उकास्ने प्रयास गर्दै एक विज्ञप्ति जारी गरेको छ । सो विज्ञप्तिमा आजियाटाको ८० प्रतिशत शेयर नेपाली मूलका लगानीकर्ताले लिने सम्झौता भएको, उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको र नेपाल सरकारको डिजिटल नेपाल भिजनका लक्ष्य हासिल गर्न योगदान पुर्‍याउनेसम्म उल्लेख गरेको छ ।

तर, सोही विज्ञप्तिमा ‘आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी) मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पिर्धीहरु मध्येबाट पहिलो भई छानिएको...’ उल्लेख छ । आजियाटाको शेयर किनेका भनिएका आचार्यले नै विज्ञप्तिमै कालोधन लुकाउने र कर छल्ने स्वर्ग मानिने सेन्ट किट्समा रहेको कम्पनीको शेयर किनेको लिखित रूपमै स्वीकारेका छन्‌ । पछिल्लो विज्ञप्तिमा उल्लेखित तथ्यले नेपालका नियामक निकायलाई एनसेलको शेयर बिक्री प्रकरणमा कर छलेको पुष्टि गर्न थप प्रमाण मिलेको छ ।

सेन्ट किट्स एण्ड नेभिस क्यारेबियन टापु राष्ट्र हो । अवैध सम्पत्ति लुकाउन सजिलो पर्ने र कर तिर्नु नपर्ने सहजताका कारण सम्पत्ति शुद्धीकरण मामिलामा यो टापु राष्ट्र संसारमै बदनाम छ । नेपालमा निकै अघिदेखि यो मुलुकबाट वैदेशिक लगानीका नाममा कर छलीको रकम भित्रिइरहेको छ भने प्रतिफल लैजाने नाममा त्यसरी नै नेपालबाट कालोधन बाहिरिने गरेको विभिन्न अनुसन्धान प्रतिवेदनहरूमा उल्लेख छ ।

नेपालको केन्द्रीय बैंकले यही असोजमा सार्वजनिक गरेको नयाँ सर्वेक्षण प्रतिवेदनमै क्यारेबियन टापु राष्ट्र सेन्ट किट्स एण्ड नेभिसबाट दुई वर्षमै २९ अर्ब ६० करोड रुपैयाँ बराबर एफडीआइ भित्रिएको उल्लेख छ । प्रतिवेदन अनुसार वि.सं. २०७८ असार मसान्तसम्म (एक वर्षभित्र) सेन्ट किट्स एण्ड नेभिसका कम्पनीहरूमार्फत नेपालमा १५ अर्ब ५१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी आएको थियो ।

त्यसपछिको एक वर्ष अवधि अर्थात् २०७९ असारसम्म सो मुलुकबाट थप १५ अर्ब ९ करोड रुपैयाँ रकम एफडीआइको नाममा आएको नेपालको केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

विदेशबाट अवैध र शंकास्पद सम्पत्ति केन्द्रित गरी छद्म कम्पनीमार्फत सम्पत्ति चोख्याएर एफडीआइका नाममा सोही देशमा फिर्ता गर्ने मामिलामा सेन्ट किट्स एण्ड नेभिस लगायत झण्डै दर्जन मुलुक बदनाम छन्‌ । त्यसैले यी देशलाई अकुत सम्पत्ति लुकाउने स्वर्ग अर्थात्‌ ‘ट्याक्स हेभन’ भनिन्छ ।

स्रोत नखुलेको अवैध धन सजिलै लुकाउन सकिने तथा कर पनि तिर्नु नपर्ने कारणले यी देशमा कागजी कम्पनी खोलेर त्यही कम्पनीबाट सम्बन्धित देशमा रकम फिर्ता हुने गरेको अनुसन्धान प्रतिवेदनहरूमा उल्लेख छ ।

आचार्यले सेन्ट किट्स एण्ड नेभिसमा आजियाटाको शेयर रहेको कम्पनी रेनोल्ड होल्डिङ्सको शेयर किन्ने रकम कसरी त्यहाँ पुर्‍याए ? सो रकमको स्रोत के हो ? केही महिना अघिमात्रै खोलिएको भनिएको स्पेक्ट्रलाइट यूके लिमिटेडले यत्ति चाँडै कसरी डेढ खर्ब रुपैयाँभन्दा बढी मूल्य अनुमान गरिएको एनसेलको ८० प्रतिशत शेयर खरिदबिक्रीमा संलग्न हुन सक्यो ? सो कम्पनीमा अकुत सम्पत्ति आर्जन गरेका नेता र व्यापारीहरूको रकम परिचालन भएको हो या होइन भन्नेबारे पछिल्लो विज्ञप्तिले ढोका खोलेको छ ।

मलेसियाली बहुराष्ट्रिय लगानी कम्पनी आजियाटा बहार्ड ८० प्रतिशत शेयर बेचेर बाहिरिएपछि बल्ल शेयर खरिदबिक्री क्रममा भएका हुनसक्ने अनियमितता र कानूनी अपरिपालनाबारे नेपालका संसदीय समितिहरूमा छलफल शुरु भैसकेको छ ।

अजियाटा वि.सं. २०७२ चैत २९ गते रेनोल्ड्स होल्डिङमा रहेको युरोपेली कम्पनी टेलियाको ८० प्रतिशत शेयर १ खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरी एनसेलमा प्रवेश गरेको थियो । त्यतिखेर नेपालको दूरसञ्‍चार प्राधिकरण र कर नियामकलाई जानकारी नै नदिई शेयर किनबेच गरी ५७ अर्ब ९० करोड पूँजीगत लाभकर छली गरेको थाहा भएको थियो ।

नेपालको अदालतले लाभकर बापतको रकम तिर्नुपर्ने फैसला गरेपछि आजियाटा अन्तरराष्ट्रिय मध्यस्थकर्ताकहाँ गएको थियो । मध्यस्थकर्ताले समेत लाभकर तिर्नुपर्ने फैसला गरेपछि आजियाटाले कर तिरेको थियो ।

पछिल्लोपटक आजियाटाले आफूसँग रहेको सबै शेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बेचेको हो । यसरी विदेशी कम्पनीलाई शेयर बेच्दा नेपालको कानूनी प्रकृया पालना गरे/नगरेको र कर छली भए/नभएकोबारे नियमनकारी निकायका अधिकारीहरू झण्डै एक सातासम्म मौनप्रायः देखिएका थिए । तर, नागरिक तहबाट चर्को खबरदारी भएपछि प्रधानमन्त्री कार्यालयदेखि दूरसञ्‍चार नियामक र संसदीय समितिहरू यतिखेर यस मामिलामा छानबिन गर्न सक्रिय भएजस्तो देखिएका छन्‌ ।

आजियाटाले एनसेलको आफूसँग रहेको ८० प्रतिशत शेयर हिस्सा ५० मिलियन डलर (६ अर्ब ६५ करोड रुपैयाँ) मा बेचेको भन्दै प्रचार गरे पनि वास्तवमा ५०० मिलियन डलर (६६ अर्ब ५० करोड रुपैयाँ) बराबर लेनदेन भएको स्रोतहरूले बताएका छन्‌ ।

एनसेलको विज्ञप्ति :