शीर्षकहरू

फोहोरलाई मोहरमा बदल्ने कला भएपनि पुँजी अभावले खुम्चिएको सिटौलाको सिप

फोहोरलाई मोहरमा बदल्ने कला भएपनि पुँजी अभावले खुम्चिएको सिटौलाको सिप

नुवाकोटको पञ्चकन्या गाउँपालिकाका रमेश प्रसाद सिटौला उद्यमी बन्न लामो समयदेखि सङ्घर्षरत छन् । देश विदेशमा पुर्‍याउन सकिने सिप, क्षमता र कला हुँदाहुँदै पनि त्यो सम्भावना अहिले एउटा कोठामा सीमित छ ।

नेपालमै बसेर ठूलो उद्योग सञ्चालन गरौँ र धेरै महिलाहरूलाई रोजगारी दिऊँ भन्ने हुटहुटी उनको मनमा छ । तर, चार वर्ष अघि सुरु गरेको कामलाई उनले पुँजीको अभावमा आफ्नो कोठाबाट बाहिर निकाल्न सकेका छैनन् ।

उनीसँग कला छ तर ठूलो मात्रामा लगानी गरेर व्यवसायलाई विस्तार गर्न सक्ने आर्थिक क्षमता भने छैन । ‘मसँग कला छ, विभिन्न वस्तु तथा सामानहरू बनाउन सक्छु । यसको बजार पनि छ । तर ठूलो मात्रामा लगानी गरेर उद्योग सञ्चालन गर्न आवश्यक पुँजी भने छैन’, उनले विवशता पोखे ।

आफू निम्न वर्गीय परिवारको व्यक्ति रहेको बताउँदै उनले अगाडी भने, ‘मसँग पैसा छैन । लगानी गरे उद्योग खोल्न सक्दिन । म आफू निम्न परिवारको मानिस हो । साथ सहयोग हुने हो भने मैले केही गरेर देखाउँछु ।’

सानोदेखिको रहर

सानैदेखि आफै उत्पादक बनेर बस्तु बिक्रि गर्ने उनको रुचि रहेको थियो । ‘म सानैदेखि केही आफैँ बनाउन पाए हुन्थ्यो भन्ने रहर भएको मान्छे । यहि रहरले सहर पसे । काठमाडौंमा आएर दुख गर्दै छु जुन हालसम्म पनि जारी नै छ’, उनले भने ।  

उनले सजावटका सामान बनाउनका लागि कहीँ कतै सिप सिक्नु परेन । ‘मैले यी सामानहरू बनाउनका लागि कहीँ कहीँ गएर सिप नै सिक्नु परेन । म केही चिज हेर्छु अनि त्यसलाई कसरी आफ्नो डिजाइन बनाउने सोच्छु । त्यही सोचेअनुसार बनाउँछु’, उनले भने । 

विगत ४० वर्षदेखि उनी काठमाडौंमा बस्दै आएका छन् । काठमाडौं आएर सुरुवाती समयमा उनले चियाको मसलाहरू बनाएर बेच्ने गरे । त्यसमा उनी सफल हुन सकेनन् । सोच अनुसार बजार पाएनन् । त्यसलाई फेरि उनले छोडे ।

पछि उनले काठ, कागज, कार्टुनहरूको मन्दिर बनाउने काम गरे । त्यो काम पनि उनले लामो समयसम्म गरेनन् । किनकि सोचे जस्तो व्यापार भएन । पछिल्लो चार/पाँच वर्ष यता भने उनले विभिन्न प्रकारका सजावटका सामानहरू बनाउने गरेका छन् । आयातित सजावटका सामानहरूलाई रोक्नु पर्छ भन्ने सोचका साथ आफूले यो व्यवसाय थालेको उनी बताउँछन् ।

सिटौलाले सिपमूलक तालिम समेत दिने गरेका छन् । नयाँ घरहरूको वालमा उनले विभिन्न प्रकारका डिजाइनहरूको वाल पेन्टिङ समेत गर्ने गरेका छन् । ‘डेकोरेशन आर्ट’ समेत गर्ने गरेका छन् । यसका साथै उनले काठमाडौंको धनेश्वर वरिपरिका केही महिलाहरूलाई समेत सजावटका सामानहरू बनाउन सिकाएर स्वरोजगार बनाएका छन् । कला भएकाहरूलाई सधैँ साथ दिने गरेको उनले बताए ।

फोहोरबाट सजावटका सामान

सजावटका सामान बनाउनका लागि उनले प्रयोग गर्ने कच्चा पदार्थ भने सबैजसो हामीले प्रयोग विहीन भनेर फालिएका वस्तुहरू नै छन् । उनले अण्डाको बोक्रा, फर्निचरका सामान बनाउँदा निस्किएको काठको धुलो, सल्लाको पात र फल, मकैको खोस्टा, बाबियाे, फालिएका प्लास्टिक रहेका छन् ।

यस्ता सामाग्री बनाउनका लागि उनी दिनमा १२ देखि १५ घण्टासम्म परिश्रम गर्छन् । प्लास्टिकजन्य फोहोर व्यवस्थापन प्रमुख चुनौती बनिरहेका बेला उनी भने त्यस्ता फोहोरहरूबाट नै विभिन्न आकृतिका सजावटका सामाग्रीहरू बनाउने गर्छन् । काम नलाग्ने भनेर फालिएका चिजहरूलाई बटुलेर व्यवसाय नै गर्न सकिने उनको भनाई छ ।

उनी बाहिर फालिएका प्लास्टिकहरू टिपेर घरमा लैजाने गर्छन् । त्यसलाई धोएर आवश्यकता अनुसार विभिन्न सामानहरू बनाउने गरेका छन् । यसले फोहोर व्यवस्थापन हुने र आम्दानी पनि गर्न सकिने उनको भनाई छ ।

‘फालेको प्लास्टिकलाई हामीले पुनः प्रयोग गरेर आकर्षक सजावटका सामानहरू बनाउन सकिन्छ । हामी काम लाग्दैन भन्दै फाल्छौँ । तर त्यसलाई नै फेरि प्रयोग गरेर बनाउने हो भने आम्दानी पनि गर्न सकिन्छ’, उनले भने ।

आयातित भन्दा सस्तो र राम्रो

उनले उत्पादन गरेको जस्तै सजावटका सामानहरू धेरैजसो आयात हुने गरेको छ । नेपालको मागलाई धान्न सक्ने गरी नेपालमै उत्पादन गर्न सक्ने हो भने नेपाली पैसा बाहिरिनबाट रोक्न सकिने उनको भनाई छ । 

उनका अनुसार आयातित सजावटको सामान भन्दा नेपालमै उत्पादन गरेको त्यस्तै प्रकारको सामानमा मूल्य ५० प्रतिशत सस्तो हुन्छ । नेपाली उत्पादन सस्तोसङै बलियो पनि रहेको उनले बताए । आफूले बनाएका सजावटका सामानहरू लामो समयसम्म टिक्ने उनको दाबी रहेको छ ।

सजावटका सामानहरू नेपालमै उत्पादन गर्ने हो भने उपभोक्तालाई पनि मूल्य सस्तो पर्न जाने उनले बताए । सिटौलाले भने, ‘यो हाम्रो गाउँघरमै उत्पादन गर्न सकिन्छ । यसको कच्चा पदार्थ पनि धेरैजसो गाउँघरमै पाइन्छ । बाहिरबाट आयात गरियो भने महँगो पर्न जान्छ, यसलाई यहि बनाइयो भने सस्तो पर्छ ।’

‘मेड इन नेपाल’ भनेर सजावटका सामानहरू उत्पादन गर्ने हो भने राम्रो बजार रहेको उनको अनुभव छ । ‘नेपालमै बनेको भन्यो भने कतिपयले नाक खुम्च्याउने पनि गर्छन् । तर गुणस्तरीय सामानहरू बनाउने हो भने त्यस्ता उपभोक्ताको मन जित्न सकिन्छ’, उनले भने ।

आफूले बनाएका सामानहरू बाहिरको भन्दा सस्तो अनि राम्रो पनि रहेको बताए । उनले भने, ‘मैले बनाएका जति सामानहरू छन् ती राम्रो र सस्तो पनि छ । ढुक्कले प्रयोग गर्न सकिन्छ र जति जनाले लैजानु भएको छ उहाँहरूले राम्रो भनेर नै प्रतिक्रिया दिनु भएको छ’, उनले भने ।

छैन बजारको दुख

उनले बनाएका सजावटका सामानहरूको बजारमा उच्च माग छ । तर, उनले माग अनुसार आपूर्ति गर्न सकिरहेका छैनन् । माग अनुसार आपूर्ति गर्नका लागि उनले उद्योग नै दर्ता गरेर सञ्चालन गर्नु पर्ने आवश्यकता महसुस गरेको बताए ।

सिटौलाले भने, ‘म सामानहरू बनाउन सक्ने भएँ । यहि कामको लागि अरूलाई रोजगारी दिन सक्ने पनि भएको छु । अब उद्योग नै दर्ता गरेर विभिन्न गाउँमा समेत रोजगारी दिन सकिने सम्भावना छ ।’

उनको सोच अनुसार उद्योग दर्ता गरेर सञ्चालन गर्नका लागि करिब १० लाख भएपनि पुग्छ । त्यो लगानी गर्ने उनको क्षमता छैन । ‘घरेलु उद्योगकै रुपमा दर्ता गरेर सञ्चालन गर्न सके भने पनि राम्रो हुन्छ भन्ने लागेको छ । तर, यसका लागि मसँग बजेट अभाव रहेको छ । सरकारले सहयोग गरिदिने हो भने मैले धेरैलाई रोजगारी दिन सक्छु’, उनले भने ।

उनी आर्थिक अभावका कारण सोचे अनुसार काम गर्न नसकिरहेको बताउँछन् । हाल उनी १० वटा सामान बनाएर पाँच वटा बिक्री गर्दा भएको आम्दानीले परिवारको गुजारा चलाइरहेका छन् । बाँकी पाँच वटाको बिक्रीबाट आएको रकम थप १० वटा उत्पादनमा लगानी गर्छन्। जसका कारण व्यवसाय विस्तारको सपना अधुरै रहेको छ ।

उनले बनाएका केही सामानहरू जाउला खेल, महाबौद्ध र गौ शलाका पसलेहरूले बिक्रीका लागि राखिदिने समेत गरेका छन् । ती सामानहरू सबैजसो बिक्री हुने गरेको छ । बिक्री राम्रो भए पनि ठूलो मात्रामा उत्पादन गर्न भने नसकेको उनले गुनासो गरे । 

‘चार/पाँच वर्षदेखि यस्ता सामाग्रीहरू बनाउँदै आएको छु । मैले जति बनाएको छु त्यो सबैजसो बिक्री भएको नै छ । माग राम्रो छ । व्यापकरुपमा उत्पादन गर्ने हो भने यसको बजार राम्रो छ । अहिले मेरो चाहाना यसलाई देशव्यापीरुपमा उत्पादन गरेर ठूलो भोलुममा ल्याउनु पर्छ भन्ने हो’ उनले भने । 

सजिलै हुनसक्छ आयात विस्थापन

सजावटका सामानहरू बनाउनका लागि घर बाहिर जानै पर्दैन । घरायसी कच्चा पदार्थबाट नै बनाउन सकिन्छ । हरेक पालिकाहरूले सहयोग गर्ने हो भने हस्तकलाको उद्योग सञ्चालन गरेर गाउँ गाउँमा सिप सिकाएर यस्ता सामानहरू उत्पादन गर्न सकिने उनको जिकिर छ ।

‘म एक जनाले १२ घण्टा खटेर बनाए पनि धेरै बनाउन सकिँदैन । यसले त मेरो दैनिक जीवन चलाउनका लागि मात्र पुग्छ । दुई हजारको सामान लगेर बिक्री गरे भने चामल, दाल, चिनी, चिया पत्ति किनेर ल्याउँछु’, उनले अगाडी भने, ‘यो भन्दा अगाडी बढ्नका लागि त मलाई टिम चाहिन्छ । त्यो टिम बनाउनका लागि पालिकाहरूले सहयोग गरे भने सम्भव छ ।’ 

कसैले सहयोग गर्ने हो भने तत्काल उद्योग दर्ता गरेर आयातित सघावटका सामानहरूको बजार विस्थापन गर्न सकिने उनको भनाई छ । ‘उद्योग दर्ता गरेर देशव्यापीरुपमा सुरु गर्ने हो भने आयातित सजावटका सामानहरूलाई विस्थापित गरेर नेपाली उत्पादनले बजार लिन्छ’ सिटौलाले भने ।