शीर्षकहरू

भक्तपुरका कुमालेको पीडा: `माटो नपाएर पेसा छोड्नु पर्ने बाध्यता आयो´

भक्तपुरका कुमालेको पीडा: `माटो नपाएर पेसा छोड्नु पर्ने बाध्यता आयो´

काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुर पोटरी स्क्वायरका विवेक प्रजापतिको व्यस्तता निकै बढेको छ । दीपावलीमा बत्ती बाल्ने माटोका पाला बनाउन अहिले उनलाई चटारो छ।   

तिहार आउन केही दिन मात्रै बाँकी रहँदा प्रजापतिलाई माटोको पाला बनाउन भ्याईनभ्याई छ । लामो समयदेखि  माटोका भाडा बनाउँदै आएका उनी तिहार नजिकिएसँगै विशेषगरि पालाको माग बढेको बताउँछन् । प्रजापति भन्छन्, ‘तिहारमा धेरै बिक्री हुने भनेको पाला नै हो । अहिले अरू माटोका भाडा खासै त्यति जाँदैन । पाला किन्ने मानिसहरू आइरहेका छन् । अहिले व्यापार राम्रो छ ।’

तिहारमा दीपावली गरि घर–आँगन झिलिमिली बनाउन परम्परागत रूपमा माटाका पालामा बत्ती बाल्ने गरिन्छ । यसले गर्दा तिहारमा माटोको पालाहरूको खपत निकै हुन्छ । दियो बाल्न पालाको अत्यधिक माग हुने भएकाले यसको व्यापार निकै राम्रो हुने गरेको छ ।  

तिहारलाई लक्षित गरेर उनी अहिले विशेषगरि ठूला साइजका पाला बनाइरहेका छन् । जसको मूल्य उनले होलसेलहरूलाई १३ रुपैयाँ र रिटेलहरूलाई १५ रुपैयाँ निर्धारण गरेका छन् ।     

माटोका विभिन्न आकृति बनाउनका लागि उनले कहीँ कतै गएर सिप सिक्नु परेन । यो उनको पारिवारिक र पुर्खौली पेसा हो ।

माटोका भाडा बनाउने काममा उनको परिवार नै संलग्न छ  । माटोका भाडा बनाएर नै उनको परिवारको गुजारा चलेको छ । ‘राम्रै आम्दानी छ भन्नु पर्छ । खान लाउन यहि कामबाट पुगिरहेकै छ । धेरै नाफा हुने भन्ने चाही छैन । बचत गर्न पुग्दैन, परिवार धान्न मात्रै हुन्छ’, उनले भने ।   

प्रजापति बाह्रै महिना माटोको भाडा बनाउने गर्छन् । विशेषगरि उनले माटोको पाला, खुत्रुके, घोटै, धुपौरो, गमला लगायत सामाग्रीहरू बनाउँदै आएका छन् । यी सामाग्री बनाएर नै उनले आफूसहित तीन जनाको परिवार पालेका छन् ।

प्रजापति समुदायहरूलाई माटोका भाडा बनाउने माटोको समस्या हुने गरेको उनले सुनाए । उनले भने, ‘पहिलेजस्तो अहिले माटो नै छैन । माटोका भाडा बनाउनेहरूलाई राम्रो भविष्य छ । तर, माटोको समस्याले गर्दा केही गाह्रो पार्ने गर्छ ।’

उनीहरूले अहिले मुलपानीबाट माटो किनेर लाएर भाँडाकुँडा  बनाउने गरेका छन् । उनी भन्छन्, ‘भक्तपुरमै माटो छ तर लिन दिँदैनन् । अन्य ठाउँबाट पनि सहजपुरमा हामीले माटो पाइरहेका छैनौँ ।’

सरकारले माटोका भाडा बनाउनेहरूको जगेर्ना गर्नु पर्ने उनको माग रहेको छ । अहिलेसम्म सरकारले आफूहरूको लागि केही नगरेको गुनासो गर्दै उनी भन्छन्, ‘भक्तपुरमा यति राम्रो कला भएका मानिसहरू छन् । माटोका सामान बनाउने मात्रै होइन काठको काम गर्नेहरू पनि छन् । यो क्षेत्रमा लाग्नेहरू बिस्तारै कम हुँदै गएका छन् । उनीहरूको संरक्षण सरकारले गर्नु पर्छ ।’

विद्युतीय बत्तीका कारण माटोका व्यापारमा कत्तिको असर परेको छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘ठिकै छ । राम्रै व्यापार भइरहेको छ । विद्युतीय बत्तीहरू आए पनि पुर्खादेखि चली आएको यो माटोको पाला प्रयोग गर्नेहरू पनि धेरै छन् । यसले गर्दा हाम्रो व्यापारमा त्यस्तो असर गरेको छैन ।’

सोही ठाउँकी मन्दिर अवालको पनि व्यस्तता बढेको छ । उनी परिवारको अन्य सदस्यहरूले बनाएका माटोका भाडा पोल्ने, सुकाउने र गणना गरेर बिक्रीका लागि पठाउने गर्छिन् । 

आगोमा पोलेका पाला गणना गर्दै गरेकी उनले अहिले पाला र कलशहरू बिक्री भइरहेको सुनाइन् । तर, बनाउनका लागि माटोको समस्या रहेको उनको पनि गुनासो छ । ‘पहिले माटो ल्याउने ठाउँमा सबै प्लटिङ गरेर घर बनेका छन् । अन्य ठाउँमा भएको माटो पनि सहजपुरमा पाइँदैन’, उनले गुनासो गरिन् ।

त्यस्तै, सोही ठाउँका दिनेश प्रजापति अहिले विशेषगरि माटोका पाला, धुपौरो र कलश बनाइरहेका छन् । यी सबैभन्दा बढी बिक्री हुने भएकोले यस्ता सामानहरू बनाउन केन्द्रित रहेको उनले सुनाए ।

एउटा सानो पाला बनाउनका लागि कम्तीमा ८० पैसा लागत पर्छ । उनले एक रुपैयाँमा होलसेल व्यापारीलाई बिक्री गर्ने गरेका छन् । सहजपुरमा माटो नपाउँदा र महँगोमा किन्नु पर्ने बाध्यता भएका कारण अहिले माटोका भाडाको लागतसँगै मूल्य पनि बढेको उनले जानकारी दिए ।

‘माटोका व्यापार खस्किँदै गइरहेको छ । पहिलेको जस्तो छैन । यसमा लाग्नेहरू पनि पलायन हुँदै गएका छन् । माटो नै नपाएर यो व्यवसाय समस्यामा परेको हो । माटो पाउने जग्गामा सबै घर बनेका छन्’, उनले भने । 

माटोको व्यवस्था गरि पाउँ भन्दै उनीहरू बारम्बार नगरपालिकाको कार्यालय धाउने गर्छन् । तर, नगरपालिकाले भने कुनै चासो दिएको छैन । ‘तपाईँहरूको  पेसा हो तपाइहरूँ मिलाएर गर्नु । अर्काको जग्गाको माटो हामीले भनिदिएर हुँदैन भन्ने गर्छ नगरपालिका’, उनले सुनाए ।

माटो निकाल्नका लागि नगरपालिका अनुमति दिनु पर्ने उनको माग रहेको छ । उनी भन्छन्, ‘हामीलाई माटो नै निकाल्न दिँदैन । नगरपालिकाले भाँडा बनाउने माटो भएको ठाउँमा उत्खननको लागि अनुमति दिनु पर्छ भन्ने हाम्रो माग हो ।’