शीर्षकहरू

जाजरकोट भूकम्पले पुर्‍याएको क्षति विवरण संकलन शुरु

जाजरकोट भूकम्पले पुर्‍याएको क्षति विवरण संकलन शुरु

काठमाडौं । सरकारले जाजरकोट भूकम्पबाट पुगेको क्षति विवरण संकलन थालेको छ । राष्ट्रिय योजना आयोगमार्फत्‌ सरकारले क्षतिको विवरण संकलन गर्न कार्यसमूह (एक्सन टीम) परिचालन गरेको हो ।

शुक्रबार मध्यरातमा जाजरकोटको रामिडाँडा आसपास केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा जाजरकोट, रुकुमपश्चिम र आसपासका जिल्लामा गरी हालसम्म कम्तिमा १५७ जनाको ज्यान गएको छ । ३५७ घाइतको उद्दार गरिएको छ । भूकम्पप्रभावित क्षेत्रमै हालसम्म २५० भन्दा बढी परकम्प गइसकेको छ ।

कमजोर परम्परागत संरचना र तारन्तारको परकम्पका कारण प्रभावित क्षेत्रमा संरचनाको क्षति बढिरहेको छ । कम्तिमा १२ जिल्लामा घरगोठ र आवासीय संरचनामा क्षति पुगेको खबर छ ।

वि.सं. २०७२ मा गएको गोरखा भूकम्पपछि पनि राष्ट्रिय योजना आयोगले नै पोस्ट डिजास्टर निड एसेस्मेन्ट तयार गरी सरकारलाई क्षति र पुनःनिर्माण लागतको अनुमान पेश गरेको थियो । सोही आधारमा सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गठन गरी गोरखा भूकम्पपीडितलाई संरचना बनाउन सहयोग गरेको थियो ।

जाजरकोट भूकम्पमा भएको क्षतिबारे शनिबारदेखि नै स्थानीय तहसँग समन्वय गरी विवरण संकलन थालिएको आयोगका अधिकारीहरूले जानकारी दिएका हुन्‌ ।