शीर्षकहरू

‘हाम्रो लगानी उठेन भने लघुवित्त मात्र होइन, वित्तीय प्रणाली नै खतरामा पर्छ’

‘हाम्रो लगानी उठेन भने लघुवित्त मात्र होइन, वित्तीय प्रणाली नै खतरामा पर्छ’

बितेका एक वर्ष नेपालका सञ्चारमाध्यमहरूमा लघुवित्तहरू लगातार समाचारमा छाइरहे । पीडितको आन्दोलनदेखि सम्झौतासम्मका चर्चा परिचर्चाले लघुवित्तहरूको बजारदेखि साखसम्ममा ठूलो क्षति पुर्‍यायो । तथापि यसको अपरिहार्यता र ग्रामीण अर्थतन्त्रमा लघुवित्तले पुर्‍याएको योगदानको चर्चा समेत सँगसँगै हुँदै आएको छ । यहि पृष्ठभूमिमा नेपाल लघुवित्त बैंकर्स सङ्घका महासचिव तथा नेशनल माइक्रो फाइनान्स वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामबहादुर यादवसँग आर्थिकन्युज डटकमकी संवाददाता रिता राउतले कुराकानी गरेकी छिन् । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश:    

पछिल्लो समय लघुवित्तप्रति बजारमा विभिन्न टीकाटिप्पणीहरू भइरहेका छन् । संस्था नै खारेज गर्नेसम्मका चर्चा चलेका छन् । यसलाई कसरी लिनुभएको छ ?

पछिल्लो केही समययता लघुवित्त संस्थाप्रति नकारात्मक तरिकाले भ्रम फैलाउने गरी गतिविधि भएका छन् । लघुवित्तका समस्या जसरी सडकमा ल्याइएको छ : यसो गर्न केही ग्रुपहरू लागेका छन् । उनीहरूले आफ्नो स्वार्थका लागि अन्यलाई परिचालन गरेको अवस्था छ ।

देशभर ६० लाख घरधुरीमा लघुवित्त संस्था पुगेको छ । यो संख्या भनेको चानचुने होइन । यो संख्यालाई भड्काउन खोजिएको छ । हामीले भनिरहेका नै छौँ कि लघुवित्त संस्था र ऋणीबीच भएका समस्या हामी नै बसेर समाधान गर्न सक्छौँ। बसेर समाधान गर्न सकिने समस्याहरूलाई राजनीतिकरण गरिएको छ ।

ग्रामीण ठाउँमा पुगेर काम गरिरहेको लघुवित्तविरुद्ध नकारात्मक प्रचार गर्नु भनेको मुलुकको ग्रामीण अर्थतन्त्रलाई तहसनहस पार्नु नै हो । यसले मुलुकलाई बर्बादीतर्फ धकेल्छ । लघुवित्त समस्यामा आए भने यो संस्था मात्रै समस्यामा पर्दैन, योसँग जोडिएका सबै च्यानलहरू समस्यामा पर्छन् ।

लघुवित्तहरूले ल्याउने पैसा वाणिज्य बैंकहरूबाट नै आएको हुन्छ ।  त्यसबाहेक लघुवित्तका सदस्यहरूबाट नै आएको पैसा हुन्छ । उनीहरूले पैसा नै तिर्दिनँ भन्ने हो भने त्यसको असर कसलाई पर्छ भन्ने कुरा पनि बुझ्नुपर्छ । केही संस्थाहरू र ऋणीहरूमा समस्या पक्कै आएको हो । तर, यी समस्या हामीबीच बसेर समाधान गर्न सकिन्छ, कुनै स्वार्थ समूहको पछि लाग्नुपर्दैन । 

लघुवित्त संस्थाले धेरै ब्याज लिन्छ भनेर अफवाह फैलाइएको छ । त्यस्तो हुँदै होइन । १५ प्रतिशत भन्दा माथि ब्याज लिनै पाउँदैन । सर्भिस चार्ज डेढ प्रतिशतभन्दा माथि जानै पाउँदैन । 

लघुवित्तविरुद्ध अफवाह फैलाउनेहरू धेरैजसो लघुवित्तका ग्राहक नै होइनन्। न उनीहरूले कर्जा लिएका छन्, न त उनीहरू लघुवित्तको सदस्य नै बनेका छन् । त्यस्ता व्यक्तिहरू अगाडी आएर लघुवित्तविरुद्ध अफवाह फैलाइ रहेका छन्।  

वित्तीय संस्थाहरूप्रति आम ऋणीहरूको विश्वास घट्दो छ, यसले भोलिका दिनमा यहाँहरूलाई पनि समस्या पार्ला, यसबारे लघुवित्त संस्थाहरूको योजना के छ ?

भ्रम फैलाउने कुराहरू लामो समयसम्म टिक्दैन । ऋण मिनाहा गर्नुपर्छ भन्दै कराउनेहरू ऋण मिनाहा सम्भव छैन भन्ने बुझेर अहिले ऋण तिरिरहेका छन् । कसैको बहकाउमा लागेर सडकमा आन्दोलन गर्न आएकाहरू विस्तारै सकारात्मक भएको अवस्था छ ।

लघुवित्तबारे सरकारले वार्ता कमिटी गठन गरेको छ । तर, काम सुस्त भइरहेको छ । हामीले यो वार्ता कमिटीसँग वार्ता चाडै गरेर समस्या समाधान गर्नुपर्छ भनिरहेका छौँ ।

वार्ता ढिलो हुँदा संघर्ष समितिहरूले ऋण मिनाहा हुन्छ तिर्नुपर्दैन, हाम्रो वार्ता सकारात्मक भइरहेको छ भनेर अफवाह फैलाइरहेको अवस्था छ । जति ढिलो वार्ता भयो उति भ्रम फैलिन सक्छ । संघर्ष समितिले गाउँ-गाउँमा ऋण तिर्नु पर्दैन हामीले सरकारसँग वार्ता गरिरहेका छौँ भनेर हल्ला फैलाइरहेका छन् । यसले गर्दा राम्रा ऋणीहरूमा समेत असर पर्नसक्छ । त्यस कारण सरकारले छिटो वार्ता गरेर निष्कर्ष निकाल्नुपर्छ ।

यता हामी लघुवित्त संस्थाहरूले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेका छौँ । कर्मचारीहरूलाई व्यवहार, आचरणदेखि ग्राहकसँग गर्नुपर्ने कुराहरूबारे हामीले तालिम दिइरहेका छौँ । हाम्रो तर्फबाट सुधार गर्नुपर्ने पक्षहरू सुधार गरिरहेका छौँ । 

वित्तीय संस्थाहरूबीच अस्वस्थ प्रतिस्पर्धा भएका कारणले समस्या देखिएको त होइन ?

हो, लघुवित्त संस्थाहरूको संख्या धेरै भएको थियो । धेरै संख्या भएका कारण अस्वस्थ प्रतिस्पर्धा पनि भएको हो । सुरुवातमा लघुवित्तहरूमा डिमान्ड र सप्लाइको ख्याल भएन । त्यति बेला मुलुकमा वित्तीय पहुँच कमजोर अवस्थामा रहेको थियो ।

लघुवित्तका संख्या थपिँदै गर्दा शाखाहरू विस्तार गर्ने कुरामा कसिलो नीति बनाउनुपर्ने थियो । त्यसो नहुँदा लघुवित्तहरूले आफ्नो मन खुसी गरे । धेरै संस्थाहरू एक ठाउँमा गए । सबैलाई बिजनेस चाहियो, यसले गर्दा संस्थाहरूबीच अस्वस्थ प्रतिस्पर्धा भएको हो ।

सबै संस्थाहरूबाट नीति नियम पालना नगरिएको होइन । केही संस्थाहरूले मात्रै यस्तो पालना नगरेका थिए । अर्को कुरा, कर्जा सूचना केन्द्र पनि जागरूक थिएन । यसले गर्दा पनि समस्या आएको थियो । ऋणीहरूले पनि आफ्नो क्षमता नहेरी ऋण लिए र लिएको कतिपय ऋण अन्य ठाउँमा नै खर्च गरे। यसो हुँदा पनि समस्या आएको हो ।

यता ऋण तिदैनौँ नै भरेर अभियान चलाइरहेका छन् । यसले लघुवित्त संस्थाहरूलाई कस्तो असर पारेको छ ?

हामीले सबै ऋण खराब छन् भन्न मिल्दैन । सबैले ऋण तिर्दैनौँ भनेका छैनन्। आन्दोलनमा लागेका र नलागेका ग्राहक कति छन् भनेर हेर्नु पर्छ । लाखौँ सदस्यहरूमध्ये पाँच हजार पनि छैनन् लघुवित्तविरुद्ध लाग्नेहरू । उनीहरूलाई पनि अरू कसैले नै चलाइरहेका छन् ।

अधिकांश लघुवित्तका सदस्याहरू राम्रा छन् । उनीहरूले लघुवित्तबाट लिएको ऋण अहिले पनि तिरिरहेको अवस्था छ । उनीहरूले लघुवित्तको विकल्प नै छैन भनिरहेका छन् । सडकमा एक हजार पाँच सय मानिस आउने बित्तिकै सबै ऋणीलाई असर पार्न हुँदैन ।

केही समूहहरूले लघुवित्त नकारात्मक चर्चा चलाएका कारण अहिले लघुवित्तहरूले लगानी गर्न सकिरहेका छैनन् । लघुवित्तका कर्मचारीहरू सुरक्षित तरिकाले काम गर्न सकिरहेका छैनन् । सुरक्षाको विषयमा धेरै नै चुनौती बनेको छ । 

वित्तीय संस्थाहरूबाट ऋण लिइसकेपछि त्यो पैसा तिर्नु नै पर्छ । लिएको ऋण तिर्दिन भनेर भनिराख्नेहरूले एक पटक सोच्नु पर्छ । लघुवित्तहरूले कहाँबाट पैसा ल्याएर ऋण दिएको हो ? त्यो पैसा आम पब्लिकको नै हो नि त । अरूको बचतको पैसा आफूले ऋण लिएपछि तिर्दिन भन्दा ती पैसा राख्नेहरूलाई कस्तो असर पर्छ सोच्नु पर्दैन ? 

सुरक्षा समस्याका कारण कर्मचारीहरूमा मनोबल घटेको छ । राम्रोसँग लगानी गर्न समस्या रहेको छ । काम गर्ने वातावरण राम्रो छैन । सहजरूपमा संस्थाले काम गर्न सकिरहेको छैन भने यता राम्रा ग्राहकहरूलाई समेत नराम्राको असर परिरहेका छौँ ।  खराब मान्छेका कारण राम्रा ऋणीहरू दबाबमा परेर विश्वास घट्दो छ ।

लघुवित्तहरूले बिनो धितो लगानी गर्ने गरेका छन् । यसरी लगानी गर्दा जोखिम कतिको हुन्छ ? यसको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?

लघुवित्त ग्रामीण अर्थतन्त्रको लागि मेरुदण्ड भएको संस्था हो । जसले चार खर्ब ३२ अर्ब रुपैयाँ बिना धितो लगानी गरेको छ । यो पैसा भनेको थोरै होइन । लघुवित्तहरू हाई रिस्कमा काम गरिरहेका छन् ।

नागरिकताको फोटोकपीबाहेक अरू केही छैन । गाउँ गाउँमा गएर सेवा दिने हामी लघुवित्तहरू असाध्यै जोखिममा छौँ । चुनौती धेरै भए पनि हामीले सेवा दिन पाएकोमा खुसी छौँ ।

हाम्रो ग्यारेन्टी भनेको ग्राहकको विश्वास नै हो । बिना धितो काम गर्न गाह्रो छ । तर, धितो भन्दा गरिब मानिसहरू इमानदार हुन्छन् भनेर बुझ्नु पर्छ । त्यसमा पनि महिलाहरू इमानदार हुन्छन् । पैसा लिएपछि तिर्छन् भनेर नै हामीले काम गरिरहेका छौँ ।

लघुवित्त संस्थाहरू पनि धितोमै ऋण प्रवाह गर्न भनेर सुरु गरे भने क, ख, ग वर्गका संस्थाहरू भन्दा के फरक भयो त ? उनीहरूको पहुँच नपुगेको ठाउँमा हामीले सेवा दिनु पर्छ भनेर हामी आएका हौँ । हामीलाई बिना धितो ऋण दिँदा जोखिम बढेको भन्दा पनि लिएको ऋण तिर्नु हुँदैन भनेर फैलाइरहेको अफवाह नै प्रमुख चुनौती हो ।

समस्याबारे धेरै चर्चा गर्‍यौ, यी समस्या समाधानका बाटो के हुन त ?

दूरदराजका गरीब नागरिक र महिलाहरूसँग काम गरिरहेको क्षेत्र लघुवित्त भनेको संवेदनशील क्षेत्र हो । यसलाई राम्रो बनाउनका लागि सरकारले पनि सोच्नुपर्छ । संस्थाको तर्फबाट गर्नुपर्ने कामहरू गर्न हामी तयार छौँ । भएका गल्तीहरू सुधार गरेर अगाडी बढ्न तयार छौँ ।

लघुवित्तको संख्या घटाउन र राम्रो बनाएर अगाडी बढ्नका लागि लघुवित्तहरू मर्जरमा गएका पनि छन् । यसले संस्था थप मजवुद बनेर अगाडी बढ्नेछ । यो आवश्यक पनि थियो । यसबाहेक अहिले जुन समस्या आएका छन् त्यसलाई समाधान गर्नका लागि सरकारले चाँडो काम गर्नुपर्छ ।