शीर्षकहरू

सन् २०२४ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहने प्रक्षेपण

सन् २०२४ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहने प्रक्षेपण

काठमाडौं । विश्व बैंकले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले सुधार हुने जनाएको छ । मंगलबार सार्वजनिक भएको ’नेपाल विकास अपडेट निर्यातको प्रतिस्पर्धात्मकता पुनर्स्थापना’मा यस्तो उल्लेख छ ।  

त्यस्तै, सन् २०२५ सम्ममा नेपालको अर्थतन्त्र ५ प्रतिशतले बढ्ने समेत अनुमान गरिएको छ । सन् २०२३ मा विश्व बैंकले १.९ प्रतिशतको वृद्धि हुने अनुमान गरेको थियो ।  पर्यटन आगमन, आयात प्रतिबन्धमा खुकुलो हुँदा आर्थिक् वृद्धिदरमा सुधार हुने उल्लेख गरिएको छ । 

अनियमित वर्षाका कारणले कृषि उपज उत्पादनको वृद्धिमा हुनसक्ने क्षति, भारतको निर्यात प्रतिबन्ध र उपभोग्य वस्तुमा पछिल्ला दिनमा आकासिएको मूल्यका  कारण हुनसक्ने मूल्यवृद्धि र उच्च मुद्रास्फीतिका कारण बढ्दै जाने नीतिगत दर, आन्तरिक ऋण व्यवस्थापन खर्च र वृद्धिमा हुनसक्ने ढिलासुस्तीलगायतका जोखिमहरू पनि विद्यमान रहेकोतर्फ प्रतिवेदनले ध्यानाकर्षण गराएको छ ।  

प्रतिवेदनले नेपालको बाह्य प्रतिस्पर्धात्मकता बढाउन सहयोगी हुनसक्ने विभिन्न पक्षको पनि खोजी गरेको छ । सन् २०२३ मा राष्ट्रको कुल गार्हस्थ्य उत्पादनको छ दशमलव नौ प्रतिशत मात्रै कूल निर्यात थियो । जुन दक्षिण एसियाका मध्यम आय भएका देशहरूको औसतको एक तिहाइ मात्रै हो । 

प्रतिवेदनमा नेपालको निर्यात न्यून हुनुमा विद्यमान न्यून श्रम उत्पादकत्व र विनिमय दरको अभिमूल्यन लगायत कारक रहेको उल्लेख छ । साथै, समकालीन देशहरू र मुख्य व्यापार साझेदार भारतको तुलनामा कृषि, उद्योग र सेवा तीनै क्षेत्रमा रहेको श्रम उत्पादकत्वको गिरावटबाट पनि नेपाल प्रभावित रहेको औंल्याइएको छ ।

नेपाल विकास प्रतिवेदन आजै सार्वजनिक भएको ‘दक्षिण एसिया विकास अपडेटस टुवार्ड फास्टर, क्लिनर ग्रोथ’को एक हिस्सा हो । जसले यस क्षेत्रको वृद्धिदर पाँच दशमलब आठ प्रतिशत हुने अनुमान गरेको छ । यो दर अन्य कुनै पनि विकासशील क्षेत्रको तुलनामा उच्च हो । तर सोही क्षेत्रको महामारीपूर्वको रफ्तार र विकास लक्ष्यहरू हासिल गर्न आवश्यकभन्दा भने कम हो ।

विश्व बैंकले भारतको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ भने पाकिस्तानको १.७ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस्तै, माल्दिभ्सको ५.६ प्रतिशत, बंगलादेशको ५.६ प्रतिशत, भुटानको ४.० प्रतिशत र श्रीलंकाको १.७ प्रतिशत रहने विशव बैंकले प्रक्षेपण गरेको छ ।