शीर्षकहरू

अमेरिकी अर्थतन्त्र संकुचनग्रस्त, वृद्धिदरमा चीनको फड्को

अमेरिकी अर्थतन्त्र संकुचनग्रस्त, वृद्धिदरमा चीनको फड्को

एजेन्सी । अमेरिकी अर्थतन्त्रले उत्पादन क्षेत्रको गिरावट रोक्न संघर्ष गरिरहँदा सन् २०२३ मा चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत कायम हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । कोरोना महामारी नियन्त्रण गर्न शून्य कोभिड नीति अपनाउँदा सन् २०२२ मा चीनको आर्थिक वृद्धि २.६६ प्रतिशतमै सीमित भएको थियो ।

अमेरिकाले भने अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र उत्पादनमा भइरहेको गिरवाट रोक्न प्रयास गरिरहेको छ । सेप्टेम्बरमा यस्तो गिरावट अघिल्ला महिनाहरूमा भन्दा कम त देखिएको छ, तर संकुचन यथावत्‌ छ । सन्‌ २०२३ यता नै पहिलोपटक सेप्टेम्बरमा उत्पादन क्षेत्रमा वृद्धि संकुचन केही घटेको हो ।

उत्पादन सूचकांक गत महिना अनुमान गरिएभन्दा राम्रो ४९ प्रतिशत पुगेको जनाइएको छ । यस्तो सूचकांक अगस्ट महिनामा ४७.६ प्रतिशत थियो । आपूर्ति व्यवस्थापन इन्स्टिच्युट (आइएसएम मार्केटवाच) ले यो सर्वेक्षण गरेको हो ।

आइएसएमका सर्वेक्षण प्रमुख टिमोथी फियोरले अमेरिकी उत्पादन क्षेत्रले सङ्कुचनको प्रवृत्तिलाई निरन्तरता दिएको, तर नोभेम्बर २०२२ पछि सेप्टेम्बरमा सुस्त दरमा घटेको देखिएका बताए । यद्यपि, सेप्टेम्बर सङ्कुचनको लगातार ११ औं महिना भएकाले अमेरिकी उत्पादन क्षेत्रमा चुनौति यथावत्‌ रहेको उनको भनाइ छ । 

अमेरिकी फेडरल रिजर्भ उच्च मुद्रास्फीतिको सामना गर्न गत वर्षको मार्चदेखि ब्याज दर वृद्धिको आक्रामक अभियानमा छ ।  यसले उपभोक्ताको मागमै असर गरेको छ ।

‘हाई फ्रिक्वेन्सी इकोनोमिक्स’ की प्रमुख अमेरिकी अर्थशास्त्री रुबेला फारुकीले ग्राहकहरूलाई लेखेको एक सन्देशमा उच्च ऋण लागत र कडा क्रेडिट अवस्थाका कारण उत्पादन क्षेत्रले जटिलताको सामना गर्नुपरेको लेखेकी छिन्‌ । तर, आपूर्ति सञ्जालको किनारा र घरेलु उत्पादन क्षमतामा लगानीले समयको साथ औदोगिक कारखाना गतिविधिलाई समर्थन प्रदान गर्न सक्ने उनको तर्क छ ।

यता, पश्चिमा बाहुल्यताको विश्व बैंकले नै सन्‌ २०२३ मा चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको हो । यो वृद्धिदर सन्‌ २०२२ को भन्दा २.४४ प्रतिशतले बढी हो ।

विश्व बैंकका पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका प्रमुख अर्थशास्त्री आदित्य मट्टूले चीनसँग उल्लेखनीय शक्ति रहेको र आधारभूत उत्पादनमा मात्र नभई नवीन उत्पादन आविस्कार गरिरहेकाले उत्पादनमा चीनको बृहंगम क्षमता देखिएको बताएका छन्‌ ।

चीनले छोटो अवधिमा कसरी विकासलाई गति दिन सकिन्छ भनेर मात्र नसोचेको, बरु सो भन्दा माथि उठेर विकासको राम्रो गुणस्तर सुनिश्चित गर्ने योजना बनाएको उनले उल्लेख गरे । उनले भने,‘चीनले कसरी विकास गर्ने भन्नेभन्दा पनि चीनले कति विकास गर्न लागेको छ भन्ने प्रश्न कम रोचक छैन ।’

अर्थशास्त्रीहरूको विश्लेषणअनुसार; यस वर्ष पूर्वी एसिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर अन्य सबै उदीयमान बजार र विकासशील अर्थतन्त्रको औसतभन्दा बढी छ ।

सन् २०२३ मा चीनको अर्थतन्त्र ५.१ प्रतिशतमा स्थिर रहने अनुमान गरिएको छ । तर सन् २०२३ को उत्तरार्द्धमा यसमा सामान्य कमी हुने र  सन् २०२४ मा ४.५ प्रतिशत रहने अनुमान प्रतिवेदनमा गरिएको  छ । 

विश्व बैंकका पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका उपाध्यक्ष मानुएला भी फेरोले भने, ‘पूर्वी एशिया र प्रशान्त क्षेत्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको र गतिशील क्षेत्रमध्ये एक हो ।’

फेरोले थपे, ‘मध्यावधिमा उच्च आर्थिक वृद्धिलाई कायम राख्न औद्योगिक प्रतिस्पर्धात्मकता कायम राख्न, व्यापारिक साझेदारहरूलाई विविधीकरण गर्न र सेवा क्षेत्रको उत्पादकत्व बढाउने र रोजगारी सिर्जना गर्ने क्षमतालाई उजागर गर्न सुधारको आवश्यकता पर्नेछ ।’