शीर्षकहरू

तीनकुने सामूहिक हत्याकाण्ड आरोपी पक्राउ गरी सार्वजनिक

तीनकुने सामूहिक हत्याकाण्ड आरोपी पक्राउ गरी सार्वजनिक

काठमाडौं । काठमाडौंको तीनकुने सामुहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गरी हत्याकाण्डका आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई सार्वजनिक गरेको हो । 

घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सिसिटिभी फुटेजको सहयोगमा पक्राउ गरेको बताएको छ । बोल्न नसक्ने भण्डारीको प्रहरीले दोभासेको सहयोगमा बयान लिएको छ । शुक्रबार राति तीनकुनेको दिव्य सःमिलमा विशाल राईसहित ४ जनाको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो । प्रहरीले रिसिबीका कारण यो घटना भएको र बाँकी अध्ययन गर्दै जाने बताएको छ ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै बोल्दै प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरले स्थायी घर सिन्धुपाल्चोक भएका भण्डारी काठमाडौं काँडाघारीस्थित वीरेन्द्र चोकमा बस्दै आएको बताए । उनलाई घटनाको क्रममा लगाएको कपडासहित पक्राउ गरिएको राठोरले बताए । केही दिनअघि विशाल राईले चलाएको मोटरसाइकलका विषयमा भण्डारीलाई कुटपिट गरेको र सोही रिसइबी साँध्नका लागि बारम्बार प्रयास गरेको र त्यही क्रममा हत्या गरेको अनुसन्धानबाट खुलेको उनले बताए ।

पक्राउ परेका भण्डारी बोल्न नसक्ने भएकाले प्रहरीले लेख्न लगाएको थियो । लेखेर उनले घटनाको स्वीकार गरेका थिए । उनले दिदीभिनाजुको घरबाट विशाल राईलाई भेटे छप्काइदिन्छु भन्दै खुकुरी बोकेर ल्याएको एसएसपी राठोरले बताए । 

भण्डारीले समिलको पछाडिको ढोकाबाट प्रवेश गरी हत्या गरेको प्रहरीको भनाइ छ । राईलाई हत्या गरिसकेपछि अन्य तीनजनाले पनि देख्ने डरले हत्या गरेको भण्डारीले स्वीकार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको राठोरले बताए ।