शीर्षकहरू

फेरियो श्रम संस्कृति, विश्वभर ‘हाइब्रिड वर्क मोडल’ लोकप्रिय

फेरियो श्रम संस्कृति, विश्वभर ‘हाइब्रिड वर्क मोडल’ लोकप्रिय

सन् २०१९ देखि फैलिएको कोरोना महामारीले औपचारिक क्षेत्रको श्रममा नयाँ संस्कृति थपिदियो । त्यो हो : कार्यालयको काम घरैबाटै गर्ने अर्थात् ‘वर्क फ्रम होम’ ।

औपचारिक क्षेत्रमा नियोक्ता र नियुक्त अर्थात् सञ्चालक÷व्यवस्थापक र कर्मचारीबीच एक औपचारिक अनुबन्ध हुन्छ । यो अनुबन्धमा कार्यालय समयको पालनादेखि श्रमको मात्रा र पारिश्रमिक भुक्तानीसम्मका विषय जोडिन्छ ।

औपचारिक क्षेत्र सुरुवात भएदेखि नै विश्वभर कार्यालय या श्रम स्थलमा भौतिक उपस्थिति जनाएरै काम गर्ने चलन चलिरहेको थियो । तर, संक्रामक कोरोना महामारीले सबै कुरा बदलिदियो । त्यसयता ‘वर्क फ्रम होम’ ले व्यापकता पाइरह्यो ।

श्रममा यस्तो संस्कृति चल्न थालेको तीन वर्ष नपुग्दै गूगल, मेटा र अमेरिकाकै ठूलो बैंक जेपी मोर्गन चेज एण्ड कम्पनीजस्ता विश्वका ठूला कम्पनीले घरबाटै काम गर्ने मोडलबारे पुनर्विचार थालेका छन् । यी कम्पनीले आफ्ना कर्मचारीहरूलाई पूरै साता या सातामा केही दिन भए पनि कार्यालयमै उपस्थित हुन आग्रह गर्न थालेका हुन् । वर्क फ्रम होम संस्कृतिलाई बढावा दिने कम्पनी यिनै हुन् : जसले कोरोना संक्रमण फैलन नदिन भन्दै कोरोनाकालमा कर्मचारीलाई घरबाटै काम गर्न प्रोत्साहन गरेका थिए ।

अमेरिकामात्र होइन, नेपालकै दक्षिणी छिमेकी भारतका केही ठूला कम्पनीहरूले पनि आफ्ना कर्मचारीहरूलाई यस्तै आग्रह गर्न थालेका छन् ।

कोरोनाले यसरी बदलिदियो

विश्वका ठूलादेखि साना कम्पनीहरूले कोरोनाकालमा कर्मचारीलाई घरबाटै काम गर्न निर्देश गरेपछि मेक्सिकोको आयटम विश्वविद्यालयका सहायक प्राध्यापक होजे मारिया बरेरोले डब्ल्यूएचएफ (वर्क फ्रम होम) बारे अनुसन्धान परियोजना नै थालेका थिए ।

अनुसन्धान परियोजना अहिले पनि चलिरहेको छ । अनुसन्धान क्रममा ‘रिमोट वर्किङ’ या ‘वर्क फ्रम होम’ बारे तथ्यांक र जानकारीहरू संकलन भइरहेको छ । महामारी र लकडाउनका कारण त्यतिखेर घरबाटै काम गर्नुपर्ने बाध्यता निम्तिए पनि अफिसका कयौं काम घरबाटै गर्न सम्भव छ या छैन भन्ने विषय पनि यो अनुसन्धानमा समेटिएको छ ।

अनुसन्धाता बरेरो भन्छन्, ‘कोरोना महामारीभन्दा पहिले कसैले घरबाट काम गरिरहँदा उ आफ्नो व्यवस्थापक या मालिकको नजरबाट पर रहेको ठानिन्थ्यो । सो व्यक्तिले कार्यालयमै उपस्थित भएर काममा जुन मेहनत र इमान्दारिता देखाउँथ्यो : घरमा रहँदा त्यसो गर्दैन भन्ने बुझाइ थियो ।’

तर, कोरोना महामारी फैलिएपछि अधिकांश मानिस घरमै बसेर काम गर्न बाध्य भए । यो बाध्यताले निम्त्याएको ‘वर्क फ्रम होम’ संस्कृतिले त्यस अघिको धारणा पनि फेरिदियो ।

शोधकर्ताले हजारौं अमेरिकीहरूलाई उनीहरूले घरबाटै गरिरहेको काम र अवस्थाबारे प्रश्नावली भराएका छन् । यतिमात्र होइन, ‘घरबाटै काम’ बारे ३४ देशमा सर्वेक्षण गरिएको छ ।

शोधको नतिजाले मूल भाषा अँग्रेजी रहेको अमेरिका र बेलायतजस्ता देशमा यूरोपका अन्य विकसित देशको तुलनामा वर्क फ्रम होम बढी चलेको छ । यो स्तर एसिया र दक्षिण अमेरिकी देशमा कम छ । यसो हुनुको कारण एसियाली देशले निकै प्रभावकारी ढंगले कोरोना महामारी नियन्त्रण गरेका थिए । यसो गर्दा एसियाली देशमा लकडाउनको अवधि अन्यत्रजति लामो रहेन । मानिसहरूलाई घरबाटै काम गर्ने आदत बसेन ।

अमेरिकाका ६० प्रतिशत मानिसले कार्यालयको काम घरबाट गर्न सक्दैनन् । किनकी, पसल या कारखानामा काम गर्ने मानिसका लागि यसो गर्नु सम्भव छैन । उनीहरू कार्यस्थलमै पुगेर काममा खटिनुपर्ने हुन्छ । 

केही मानिसहरूले भने आफ्ना केही काम चाहिँ कार्यालयमै पुगेर गर्नुपर्छ । बाँकी काम घरबाट पनि गर्न सक्छन् । यसलाई हाइब्रिड मोडल या मिलीजुली विधि पनि भन्न सकिन्छ ।

बरेरो भन्छन्, ‘अब हाइब्रिड वर्क मोडेल नै काम गर्ने प्रमुख तरिका हो । अहिले विश्वका लगभग ३० प्रतिशत मानिसहरू हाइब्रिड मोडलमै काम गरिरहेका छन् ।’

अनुसन्धान नतिजाअनुसार घरमै बसेर आफ्ना सबै काम गरिरहेका कर्मचारीको संख्या निकै कम छ । आइटी क्षेत्रका कर्मचारीहरूलाई यसरी काम गर्नसक्ने सुविधा छ ।

सर्वेक्षणमा भाग लिएकामध्ये अधिकांशले आफू घरमै बसेर कार्यालयको काम गर्न चाहेको बताउँछन् । यसको कयौं कारण छ । एक त घरबाटै काम गर्दा कार्यालय आउन जान लाग्ने समय र खर्च बचत हुन्छ । घरबाट निकै आरामदायी तरिकाले काम गर्न सकिन्छ । घरबाट झनै राम्रो र धेरै काम गर्न सकिने उनीहरू बताउँछन् ।

तर, कम्पनीहरू यस मामिलामा उत्ति लचक र सहज छैनन् । किनकी उनीहरूलाई के शंका लाग्छ भने कर्मचारीले घरबाट प्रभावकारी ढंगले काम गरिरहेका हुँदैनन् । यो धारणा पनि क्रमशः बदलिँदैछ ।

अनुसन्धानले के देखाएको छ भने कोरोना महामारीले विश्वमा औपचारिक क्षेत्रको श्रम संस्कृतिमा एक नयाँ बाटो देखाएको छ । यसैकारण पछिल्लो समय ‘घरबाटै काम’ धेरै स्थानमा सामान्य भइसकेको छ । तर, विश्वका हरेक ठाउँमा यो संस्कृति लागु हुन भने सक्दैन ।

यसरी काम गर्दैछन् जापानका कर्मचारी

डा. साओरी सुगेनो सरे विश्वविद्यालयमा कर्पोरेट गभर्नेन्स र अन्तर्राष्ट्रिय व्यापार प्राध्यापक हुन् । उनी जापानमा बसेको २० वर्ष भइसकेको छ । उनले त्यहाँ काम पनि गरिसकेकी छिन् ।

सुगेनोका अनुसार जापानमा ‘वर्क फ्रम होम’लाई अन्य देशले झैं अपनाइएको छैन । किनकी, जापानको कर्पोरेट संस्कृति अन्य देशको भन्दा फरक छ ।

उनी भन्छिन्, ‘जापानमा मानिसहरू जहाँ काम गर्छन् : त्यहाँ टीमसँग गहिरो आत्मीयता महसुस गर्छन् । जापानका कम्पनीमा आम सहमतिअनुसार फैसला हुन्छ । मानिसले एक–अर्कोको अघिल्तिर काम गर्दा सजिलो महसुस गर्छन् । त्यसैले जापानीहरू कार्यालयमै पुगेर काम गर्न रुचाउँछन् ।’

जापानमा अबेरसम्म काम गर्नु, काम सकिएपछि आफ्नो समूहका कर्मचारी या हाकिमसँग बाहिर गएर मदिरा पिउनु मिल्नुजुल्नु आवश्यक ठानिन्छ । यो जापानको कर्पोरेट संस्कृतिको हिस्सा हो । यसैकारण त्यहाँका मानिसहरू कार्यालय पुगेरै काम गर्न चाहन्छन् । 

जब विश्वभर कोरोना कहर फैलिएको थियो, त्यतिखेर पनि जापानीहरूले ‘घरबाटै काम’मा रुचि देखाएका थिएनन् । महामारीका बेला त्यहाँको सरकारले ७० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न भने पनि कार्यान्वयनमा भने आउन सकेन ।

प्राध्यापक सुगेनोले भनिन्, ‘महामारीका बेला राजधानी टोकियोमै ५० प्रतिशतभन्दा पनि कम मानिसहरूले घरबाट काम गरे, त्यसबाट पनि प्रष्ट भयो कि जापानका मानिसहरू अफिसको काम अफिसमै गर्न रुचाउँछन् ।’

सन् २०२३ मेमा जापानले कोभिडसम्बन्धी सबै नियन्त्रण र प्रतिबन्ध हटाइदियो । प्रतिबन्ध हट्नासाथ त्यहाँ महामारीभन्दा पहिले झैं काम हुन थाल्यो । मानिसहरू कामका लागि घरबाट कार्यालय नै जान थाले । यसबाट पनि के प्रष्ट भएको छ भने अन्य देशको तुलनामा जापानमा घरबाटै कामको प्रचलन निकै कम छ ।

त्यहाँका नयाँ पिंढीलाई पनि हाइब्रिड मोडलमा काम गर्न सामान्य अवस्था रहे अझै दुई दशकजति लाग्ने देखिन्छ ।

‘घरबाटै काम’का यस्ता जोखिम

रोमन गिल सगरडाय ल फर्ममा संलग्न छन् । उनी श्रम कानून विशेषज्ञ हुन् । उनको कम्पनीका अधिवक्ताहरूले कयौं बहुराष्ट्रिय कम्पनीका श्रमिकको करारबारे कानूनी सल्लाह दिन्छन् ।

उनका अनुसार केही कम्पनीहरूले बजारमा टिकिरहन आफ्ना कर्मचारीहरूलाई घरबाटै काम गर्न भनेका छन् । तर, अफिसभन्दा बाहिर रहेर काम गर्न कयौं नीतिनियम र कार्यादेश आवश्यक पर्छ । 

यसलाई रोजगारदाता र श्रमिक दुबै पक्षले पालना गर्नुपर्छ । उदाहरण : अनलाइनमा काम गर्नेहरूलाई निर्धारित समयपछि कम्प्युटर बन्द गर्ने अधिकार रहन्छ । 

मानिसहरूले तोकिएको समयभन्दा बढी काम गर्नु वर्क फ्रम होमको जोखिम हो । यो जोखिम हटाउन फ्रान्स, इटली, फिलिपिन्स र क्यानडाजस्ता मुलुकले डिस्कनेक्ट गर्ने अधिकार दिएका छन् । यसको अर्थ : काम गर्ने समय सकिएपछि कर्मचारीले अनलाइन कनेक्सन बन्द गर्न सक्छन् । उनीहरू अन्य समयमा पनि कार्यालयको सम्पर्कमा रहनुपर्छ भन्ने हुँदैन ।

अर्को समस्या के छ भने कयौं कम्पनीहरूले घरबाटै काम गर्ने कर्मचारीको तलब घटाउने कदम चालेका छन् या यसबारे सोच्ने गर्छन् । अमेरिकाकै वित्तीय क्षेत्रका कयौं कम्पनीहरूले यसो गरेका छन् । उदाहरणका लागि त्यस्ता कम्पनीको कर्मचारी जहाँ रहेर घरैबाट काम गरिरहेका छन्, सो स्थानमा जीवनयापन लागत कम छ भने पारिश्रमिक पनि घटाइएको छ ।

अपर्याप्त छ कानून

जो कर्मचारी घरबाटै काम गर्छन्, उनीहरूको घरको बिजुली, एअरकन्डिसन र इन्टरनेटको बिल पनि बढ्दै जान्छ । यो खर्चभार सोचनीय मामिला हो ।

रोमन गिल भन्छन्, ‘यसबारे कयौं नियम बनाइएको छ । यदि कर्मचारीले घरबाट काम गर्दा बिजुली या ग्यासको बिल बढ्छ भने सो अतिरिक्त खर्च कम्पनीले नै उठाउनुपर्छ । काम गर्न आवश्यक कम्प्युटर, सही प्रकारको कुर्सी, प्रकाश र काममा प्रयोग हुने सबै उपकरणको खर्च उठाउने दायित्व पनि कम्पनीकै हो । किनकी कार्यालयमै बोलाएर काम गराउँदा पनि कम्पनीले यसअघि यस्तो खर्च गर्नैपर्थ्यो ।’

यदी कम्पनीले घरबाटै काम गर्न नदिए कर्मचारीले अदालतको ढोका ढक्ढक्याउन सक्नेछन् । यस्तो स्थितिमा कम्पनीले आफ्ना कर्मचारीले घरबाटै काम गर्दा नोक्सान पर्ने तर्क साबित गर्नुपर्ने हुन्छ । त्यसपछि पनि न्यायालयको फैसलालाई कम्पनी र कर्मचारीले पालना गर्नुपर्ने हुन्छ ।

उनका अनुसार कर्मचारीले कुन हैसियतमा रहेर काम गर्ने र कतिखेर आराम गर्ने या कतिखेर घुमफिर गर्ने भन्नेबारे पनि कम्पनीले नै तालिम दिनुपर्छ ।

अहिले अमेरिका र बेलायतमा घरबाटै काम गर्ने कर्मचारीको संख्या अन्यत्रभन्दा धेरै छ । तर, ती देशमा पनि वर्क फ्रम होमबारे पर्याप्त कानून बनेको छैन । नेदरल्याण्डस् र स्पेनले यस दिशामा केही कदम उठाएका छन् । घरमै बसेर काम गर्ने अधिकार माग गर्न पाउनेसम्बन्धी कानून नेदरल्याण्डसमा विचाराधीन छ । 

यदी कम्पनीले घरबाटै काम गर्न नदिए कर्मचारीले अदालतको ढोका ढक्ढक्याउन सक्नेछन् । यस्तो स्थितिमा कम्पनीले आफ्ना कर्मचारीले घरबाटै काम गर्दा नोक्सान पर्ने तर्क साबित गर्नुपर्ने हुन्छ । त्यसपछि पनि न्यायालयको फैसलालाई कम्पनी र कर्मचारीले पालना गर्नुपर्ने हुन्छ ।

घरबाटै काम गर्दाका चुनौति

ट्रिनिटी बिजनेस स्कूलका संगठनात्मक व्यवहार प्राध्यापक ब्लैड रिवकिन घरबाटै काम गर्दा कर्मचारीको मानसिक स्वास्थ्यमा असर पर्ने बताउँछन् । शोध क्रममा यो थाहा भएको छ कि आमुन्नेसामुन्ने भएर भन्दा भिडियोकलमा बैठक बस्दा धेरै थकाइ लाग्छ । कर्मचारीको मानसिक स्वास्थ्यमा पनि यसले असर गर्छ ।

रबाटै कामको समस्या यो पनि हो कि यसो गर्दा कर्मचारीको पेशागत या व्यवसायिक जीवन र निजी जीवनको बीचमा अन्योल पैदा हुन्छ ।

कर्मचारीको मानसिक स्वास्थ्य बिग्रिएमा कामप्रति उनीहरूको लगाव पनि कम हुँदै जान्छ । यसले कर्मचारीलाई बिरामी नै बनाउँछ र छुट्टी लिनुपर्ने हुन्छ । कम्पनीले पनि छुट्टी लिएका कर्मचारीको काम अन्य कर्मचारीबाट शोधभर्ना गर्नुपर्ने हुन्छ, जो महँगो साबित हुनसक्छ ।

घरबाटै कामको समस्या यो पनि हो कि यसो गर्दा कर्मचारीको पेशागत या व्यवसायिक जीवन र निजी जीवनको बीचमा अन्योल पैदा हुन्छ । कार्यालयमै उपस्थित हुँदा यो फाइदा छ कि निश्चित समयसम्म काम गर्दा हुन्छ । काम सकिएपछि घर गएर आफ्नो निजी जीवनमा रमाउन सकिन्छ । घरबाट काम गर्दा यसलाई समेट्न मुस्किल पर्छ ।

पोशाकबारे

अनुसन्धानमा के पाइएको छ भने घरबाट काम गर्दा पोशाकले संवेदनशीलता निम्त्याउने गरेको छ । यस निम्ति कर्मचारीले समयतालिका र ड्रेस कोडबारे सोच्नुपर्ने हुन्छ । काम शुरु गर्नुभन्दा अघि कार्यालयमा जाने पोशाक लगाउनुपर्छ । काम सकिएपछि बेलुकी घरको कपडा लगाउँदा उपयुक्त हुन्छ ।

काम सकिएपछि घरको कामको लागि बाहिर निस्कनुपर्छ । यसो गर्दा पेशागत र घरेलु जीवनबीच सीमा तय गर्न सहज हुन्छ ।

हाइब्रिड मोडल अर्थात केही दिन कार्यालय गएर काम गर्ने र केही दिन घरबाटै काम गर्ने तरिकाबारे पनि ढाँचा तयार गर्नुपर्छ । यो हाइब्रिड मोडल नै नयाँ श्रम संस्कृतिका रूपमा विकसित भइरहेको छ ।