शीर्षकहरू

पोखरामा माटोको प्रयोगबिनै तरकारी खेती

पोखरामा माटोको प्रयोगबिनै तरकारी खेती

कास्की । पोखरा महानगरपालिका–१७ सितापाइलास्थित पोखरा वृद्धाश्रममा हाइड्रोपोनिक प्रविधि (माटोको प्रयोग बिना बोटबिरुवाको खेती गर्ने तरीका) बाट तरकारीखेती सुरु गरिएको छ । 

माटो नचाहिने, थोरै ठाउँमा धेरै बिरुवा लगाउन सकिने र उत्पादनसमेत दोब्बर हुने आधुनिक प्रविधि भित्र्याएर वृद्धाश्रममा तरकारीखेती सुरु गरिएको वृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले जानकारी दिए । ‘सहयोगदाताबाट आएको खाद्यान्नले आश्रम चलेको छ’, उनले भने, ‘तरकारीमा मात्रै वार्षिक रू चारदेखि पाँच लाख खर्च हुने गरेको छ ।’ 

प्रविधि सफल भएमा आश्रमलाई तरकारीमा आत्मनिर्भर बनाउँदै बाहिर बिक्री गरेर थप आयआर्जन गर्ने लक्ष्य रहेको अध्यक्ष पराजुलीको भनाइ छ । ‘लहरै मिलेका पोलिथिन पाइपको माथिल्लो भागमा पारिएका प्वालमा सानो फमको टुक्राको बीचमा राखिएका पेपर कपमा लगाइएका गोलभेँडा र सलाद सागका बिरुवा फस्टाएका छन्’, उनले भने, ‘परीक्षणका लागि जमिनमा फलामको फ्रेम र भवनको तेस्रो तलाको रेलिङबारमा गरि कूल २७० बिरुवा लगाइएको छ ।’

अध्यक्षय पराजुलीका अनुसार आश्रमको छानाबाट वर्षात्को पानी सङ्कलन गरी मोटरको सहायताले पाइपमार्फत सञ्चालन गरिएको छ । बिरुवालाई पोषणका रूपमा प्रयोग हुने न्युटेसन महँगो हुँदा उत्पादन लागत बढ्ने देखिएको उनले बताए ।

हाइड्रोपोनिक प्रविधि संयोजक सिद्धिकुमार रेग्मीका अनुसार गोदावरी नगरपालिकाको ठेचोस्थित कुशल गुरुङले सञ्चालन गरेका उक्त प्रविधिको स्थलगत अवलोनपश्चात् आश्रममा सो प्रविधिबाट तरकारीखेती सुरु गरिएको हो । 

पहिलो पटक सुरु गरिएको उक्त प्रविधिअन्तर्गत न्युटेसनको मात्रा नमिल्दा र खुला स्थलमा भएको हुँदा सोचेजस्तो नभए पनि आगामी दिनमा व्यवस्थित गर्दै आश्रमलाई आवश्यक तरकारी उत्पादन गर्ने अभियानमा जुटेको उनको भनाइ छ । 

आश्रममा समाजका विपन्न, असहाय र अपहेलित ज्येष्ठ नागरिक र सेवकसेविका गरी कूल ५५ जना आश्रित छन् । आश्रमको गोठमा सानाठूला गरी छ गाई रहेको बताउँदै रेग्मीले भने, ‘गाईको दूधले आमाबुवालाई पुगेको छ भने मलले वृद्धाश्रमको हातामा परम्परागतरूपमा मौसमअनुसारको तरकारीखेती गरिएको छ ।’