काठमाडौं । केही दिन अघि नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गर्यो । जहाँ धेरैले चासो दिएर हेरेको विषय थियो, विप्रेषण (रेमिट्यान्स) आप्रवाह ।
उक्त तथ्यांकमा गत आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड पुगेको उल्लेख थियो । जुन रकम नेपाली युवाहरूले विदेशी भूमिमा पसिना बगाएर पठाएको हो । वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण राज्यको लागि विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत बनेको छ ।
नेपालको अर्थतन्त्रलाई मजबुत तथा चलायमान बनाइ राख्न विप्रेषणको महत्त्वपूर्ण योगदान छ । तर, तिनै रेमिट्यान्स पठाउने नेपालीहरू बाकसमा फर्किएको तथ्यांक हेर्ने हो भने त्यो निकै अत्यासलाग्दो देखिन्छ । गत आर्थिक वर्ष २०७९/८० मा मात्र वैदेशिक रोजगारीमा गएका एक हजार जना भन्दा बढीले उतै ज्यान गुमाएका छन् ।
वैदेशिक रोजगार बोर्डका अनुसार गत आवमा मात्रै एक हजार २०८ जना नेपालीको ज्यान गएको छ । यो संख्या मृतकका परिवारले बोर्डबाट लिएको आर्थिक सहायता लिनेहरूको मात्रै हो । यसबाहेक बोर्डको सम्पर्कमा नआएकाहरूको संख्या पनि उल्लेख्य रहेको छ । यसरी विदेशमा मृत्यु भएका श्रमिकहरूको परिवारलाई बोर्डले ६५ करोड ५१ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ ।
बोर्डका अनुसार हजारौँको संख्यामा श्रमिकहरू बाकसमा फर्किएका छन् भने धेरैले अङ्गभङ्ग भएर वा प्रतिकूल स्वास्थ्य अवस्था लिएर स्वदेश फर्किनु परेको तीतो यथार्थ पनि हामीसँग छ । गत आव २०७९/८० मा ३८९ जना श्रमिक अङ्गभङ्ग वा प्रतिकूल स्वास्थ्य अवस्थामा स्वदेश फर्किएका छन् ।
नेपालले आन्तरिक श्रम सिर्जना गर्ने वातावरण बनाउन नसक्दा लाखौँको संख्यामा युवाहरू विदेशिने गरेका छन् । रोजगारीको खोजीमा विभिन्न मुलुक पुगेका तिनै युवाहरू हजारौँको संख्यामा बाकसमा नेपाल फिर्ता आएका छन् ।
विगत १५ वर्षको अवधिमा १२ हजार भन्दा बढी श्रमिकहरूको उतै मृत्यु हुँदा बाकसमा नेपाल फर्किएका छन् । आर्थिक वर्ष २०६५/६६ देखि गत आव २०७९/८० सम्म १२ हजार १४० जनाले रोजगारीमा गएका बेला ज्यान गुमाएका छन् ।
आव २०६५/६६ मा विदेशमा ज्यान गुमाउने श्रमिकको संख्या ७८ रहेको थियो । तर, उक्त संख्या एक वर्षमै तीन सय भन्दा बढीले बढ्यो । आव २०६६/६७ मा यसरी विदेशमा ज्यान गुमाउने संख्या ४२१ पुग्यो ।
त्यसयता आव २०७१/७२ सम्म विदेशमा मृत्यु हुनेको नेपालीको संख्या निरन्तर बढेको देखिन्छ । बोर्डका अनुसार २०६७/६८ मा ५६४ जनाको विदेशमा मृत्यु भएको थियो भने आव २०६८/६९ मा ६४७, आव २०६९/७० मा ७७२, आव २०७०/०७१ मा ८७७ र आव २०७१/७२ मा एक हजार ६ जना श्रमिकले विदेशमा ज्यान गुमाएका थिए ।
आव २०७१/७२ को तुलनामा आव २०७२/७३ मा मृत्यु हुनेको संख्या घटेको देखिन्छ । यस आवमा ८२६ जना श्रमिकको ज्यान गएको थियो । उक्त आवदेखि आव २०७७/७८ सम्म चार हजार दुई सय भन्दा बढी श्रमिकको विदेशमा ज्यान गएको बोर्डको तथ्यांकमा उल्लेख छ ।
शव ल्याउनै समस्या
विदेशमा ज्यान गुमाएका श्रमिकहरूको शव समयमा नै नेपाल ल्याउन समस्या हुने गरेको छ । वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी राजन पौडेलका अनुसार विदेशस्थित सम्बन्धित नियोगसँगको समन्वयमा समस्या रहेको छ ।
खासगरी वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरूको संख्या धेरै भएका केही मुलुकका दूतावासमा श्रम सहचारीको व्यवस्था हुन नसक्दा कामदारको उद्धार तथा मृतक कामदारको शव समयमा ल्याउन समस्या देखिएको छ ।
त्यस्तै, स्पष्ट कानुनको अभावमा कोमामा पुगेका बिरामीलाई नेपाल ल्याई उपचार गर्न र कानुनी प्रतिरक्षामा समस्या देखिएको छ । नियोग र बोर्ड सचिवालयबिच नियमित रूपमा छलफल तथा अन्तर्क्रिया नहुनाले अलपत्र कामदारहरूको उद्धार कार्यमा समेत समस्या पर्ने गरेको पौडेलको भनाई छ ।
यो पनिः ‘वैदेशिक रोजगारीमा मृत्यु भएकाहरुको लागि आठ महिनामै ६५ करोड खर्च गरिसक्यौँ’
ज्यान गुमाउनेको परिवारलाई १५ लाख दिने
वैदेशिक रोजगारीमा जाने श्रमिकहरू विदेशमा नै मृत्यु वा अंगभङ्ग भएमा वैदेशिक रोजगार बोर्डले विभिन्न सेवा सुविधा दिँदै आएको छ । अब विदेशमा ज्यान गुमाउनेको परिवारलाई सरकारले १५ लाख दिने भएको छ ।
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्दै यस्तो निर्णय गरेको हो । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई वि.स.२०६७ साल देखि दिँदै आएको सुविधा अहिले समयअनकुल नभएको भन्दै वृद्धि गर्ने निर्णय वैदेशिक रोजगार बोर्डले गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीका अनुसार वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको विदेशमा नै मृत्यु भएमा दिने ७ लाखलाई वृद्धि गरी १५ लाख पुर्याउने सरकारले निर्णय गरेको छ । त्यस बाहेक मृतकको सन्ततिलाई शैक्षिक छात्रवृत्ति बापत ८ लाख दिने सरकारको तयारी छ ।
विदेशिने नेपालीको संख्या वर्षेनी बढ्दो
नेपालको आन्तरिक श्रम बजारमा प्रवेश गर्ने श्रम शक्तिमध्ये अधिकांश रोजगारीका लागि मलेसिया, खाडी लगायतका विश्वका अन्य विभिन्न मुलुकमा जाने गरेका छन् । यसरी विदेशिने नेपालीको संख्या वर्षेनी बढ्दो छ ।
आर्थिक वर्ष २०६५/०६६ देखि २०७०/०७१ सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या प्रत्येक वर्ष क्रमिकरुपमा वृद्धि हुँदै गएको देखिन्छ । तर, आव २०७०/०७१ देखि आव २०७७/०७८ सम्म क्रमिकरुपमा घट्दै गएको देखिन्छ ।
आव २०६५/०६६ देखि आव २०७८/०८९ मा ४५ लाख ८९ हजार भन्दा बढी नेपाली नागरिकले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएको देखिन्छ । जसमा ४३ लाख ३३ हजार पुरुष रहेका छन् भने दुई लाख ५५ हजार महिला रहेका छन् ।
गत आर्थिक वर्ष २०७९/८० मा मात्रै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भएको छ । सो आवमा ४ लाख ९७ हजार ७०४ जनाले श्रम स्वीकृति लिएका थिए ।