शीर्षकहरू

‘वैदेशिक रोजगारीमा मृत्यु भएकाहरुको लागि आठ महिनामै ६५ करोड खर्च गरिसक्यौँ’

‘वैदेशिक रोजगारीमा मृत्यु भएकाहरुको लागि आठ महिनामै ६५ करोड खर्च गरिसक्यौँ’

वैदेशिक रोजगारीका लागि हरेक वर्ष लाखौंको संख्यामा नेपाली कामदारहरु विदेश जाने गरेका छन् । कामको खोजीमा विदेशिएका नेपालीहरु कतिपयले राम्रै कमाएका छन् भने कतिपय अलपत्र भएका छन् । त्यत्तिमात्रै होइन वैदेशिक रोजगारीको खोजीमा विदेशिएका नेपालीहरु बाकसमा फर्किएका पनि छन् । बाकसमा फर्किएका त्यस्ता कामदारहरुको परिवारलाई वैदेशिक रोजगार कल्याणकारी कोषले आर्थिक सहयोग गर्दै आएको छ । चालु आर्थिक वर्षको आठ महिना मै कोषले ६५ करोड रुपैयाँ विदेशमा मृत्यु भएका कामदारका परिवारलाई आर्थिक सहयोग गरेको छ । यससँगै कोषले रोजगारीका शिलशिलामा अंगभंग भएका तथा अलपत्र परेकाहरुको समेत सहयोग गर्दैआएको छ । यसै सन्दर्भमा रहेर आर्थिक न्युज डटकमकी सम्वाददाता सम्झना बरुवालले वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठसँग कुराकानी गरेकी छिन् । प्रस्तुत छ, सोही कुराकानीको संम्पादित अंशः

वैदेशिक रोजगार कल्याणकारी कोषको बारेमा बताइदिनुहोस् न ? 
वैदेशिक रोजगार ऐन २०६४ र वैदेशिक रोजगार नियमावली २०६४ अनुसार वैदेशिक रोजगार बोर्डको गठन भएको हो । वैदेशिक रोजगारीको क्रममा श्रम स्विकृति लिएर जाने श्रमिकहरुले उनीहरुको हकहित र कल्याणका लागि भनेर ऐन र नियमावली अन्तर्गत वैदेशिक रोजगार बोर्डमा रहने गरी श्रमिक कल्याणकारी कोषको व्यवस्था गरिएको छ । 

यस कोषमा श्रम स्विकृति लिएर जाने श्रमिकहरुले २ वर्ष करार अवधिका लागि जानेहरुले १५ सय रुपैयाँ र दुई वर्षभन्दा बढि अवधिका लागि जानेहरुका लागि २५ सय रुपैयाँ कल्याणकारी कोषमा अनिवार्य रुपमा राख्नुपर्ने व्यवस्था छ । 

यसरी वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले जम्मा गरेका पैसा कोषमा रहन्छ । त्यसैगरी वैदेशिक रोजगारसँग सम्बन्धित नीजि क्षेत्र, स्वास्थ्य व्यवसायी, अभिमुखीकरण तालिम प्रदायक संस्था, सिप तालिम प्रदायक संस्थाको नविकरण दस्तुर, रजिष्ट्रेशन दस्तुर र वैदेशिक रोजगार व्यवसायीहरुले जम्मा गर्ने धरौटी २ देखि ६ करोड रुपैयाँ र उक्त धरौटीबाट प्राप्त हुने वार्षिक ब्याजको ७५ प्रतिशत कोषमा जम्मा हुने व्यवस्था छ । यसरी विभिन्न स्रोटबाट कल्याणकारी कोषमा रकम जम्मा हुने गर्छ । हालसम्म यसरी जम्मा भएको रकम वैदेशिक रोजगार कल्याणकारी कोषमा ५ अर्ब ३५ करोड रुपैयाँको हाराहारीमा अहिले जम्मा भएको छ ।
 
वैदेशिक रोजगार कल्याणकारी कोषमा कसरी आवद्ध हुन सकिन्छ ? 
वैदेशिक रोजगारीमा जान श्रम स्विकृति लिने क्रममा १५ सय रुपैयाँ र २५ सय कोषमा जम्मा गर्नुपर्ने ऐनले नै व्यवस्था गरेको छ । वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न नीजि क्षेत्रहरुले विभागमा इजाजत लिने बेलामा तोकिएको रजिष्ट्रेशन दस्तुर तिर्नुपर्छ । उक्त दस्तुर पनि कोषमा नै जम्मा हुन्छ । हरेक आर्थिक वर्षमा नविकरण गर्दा तिरेको दस्तुर, वैदेशिक रोजगार व्यवसायीहरुले धरौटीमा वापत जम्मा गरेको रकमबाट प्राप्त हुने ब्याजको ७५ प्रतिशत कल्याणकारी कोषमा जम्मा हुनपर्ने व्यवस्था छ । कोषमा जम्मा भएको रकमबाछ श्रमिक र उसको परिवारको हित कल्याणको काम बोर्ड सचिवालयले गरिरहेको छ । 

कोषमा जम्मा भएको रकमबाट अहिलेसम्म कस्ता–कस्ता व्यक्तिले सेवा लिएका छन् ? 
ऐन र नियमावली अनुसार श्रम स्विकृति लिएर वैदेशिक रोजगारमा गएका, करा अवधि र करार अवधि समाप्त भएको एक वर्ष भित्रमा नेपाल अथवा अन्य देशमा जुनसुकै कारणले मृत्यु भएमा मृत्यु भएको मितिले एक वर्ष भित्रमा सचिवालयमा निवेदन दिएपछि उसको नजिकको हकदारले ७ लाख रुपैयाँ आर्थिक सहायता पाउँछन । 

त्यसैगरी वैदेशिक रोजगारी कै क्रममा अंगभंग भएमा पनि ७ हजार रुपैयाँ देखि ७ लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउँछन । यसरी अंगभंग र मृत्यु भएका कामदारको परिवारमा बालबच्चा छ भने उनीहरुलाई नर्सरीदेखि १२ कक्षासम्म निशुल्क छात्रवृत्ति सहायता भनेर कोषबाट खर्च गर्ने गरेका छौं । वैदेशिक रोजगारी कै क्रममा भनेजस्तो काम नभएर अलपत्र परेका श्रमिकलाई पनि नेपाल ल्याउनुपर्ने हुन्छ । 

बिरामी भएमा स्वास्थ्य उपचारको समस्या भएर फर्किएका श्रमिकको हकमा नेपालमा उपचार खर्च पनि बढिमा ७ लाख रुपैयाँ दिन्छौ । त्यस्तै, विदेशमा मुत्यु भएकाहरुलाई नेपाल ल्याउन रोजगारहरुले जिम्मा लिएन भने कोषको रकम प्रयोग गरेर नेपाल ल्याउने, नेपाल आएपछि ती शवहरुलाई निशुल्क रुपमा परिवार सम्म पुर्याइदिने ढुवानी सेवा र गाडी लाग्ने ठाउँसम्म लगेर स्थानीय प्रशासनको रोहबरमा शव ढुवानी गर्ने गर्छौ । यी सबै कामको लागि यही कोषको रकम खर्च हुँदै आएको छ । 

यस बाहेक वैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा दुई दिनको अभिमुखीकरण तालिम लिनुपर्छ । उक्त तालिम दिने संस्थाहरुलाई व्यवस्थित गर्ने, पाठ्यक्रम निर्माण गर्ने , कार्यान्वयन गर्ने, यससँग सम्बन्धित कार्यविधिहरु तर्जुमा गर्ने शुल्क तोक्ने लगायत नीजि क्षेत्रका तालिम प्रदायक संस्थाहरुलाई मोबिलाइज गर्ने जिम्मा यहि कोषबाट नै हुन्छ । 

यसका साथै, अहिले वैदेशिक रोजगारीमा जाँदा सिप सिकेर जाउन् भन्ने उद्देश्यले विदेश जान चाहने श्रमशक्तिलाई सिपयुक्त बनाएर पठाउने उद्देश्यले सात वटै प्रदेशमा निशुल्क सिप तापिलमहरु सञ्चालक भइरहेका छन् । सिटिइभिटिको आंगिक शिक्षा मार्फत सिटिइभिटिको एनएसडीले निर्धारण गरेको तह एक बराबरको आधारभुत तालिम सञ्चालन गरिरहेका छौं । अब आउने आर्थिक वर्षमा नीजि क्षेत्र मार्फत पनि ती तालिमहरु चलाउँछौं । सिप तालिम सञ्चालन गर्दा पनि व्यापक रुपमा खर्च लाग्ने गर्छ । 

बोर्डको दृष्टिकोण भनेको सकभर सिपयुक्त भएर जाउन् भन्ने हो । र वैधानिक ढंगले वैदेशिक रोजगारको क्रममा काम गर्दै गर्दा त्यहाँको रोजगारदाता अथवा जुन देशमा काम गर्न जान्छन् । उक्त देशको सरकारलाई पनि सामाजिक सुरक्षाको दृष्टिले जिम्मेवार बनाउने पहल पनि भइरहेको छ । यी सबै कामको खर्च कोषबाट नै भइरहेको छ । 

अहिलेसम्म धेरै खर्च मृत्युमा नै भएको छ । वार्षिक सरदर ९ सयको हाराहारीमा मुत्यु भएकाहरुलाई ७ लाख रुपैयाँको दरले रकम दिइरहेका छौं । अंगभंग र स्वास्थ्य उपचारको कुरामा करिब ३ सयको हाराहारीमा समस्यामा परेर अंगभंग भएर स्वास्थ्यमा समस्या परेर फर्किनेहरुका लागि आर्थिक सहायता दिइरहेका छौं । उदाहरण लागि भन्नुपर्दा पनि चालु आवको ८ महिनामा हामीले करिब मृत्यु भएको परिवारलाई दिने आर्थिक सहायता ६४ करोड ५५ लाख रुपैयाँ दिइसकेका छौं । सबै बैंकहरुबाट गइसकेको छ । अहिले हामीले मृत्यु र अंगभंग भएकाहरुले स्थानीय तहबाट नै निवेदन दिन पाउने व्यवस्था गरेका छौं । अनलाइनबाट निवेदन प्राप्त भएपछि स्थानीय तहले मृत्यु भएको व्यक्तिको पासपोर्ट, नजिकको हकदार, नागरिकता नम्बर र फोटो र बैंक खाता नम्बर सहितको किटानी पठाउँछ । सोही किटानी सिफारिसको आधारमा नजिकको हकदारको बैंक खातामा सिधै पैसा जान्छ । मृत्युको केशमा मात्र झण्डै ६५ करोडको हाराहारीमा पैसा पठाइसकेका छौं । यस बाहेक अंगभंग र तालिमलाई समेत जोड्दा आठ महिनामा एक अर्ब रुपैयाँ खर्च भइसकेको छ । 

विदेशमा नेपालीहरुलाई मृत्युदण्ड घोषणा गरेका व्यक्तिहरुले ब्लड मनी बुझाएमा मृत्युदण्डबाट बच्न सक्छन् त्यसको बारेमा जानकारी दिनु न ? 
ब्लड मनीको केही केशहरु आउने गरेको छ । खासगरी हाम्रा श्रमिकहरु मलेसिया लगायत खाडी मुलकमा काम गरिरहेका छन् । जहाँ मुस्लिम धर्म मान्नेहरुहरुको बाहुल्यता रहेको छ । जहाँ सरिया (विदेशबाट काम गर्न आउने श्रमिकहरुका लागि बनाइएको) कानुन छ । ती देशहरुमा खासगरी हत्याका केशहरुमा अथवा दुर्घटनाबाट पनि मृत्यु भएको छ भने पीडकले पीडितलाई त्यहाँको अदालतमा माफी दिने वा ब्लड मनी दिने भन्ने बहस चल्ने गर्छ । 

पीडित परिवारले मलाई ब्लड मनी चाँहिदैन मृत्युदण्ड नै दिनुपर्छ भन्यो भने ब्लड मनीले काम नै गर्दैन । त्यो व्यक्तिलाई मुत्युदण्ड नै दिइन्छ । अन्यथा पीडक परिवारले मर्ने मान्छे मरिसक्यो । नियतवश गरेको होइन । त्यस्ता व्यक्तिलाई सजाय माफ गरिदिनु भनेर पीडित पक्षले बयान दियो भने ब्लड मनी तिरेर छुट्ने प्रावधान रहेछ । 

तर, यस्तो केशमा नेपाली श्रमिकहरु केही संख्यामा पनि परेका छन् । त्यसरी मृत्यु हुँदा ब्लड मनी तिरेर छुटेको अवस्था पनि छ । कतिपय अवस्थामा नेपाली श्रमिकहरुले नियवश वा आकस्मिक रुपले घटना घट्यो र मान्छे मर्यो भने ब्लड मनीको लागि कसरी व्यवस्था गर्ने भनेर हिँडेको पनि देखिएको छ । तर, ब्लड मनी भनेको थोरै रकमले पुग्दैन । ७० लाख रुपैयाँ सम्म खर्च गर्नुपर्छ । 

हाम्रो ऐन नियममा आर्थिक सहायतको रुपमा ब्लड मनी दिने प्रावधान छैन । ब्लड मनीको सहायताका लागि केही केशहरु त आउने गर्छन् । तर, हामीले चाहेर पनि खर्च गर्न सकेनौं । यद्यपि हाम्रा श्रमिकहरु फौजदारी अभियोगमा जेलमा राखिएको छ भने अनुसन्धानको क्रममा निर्दोस छ भन्ने नियोग लागेमा, कानुनीकृत रक्षाको लागि भनेर हामीले  कानुनी प्रतिरक्षाका लागि एउटा केश बराबर १५ लाख रुपैयाँ पठाइरहेका छौं । किनकी भाषा नाजनेर अदालतमा बहस गर्न नजानेर अपराध नहुँदा हुँदै पनि सजाय भोग्नुपर्ने अवस्था नआहोस् भनेर राज्यको तर्फबाट कानुनी प्रतिरक्षा वापत पैसा पठाइरहेका छौं ।

अहिलेसम्म ब्लड मनी पाएका खाडी मुलुक अथवा अरु कुन देशमा बढि छन् ? 
ब्लड मनी पाएकाहरुको संख्या त हामीलाई थाहा हुँदैन । अहिलेसम्म देखिएको केशमा भने खाडी मुलुकमा नै बढि रहेका छन् । 

नेपालसँग श्रम सम्झौता नभएका अन्य देशहरुमा पनि धेरै नेपाली कामदारहरु गइरहेका छन् । त्यसरी गएका देशमा समस्यामा परेका श्रमिकहरुको उद्दार कसरी गर्नुहुन्छ ? 
श्रम स्विकृति लिएर वैदेशिक रोजगारमा जानका लागि संस्थागत हिसाबले अथवा वैदेशिक रोजगार व्यवसायी संघ अन्तर्गत जान १११ मुलुक खुला गरिएको छ । व्यक्तिगत हिसाबले जानेहरुमा १७२ मुलुकमा गइरहेका छन् । यति हुँदाहुदै पनि हाम्रा श्रमिक दाजुभाई÷दिदिबहिनीहरु अधिकांश खाडी मुलुकमा नै रहेका छन् । कतिपय मलेसियामा नै छन् । 

यद्यपी युरोप, दक्षिण कोरिया, इजरायल, जापान जानेहरुको संख्या पनि क्रमिक रुपमा बढिरहेको छ । हामीसँग यी मुलुकहरुसँग सम्झौता पनि छ । थप मुलुकहरुमा सम्झौता गर्ने तयारी पनि बढिरहेको छ । अहिले ११ वटा मुलुकमा सम्झौता भइसकेको छ । जहाँ संख्यात्मक हिसाबले हाम्रा नेपाली कामदारहरु छन् । ती मुलुकहरुमा हामिले सम्झौता गरिसकेका छौं । आवश्यकता अनुसार संख्यात्मक हिसाबले गर्नुपर्ने ठाउँमा श्रम सम्झौता गर्न सरकार र मन्त्रालयले पनि गरिरहेको छ । 

श्रम सम्झौता नभएका देशहरुमा नेपाली कामदारहरु जोखिम मोलेर गइरहेका छन् । सरकारले पनि रोक्न सकेको छैन । जनचेतनाको कमि हो अथवा श्रमिकहरुको बाध्यता हो ? 
व्यक्तिगत हिसाबले त संसारको १७२ वटा देशहरुमा हाम्रा नेपालीहरु पुगेका छन् । कुनै ठाउँमा २ छन् भने कुनै ठाउँमा १० हजार श्रमिकहरु पुगेका छन् । श्रम स्विकृति लिएर गएका छन् । श्रम स्विकृति लिएर जाने नेपाली श्रमिकहरुको हकमा हामीले उनीहरुलाई उद्दार गर्नुपर्छ । समस्या परेको बेला सम्बन्धित परराष्ट्र मन्त्रालय मार्फत उक्त देश हेर्ने नियोगहरुलाई जिम्मेवार बनाउँछौं । हाम्रा एम्बेस्सीहरुलाई जिम्मेवार बनाएर एम्बेस्सी मार्फत सहायता र राहत उद्दारका कामहरु गरिरहेका छौं । 

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
यो कार्यक्रम मार्फत सबैलाई निवेदन गर्न खोजेको भनेको सकभर वैदेशिक रोजगारमा जान चाहने हाम्रा दाजुभाई/दिदिबहिनीहरुलाई मेरो विनम्र अनुरोध छ । सकिन्छ भने स्वदेशमा नै उद्यमी गरौ । उद्योग व्यवसाय सञ्चालन गरेर बसौं । विदेश जानै छ र वैदेशिक रोजगारको अनुभव लिनै छ भने सिप सिकेर जानुहोस् । 

जुन देशमा जाने हो त्यो देशको पुरा सूचना लिएर जानुहोस् । त्यहाँको भाषा, रहनसहन सबैकुरा बुझेर मात्र जानुहोस् । स्वदेश विदेश जहाँ भएपनि हातमा सिप भएपछि भोकै बस्नुपदैन । तुलनात्मक रुपमा सिप सिकेपछि विदेशमा धेरै लाभ हुन्छ । उक्त देशमा सामाजिक सुरक्षको ग्यारेन्टी छ की छैन । वैधानिक ढंगले काम गरुञ्जेल सामाजिक सुरक्षाको ग्यारेन्टी, त्यहाँको रोजगारदाता वा सरकारले व्यवस्था गरेको छ छैन । त्यो बुझ्न आवश्यक छ । सिप सूचना र सामाजिक सुरक्षाबाट आफू सुरक्षित भएर जाने हो भने वैदेशिक रोजगार सुरक्षित र लाभदायी हुन्छ । र, आफ्नो परिवारलाई राम्रो बनाउने उद्देश्य पुरा हुन्छ । 

तसर्थ अरुको लहैलहैमा लागेर, अरुको कुरा सुनेर वैदेशिक रोजगारीमा नजानुहोला । किनकी काठमाडौंबाट पोखरा जानका लागि त हामी योजना बनाएर जान्छौ भने अर्काको देशमा जानका लागि यत्तिकै नजानुहोला । वैदेशिक रोजगारीका लागि श्रम स्विकृति लिएर जाने श्रमिकहरुका लागि सरकार सधै साथमा रहन्छ । वैदेशिक रोजगार बोर्ड छ विदेशमा आपत विपत र समस्या पर्दा सदैव सरकार र वैदेशिक रोजगार बोर्डको साथ पाउनेछन् ।