शीर्षकहरू

गाई फार्मको ‘हब’ बन्यो बाहुनडाँगी

गाई फार्मको ‘हब’ बन्यो बाहुनडाँगी

झापा । झापा मेचीनगर नगरपालिका–४ बाहुनडाँगी गाईफार्मको ‘हब’ बनेको छ । यहाँ साना र ठूला गरी हाल २४ व्यावसायिक गाईफार्म सञ्चालनमा छन् । यहाँ सञ्चालित गाईफार्मबाट दैनिक रु सात लाखभन्दा बढीको दूध बिक्री भइरहेको निरौला कृषि तथा पशु फार्मका सञ्चालक केदार निरौलाको भनाइ छ । 

उनले यहाँका गाईफार्ममा न्यूनतम ३० देखि अधिकतम दुईसय वटासम्म उन्नतजातका गाईपालन भइरहेको बताए । बाहुनडाँगीका अधिकांश किसानले भारतको बैग्लोर तथा केरलाबाट उन्नत जातका गाई ल्याउने गरेका छन् । यहाँका किसानले होलस्टेन, साइबल र जर्सी जातका गाईपालन गर्दै आएको उनको भनाइ छ । जसमध्ये साइबल जातको गाईले तुलनात्मक रुपमा धेरै दूध दिने किसानको अनुभव छ ।

“साइबलले एक पटकमा करिब २० लिटरसम्म दूध दिन्छ, गाई हेर्दा पनि राम्रो र दूध पनि बढी दिने भएकाले किसानका लागि आकर्षणको गाई बनेको छ”, उनले भने । उनले १० महिनाअघि मात्र बैग्लोरबाट रु दुई लाख ३५ हजारका दरले १४ वटा साइबल जातका गाई खरिद गरेर ल्याइएको बताए । जसमध्ये तीन वटा उहाँकै फार्ममै छन् ।

उनले मात्रै दैनिक छ सय लिटर दूध बिक्री गर्ने छन । प्रतिलिटर रु ७७ का दरले दैनिक रु ४५ हजारभन्दा बढीको कारोबार गर्ने गर्छन। विगत ३५ वर्षदेखि बाहुनडाँगीमै सुपारी खेती गर्दै आएका निरौलाले छ वर्षयता गाईफार्म सुरु गरेका हुन । 

लामो समयदेखि हात्तीको आक्रमणबाट पीडित बनेका बाहुनडाँगीवासी गाईपालनबाट सन्तुष्ट छन् । “बाली लगायो जङ्गली हात्तीको आक्रमणका कारण थन्क्याउनै पाइँदैन थियो”, उनले भने, “गाईपालनले आम्दानी पनि दिएको छ भने काम गर्न सहज पनि भएको छ ।” उनले गाईको आहाराका लागि बारीमै जौ, नेपियरलगायत जातका घाँस खेती गर्दै आएको बताउनुभयो ।

प्रदेश सरकारले जिल्ला पशु सेवा कार्यालयमार्फत दूधमा अनुदान समेत दिँदै आएको छ । उनका अनुसार प्रतिलिटर रु दुईको दरले दिइने अनुदानले किसानलाई प्रोत्साहन मिलेको बताए ।