शीर्षकहरू

संसद्मा रविको प्रश्न - यस्तो हावादारी बजेट बनाउन विद्वान अर्थमन्त्री किन चाहियो ?

संसद्मा रविको प्रश्न - यस्तो हावादारी बजेट बनाउन विद्वान अर्थमन्त्री किन चाहियो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बजेटमा राजश्व वृद्धि होलसेलमा हुने अनुमान गरिएको भन्दै झारा टार्ने काम मात्र भएको आरोप लगाएका छन् । उनले राजश्वका सबै क्षेत्रमा एउटै दरले राजश्व वृद्धि हुन्छ भन्ने अनुमानको आधार के हो भन्दै अर्थमन्त्रीलाई प्रश्न समेत सोधेका छन् ।

लामिछानेले भने, "सबैमा २४ दशमलव ३७ प्रतिशत नै वृद्धि हुन्छ भन्ने अनुमानको आधार के हो, अर्थमन्त्री ज्यू ?" बजेट बनाउँदा चालु आर्थिक वर्षको तथ्याङ्कमा एकैचोटी २४.३७ प्रतिशत वृद्धि गर्दै एक्सल सिट अपडेट मात्र गरिएको उनले बताए ।

उनले अगाडी प्रश्न गरे, 'यस्तो हचुवाको भरमा बजेट ल्याउन विद्वान अर्थमन्त्री किन चाहियो ? राजश्वका नब्बे शीर्षक मध्ये ६८ वटाको वृद्धिदर उही आधारमा हुन्छ भन्ने कसरी पत्याउने ?'

संसद्मा भैँसी र राँगाको विषयमा बहस गरेर पाँच वर्ष गुजार्ने काम गर्दा गोबर बाहेक अरू केही प्राप्त नहुने बताएका छन् । उनले यस विषयमा सत्ता पक्ष र प्रतिपक्ष वादविवादमा लाग्दा आफ्नो पार्टी पनि सहभागी बनेकोमा लज्जित भएको भन्दै आत्मालोचना समेत गरेका छन् । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बजेटमाथिको आफ्ना धारणा राख्दै उनले सदन कुनै समाचारको हेडलाइनमा उचालिने ठाउँ नभएको बताएका छन्।

उनले भने, 'यो सदनमा हुने बहस अत्यन्त महत्त्वपूर्ण बनोस्, यहाँ हुने सरसल्लाह महत्त्वपूर्ण बनुन् भन्ने ध्यानाकर्षण गराउन चाहन्छु। सञ्चारमाध्यममा आएका विषयलाई नै लिएर कहिलेकाहीँ सदन अवरुद्ध पनि गर्दा रहेर्छौं। होहल्ला गर्दा रहेछौँ, त्यसको तथ्य जाँच गर्नु पनि महत्त्वपूर्ण हुने रहेछ। त्यसैले मैले निर्ममतापूर्वक आफैँलाई पनि भनेको हुँ ।’

उनले कैयन् व्यापारी व्यवसायीहरूले केही सञ्चारमाध्यमलाई लगानी या विज्ञापनको माध्यमबाट प्रभाव पारेको बताउँदै आफ्नो छवि बिगारिदिने भयले सांसदहरूले सत्य भन्न डराउने गरेको बताए। ‘त्यो सत्य हो, बोल्न धेरै किन डराउनुहुन्छ भने ती सञ्चारमाध्यमहरूले गलत लेख्दिँदा आफ्नो छवि बिग्रन्छ भन्ने डरले कैयन् माननीयहरूले बोल्नुहुन्न। तर, त्यसो भन्न मिल्दैन। 

त्यसैमा आएको समाचारले संसद्मा हङ्गामा मच्चाइरहँदा समाचारलाई प्रभावित पार्न खोज्ने कुनै व्यापारीले कति रमाइलो मान्दो हो। यो सदन कुनै हेडलाइनमा उचालिने ठाउँ होइन। त्यसको वास्तविकता जाँच गर्नुपर्छ,’ उनले भने।