शीर्षकहरू

भन्सार छली गरेर सामान ल्याउँदै गरेको ट्रक पक्रियो पर्सा प्रहरीले

भन्सार छली गरेर सामान ल्याउँदै गरेको ट्रक पक्रियो पर्सा प्रहरीले

काठमाडौं । बिल बिजक बिनाको औषधि तथा खुद्रा सामान बोकेको ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक गिरीका अनुसार जेठ २३ गते राती सो ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

पर्सा प्रहरीले जनाए अनुसार वीरगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेको मालवाहक ट्रकमा बिल बिजक भन्दाबढी सामान रहेको भन्ने प्राप्त सूचनाका आधारमा जाँच गर्दा कैफियत भेटेपछि ना ७ ख ५८५२ नम्बरको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

सो ट्रकमा २ करोड ५५ लाख ३२ हजार रुपैयाँ बराबरको ट्रक, औषधि र खुद्रा माल सामानलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ । शंस्कास्पद बिल बिजक र माल वस्तुहरु राजस्व अनुसन्धान कार्यालय पतलैयामा बुझाइएको प्रहरीले उल्लेख गरेको छ ।

त्यसैगरी, जेठ २४ गते बुधबार वीरगञ्ज महानगरको सिमावर्ती क्षेत्रबाट अन्दाजी एक लाख ४० हजार ५२५ रुपैयाँ बराबरको खाद्यान्न तथा विभिन्न प्रकारका लत्ताकपडाहरु बेवारिसे अवस्थामा फेला परेको समेत पर्सा प्रहरीले जानकारी दिएको छ ।