शीर्षकहरू

इमान्दार भएर काम गर्दा प्रश्न माथि प्रश्न उठ्ने रहेछ, मैलै पारदर्शी ढंगबाट काम गरेकाे छु:  अर्थमन्त्री

इमान्दार भएर काम गर्दा प्रश्न माथि प्रश्न उठ्ने रहेछ, मैलै पारदर्शी ढंगबाट काम गरेकाे छु:  अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले इमान्दार भएर काम गर्दा प्रश्न माथि प्रश्न उठ्ने गरेको बताएका छन् । मंगलबार प्रतिनीधिसभाको बैठकमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशका बारेमा प्रतिपक्षीले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

अर्थमन्त्री डा. महतले भने, ‘इमान्दार भएर काम गर्दा कति कठिन हुँदो रहेछ । इमान्दार भएर काम गर्दा प्रश्न माथि प्रश्न उठ्ने रहेछ । मैलै पारदर्शी ढंगबाट कुनै पनि प्रभावबाट मुक्त भएर काम गरेको छु ।’

यसका साथै उनले कुनै पनि खाले प्रभावबाट मुक्त भएर काम गर्ने प्रतिवद्धताको साथ अर्थमन्त्रालयमा आएको बताए । उनले भने, ‘अर्थमन्त्री हुने दिनदेखि नै एउटा मनमा बाचा र प्रतिवद्धता गरेर कुनै पनि खाले प्रभावबाट मुक्त भएर काम गर्छु भन्ने प्रतिवद्धताका साथ म त्यो अफिसमा बसेको हु ।’ 

बजेट निर्माण गर्ने क्रममा पनि सबै प्रतिवद्धता पालना गरेको बताउँदै उनले यो पदमा रहेसम्म त्यो जिम्मेवारीलाई पूर्ण कर्तव्यनिष्ठताका साथ पुरा गर्ने बताए । ‘जहाँसम्म बजेट को राती १४ गते के भयो ? को अनाधिकृत व्यक्ति प्रवेश गर्यो किन गरियो भनेर एउटा पत्रिकामा आयो त्यसैलाई हावामा लिएर माननीय ज्युहरुले पनि यहाँ प्रश्न उठाउनु भयो । त्यसको स्पष्किरण अर्थमन्त्रालयबाट पनि विज्ञप्तीको रुपमा प्रस्तुत भएको छ’, उनले भने ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणमा बजेट तर्जुमा दिग्दर्शनमा उल्लेखित पदाधिकारी मात्रै बसेर करका दर निर्धारण गरिएको प्रस्ट पारेका छन् । प्रतिनिधिसभाको म‌गलबारको बैठकमा सदस्यहरुले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताबारे उठाएको जिज्ञासामा उनले आधिकारिक व्यक्ति मात्रै बसेर करका दरलाई वैज्ञानिक बनाइएको बताए ।

उनले गोप्य कोठामा आधिकारिक व्यक्तिमात्र बसेर करका दर बढाउने, घटाउने र हेरफेर गर्ने निर्णय गरिएको बताए । “करका दरसम्बन्धी निर्णय हामीले स्वतन्त्रपूर्वक गरेका छौँ, आन्तरिक अध्ययन, सरोकारवालाका सुझाव तथा राजस्व परामर्श समितिको सिफारिसका आधारमा हामीले निर्णय गरेका हाै‌”, उनले भने । 

बजेट निर्माणमा आवश्यक सहयोगीका सम्बन्धमा आफू मन्त्रालयमा आउनुभन्दा नै अगाडि निर्णय भइसकेको उनले प्रस्ट्याए । “म आउनुअगाडि नै रामकृष्ण श्रेष्ठले नियुक्त पाइसकेको रहेछ । ३०औँ वर्षदेखि यही काम गर्दै आएको अनुभवी, दक्ष र इमान्दार भएर उहाँलाई ल्याइएको रहेछ”, उनले भने, “निर्णय प्रक्रियामा उहाँको संलग्नता छैन, निर्णय भइसकेको कुरा ‘इन्ट्री’ गर्ने उहाँको जिम्मेवारी हो । बजेटमा जे आएको त्यसको स्वामित्व हामीले लिएका छौँ, कुनै बाह्य व्यक्तिको संलग्नता नभएको विश्वास दिलाउँछु ।”

गोप्यरुपमा, छोटो समयमा काम गर्नुपर्ने र टाइप गर्नका लागि आवश्यक सहयोगी चाहिने उनको भनाइ छ । “निर्णय गर्ने ठाउँमा उहाँ हुनुहुन्न । निर्णय प्रक्रियामा बसेको पदाधिकारीको उपस्थितिमा ‘यो यो इन्ट्री गर’ भन्ने निर्देशनमा श्रेष्ठले लेख्नुभएको हो”, अर्थमन्त्रीले भने । उनले नियोजित रुपमा लगाइएको आरोपका आधारमा अविश्वास गर्न नहुने बताए । 

सहयोगीको आफूसँग कुनै कुनै चिनजान नरहेको पनि उनले जानकारी गराए । “आधिकारिक व्यक्तिले आधिकारिक निर्णय भएको करको दर, संशोधनलगायतलाई इन्ट्री गर्नका लागि उहाँले वर्षौंदेखि लगातार काम गर्दै आउनुभएको छ । सोही प्रयोजनका लागि मअघिको मन्त्रीले श्रेष्ठलाई नियुक्त गर्नुभएको होला”, अर्थमन्त्री डा महतले भने, “उहाँले आधिकारिक रुपमा सहयोगीको भूमिका निर्वाह गर्नुभयो । गोप्य निर्णय गर्ने ठाउँमा उहाँ कहीँकतै संलग्न हुनुहन्न ।” उनले बिचौलियालाई त आफूले छेउछाउमा आउन पनि नदिएको बताए । 

विद्युतीय सवारीलाई प्रोत्साहन गर्न यसअघि कम भन्सार दर राखिएको उल्लेख गर्दै उनले विद्युतीय सवारीमा लाग्ने करलाई समयानुकूल बनाउनुपर्ने भएकाले करका दर पुनरावलोकन गरिएको बताए ।

“विद्युतीय सवारीको बिक्रीमा ठूलो मार्जिन छ, जुन उपभोक्तामा सरिरहेको छ, हामीले छुट दिए पनि ग्राहकले नपाउने अवस्था विद्यमान छ । त्यसलाई हेर्नुपर्ने अवस्था छ । यसमा ‘इफ र बट’ छैन”, अर्थमन्त्रीले भने, “पुनः समायोजन गरिएको हो, पेट्रोलियम सवारीमा लगाइएको करभन्दा धेरै गुणा कम छ ।”

सोमबार प्रतिनिधिसभाको बैठकमा बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशलाई लिएर प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित विपक्षी दलहरुले अर्थमन्त्री महतको जवाफ माग गरेका थिए ।