शीर्षकहरू

प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गर्ने कर्णाली प्रदेशको नीति

प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गर्ने कर्णाली प्रदेशको नीति

काठमाडौंं । कर्णाली प्रदेश सरकारले प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित तथा नियन्त्रण गर्दै वातावरणमैत्री विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले नीति कार्यक्रममा प्रदेशमा वातावरणमैत्री विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । त्यसका लागि प्रादेशिक वातावरण मापदण्ड र सूचकहरू निर्माण गरी कार्यान्वयन गर्ने नीति लिइएको छ ।

सडक निर्माण गर्दा लागत अनुमानमा नै सडक आसपास वृक्षरोपण गर्नुपर्ने बायोइन्जिनियरिङ प्रणाली तथा प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कनमा उल्लेख भएका सुझावहरू अनिवार्य पालना गर्ने व्यवस्था मिलाइने पनि उल्लेख गरिएको छ ।

वनपैदावार, विशेष घाँसजन्य वनस्पति र खेर जाने काठ दाउरालाई प्रशोधित गरी बनाइने जिरो कार्बन बनाउन सहयोग गर्ने गरी कार्यक्रम सञ्चालन गरिने बताइएको छ । ‘दिगो वन व्यवस्थापन स् स्वच्छ र समृद्ध जीवनयापन’ भन्ने सोचअनुरुप वन क्षेत्रको दिगो वृद्धि गरी सहज र सरल आपूर्ति एवं वन क्षेत्रबाट हुने राजस्व सङ्कलनमा वृद्धि गरिने लक्ष्य राखिएको छ । प्रदेश सरकारले हरित रोजगारी सिर्जना गर्ने नीति लिएको जनाएको छ । जलवायु परिवर्तनले विश्वव्यापी पुर्याएको असर न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने पनि उल्लेख छ ।

यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले भावी पुस्तालाई असर नहुने गरी प्रकृतिको प्रयोग हुनुपर्ने बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले प्लास्टिकको प्रयोगलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री शर्माले प्लास्टिकजन्य प्रयोगलाई निरुत्साहित गर्दै लैजाने प्रदेश सरकारको लक्ष्य रहेको जानकारी दिँदै मानवीय जीवनको सुख र दिगोपनाका लागि प्रकृतिको दोहोन नभई उपयोग गर्नुपर्ने तर्क गरे ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीले पछिल्लो समय मानिसको गलत क्रियाकलापका कारण जलवायु परिवर्तन नकारात्मक प्रभाव परेको बताए ।  जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरणमा ध्यान हुनुपर्नेमा जोड दिँदै उनले वातावरण प्रदूषण रोक्न प्लास्टिकको विकल्प खोज्नुपर्ने बताए ।

दिवसका अवसरमा मन्त्रालयको आयोजनामा वीरेन्द्रनगरमा वृक्षरोपण गरिएको छ भने अन्तरविद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका योजना शाखाप्रमुख इन्दिरा न्यौपानेले जानकारी दिए । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल गरौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइएको छ ।