शीर्षकहरू

मर्जर प्रस्ताव पारितका लागि नेशनल माइक्रोफाइनान्सले बोलायो साधारण सभा

मर्जर प्रस्ताव पारितका लागि नेशनल माइक्रोफाइनान्सले बोलायो साधारण सभा

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३ गते विशेष साधारण सभा बोलाएको छ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको मर्जर प्रस्ताव पारितका लागि कम्पनीले विशेष साधारण सभा बोलाएको हो । 

समीट लघुवित्तले समेत मर्जरसहित अन्य विविध प्रस्ताव पारितका लागि असार ३ गतेनै वार्षिक साधारण सभा बोलाएको छ । नेशनल माइक्रोफाइनान्सले सभामार्फत मर्जरपछि कम्पनीको अधिकृृत पूँजी रू. १ अर्ब ५० करोड र जारी पूँजी रू. १ अर्ब ८ करोड ४२ लाख ६ हजार हुने गरी प्रबन्धपत्र संशोधन गर्नेछ । 

नेशनल माइक्रोफाइनानसको १ कित्ता शेयर बराबर समीट लघुवित्तको शून्य दशमलव ७३ कित्ता शेयर हुने गरी शेयर आदानप्रदान गर्ने सहमति दुई कम्पनीबीच भएको छ । मर्जरपछि नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार हुने जानकारी कम्पनीले दिएको छ ।

नेशनल माइक्रोफाइनान्सले मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ । सभा प्रयोजनका लागि नेशनल माइक्रोफाइनान्सले जेठ २५ गतेदेखि असार ३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 

समीट लघुवित्तले भने आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लाभांश प्रस्तावलाई समेत अन्तिम रुप दिने कार्यक्रम रहेको छ । समीट लघुवित्तले भने मर्जर प्रस्तावसँगै १३ दशमलव ५६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । 

यस वर्षको बोनस शेयरपछि कायम हुने समीट लघुवित्तको शेयरपूँजीको संस्थापक र सर्वसाधारणको शेयर पूँजीको अनुपात मिलान गर्दा अपुग हुने सर्वसाधारण तर्फको ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ निष्कासन गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको यस कम्पनीले मर्जरपछि कायम हुने शेयर स्वामित्वमा सर्वसाधारण समूहको शेयर स्वामित्व अनुपात न्यूनतम ३० प्रतिशतभन्दा कम हुने हुँदा कम्पनीले एफपीओ जारी गर्ने भएको हो ।

समीट लघुवित्तले साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ २१ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।